रविको पक्षमा पूर्व प्रधानमन्त्री भट्टराईले गरे हस्ताक्षर

काठमाडौं । नेसपा (नयाँ शक्ति) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा शनिबार आयोजित हस्ताक्षर अभियानका क्रममा पुगेर हस्ताक्षर गर्दै उनले ऐक्यबद्धता जनाएका हुन् । रास्वपाले गत असार ७ गतेबाट लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । रास्वपा सहकोषाध्यक्ष दिपक बोहोराले डा. भट्टराईले शनिबार पार्टी कार्यालय पुगेर हस्ताक्षर अभियानमा साथ दिएको जानकारी गराएका छन् ।
यसअघि गत २१ मंसिरमा पनि भट्टराईले हिरासत पुगेर लामिछानेलाई भेटेका थिए । त्यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेलाई भेट गरेपछि उनले राज्यबाट एकपछि अर्को ढंगमा रविमाथि दुःख दिने काम भइरहेको बताएका थिए । उनले राज्यबाट अस्वभाविक र अन्यायपूर्ण काम भएको भन्दै रास्वपाको आन्दोलनमा ऐक्यबद्धता पनि जनाएका थिए ।