एमालेको राजनीतिमा पुनः जोडिएको विद्यादेवी भण्डारीको घोषणा (सम्वोधनको पूर्णपाठ)

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा पुनः जोडिएको घोषणा गरेकी छन् । आज (शनिबार) मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको समारोहमा सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो घोषणा गरेकी छन् । उनले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन ।’
उनले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य रहेको बताएकी छन् । उनले भनिन्, ‘जननेताले भन्ने गर्नु हुन्थ्यो–जनता भनेका भगवान हुन् । उहाँले भन्नु भएको थियो–राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । यवहारका कसीबाट खारिएका यी भनाईलाई आदर्श मानेर म समर्पित बनिरहनेछु ।’
राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका बुझाएका छन् र थप परिपक्व समेत बनाएको बताएकी छन् । पूर्व राष्ट्रपति भण्डारीले थपिन्, ‘मलाई जस्तै विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ । सदा झैं सबैको सधैँभरि माया र विश्वास पाइरहुँ ।’
जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी नै रहेको उनले बताइन् । उनले भनिन्, ‘यस्तो महत्वपूर्ण दायित्व पूरा गर्न नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा विकसित नेकपा एमाले सक्षम हुनेछ र निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी यसलाई अक्षुण्ण राख्दै नेपाललाई विश्वसामु एक समुन्नत राष्ट्रको रूपमा चिनाउन एमालेलाई सफलता मिल्नेछ भन्ने दृढ विश्वास समेत लिएको छु ।
भण्डारीको सम्वोधनको पूर्णपाठ