मृत्त भेटिएकी १६ दिनकी सुत्केरीको देवरबाटै हत्या

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रवार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको आफ्नै देवरले हत्या गरेको खुलेको छ।
विगतदेखिको सामान्य विवाद र सुनका गहनाका कारण आफूले भाउजूको हत्या गरेको पक्राउ परेका नवीन नाथले प्रहरीलाई बयान दिएका छन्। ‘भाउजू सुतेका बेला सिरानीले मुख च्यापेर हत्या गरे, उहाँले कानमा लगाएको गहना निकाले र शव बाहिर लगेर नालीमा फालिदिए’ प्रहरीसमक्ष उनले बयान दिएका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रणबहादुर चन्दले पनि सहोदर देवरले
तुलसी नाथको हत्या गरेको अनुसन्धानबाट खुलेको जानकारी दिएका छन्। ‘शवको पोस्टमार्टम हुन बाकी छ । तर, घटनाको प्रकृति र पक्राउ परेका युवकको बयानका आधारमा उनैले हत्या गरेको प्रारम्भिक ठहर छ ’ उनले भने ।
नवीनले सुनका गहनाका लागि आफूले हत्या गरेको स्वीकारेका छन्। भाउजूको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको भन्दै आफ्नो बुवालाई दिएको सूचनाको आधारमा प्रहरीले घटनामा उनको संलग्नता भएको पुष्टि गरेको थियो। तुलसी नाथले शिशुलाई जन्म दिएकाले घरमा खुशीको माहौल थियो । तर शुक्रवार घर नजिकै १६ दिने सुत्केरीको मृत्यु भएको र शिशु सकुशल रहेको खबर एकाएक फैलियो । इलाका प्रहरी कार्यालय मसुरियाले पनि मालाखेतीलाई सोही जानकारी गरायो।
मालाखेतीबाट प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रणबहादुर चन्द घटनास्थल तर्फ लागे । शवमा कुनै घाउ चोट नदेखिएपछि विष सेवनबाट वा सर्पको टोकाइबाट मृत्यु भएको आंकलन गरियो। तर, प्रहरी प्रमुखलाई भने घटना सुरुबाटै शङ्कास्पद लागिरहेको थियो। मृततकको घरमा उनका देवर, देउरानी र एउटा ९ कक्षमा पढ्ने नन्द थिइन्।घटना भएको रातमा पनि सुत्केरी भाउजूलाई आफूले खाना पकाएर खुवाएको बयान दिएका देवरबाटै घटना भएको पुष्टि गर्न प्रहरीले एक दिन कुर्नु पर्यो।
मृतकले केही दिन अघिसम्म लगाइरहेका कानका सुनका रिङहरू शवमा नदेखिएपछि घटना थप शङ्कास्पद बन्यो। ‘आठ ओटा रिङहरू कानमा थिएनन् त्यसपछि घटना त्यसैको लागि हो भन्ने बुझ्न सकस भएन ’ प्रहरी नायव उपरीक्षक चन्दले भने ‘घटनामा संलग्न देवर नै हुन् भन्ने पुष्टि हुन अझै केही समय अनुसन्धान जारी रह्यो। ’
नवीन नाथले सुरुमा प्रहरीलाई दिएको बयान र पछि अनुसन्धान अघि बढ्दै जान भन्न थालेको विषय केही फरक पर्न थालेपछि उनी शङ्काको घेरामा परेका थिए। शनिवार मृतकका सासू ससुरा तथा पक्राउ परेका युवकका बुवा आमा आएपछि घटनाको तथ्य पत्ता लगाउन प्रहरीले उनीहरूको पनि मद्दत मागेको थियो। ‘देवरबाटै घटना भएको करिब ठहर हुँदा पनि प्रमाण नपाउँदासम्म केही भन्न सकिने अवस्था थिएन बुवा आमालाई उनले सुनका रिङहरू लुकाएको ठाउँ भनेपछि उनको पुष्टि भएको ठहर भयो ’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने।
बुवा आमालाई त्यस विषयमा छोरालाई सोध्न पनि प्रहरीले आग्रह गरेको थियो। सुनका गहना भेटेपछि प्रहरीलाई उनले आफूले घटना घटाएको बयान दिएका थिए। ‘सुरुबाटै मलाई हेप्ने गरेको हुँदा रिस उठेको थियो। त्यही रिसमा मैले सिरानीले मुख थुनेर मारेको हुँ ’ अन्तिममा शनिवार उनले प्रहरीलाई आफै भने। करिब २ वर्षपछि नवीनको दाजुसँग तुलसी नाथको विवाह भएको थियो । विवाह पहिले अभिभावक जस्तै रहेकी उनी दाजुसँग विवाह भएपछि भाउजू भएकी थिइन्।