स्रोत-साधन अभावले साइबर अपराध नियन्त्रण प्रभावकारी हुन सकेन : गृहसचिव श्रेष्ठ
काठमाडौं । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले आवश्यक जनशक्ति, आधुनिक प्रविधि तथा स्रोत–साधनको अभावका कारण साइबर अपराधको अनुसन्धान र नियन्त्रण प्रभावकारी हुन नसकेको बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा सोमबार आयोजित साइबर सुरक्षासम्बन्धी छलफलमा बोल्दै उनले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना हरेक वर्ष वृद्धि भइरहेको बताए।
श्रेष्ठले अनुसन्धान गर्ने निकायसँग पर्याप्त जनशक्ति र प्रविधि नहुँदा नागरिकलाई समयमै गुणस्तरीय सेवा दिन नसकिएको स्वीकार गरे। उनले साइबर अपराधसम्बन्धी उजुरीको अनुसन्धान प्राविधिक प्रक्रिया र कानुनी व्यवस्थाका कारण अपेक्षाभन्दा बढी समय लाग्ने बताए।
उनका अनुसार साइबर अपराध नियन्त्रणका लागि कानुन निर्माण र नियमन मात्र पर्याप्त हुँदैन। संघ, प्रदेश र स्थानीय तहका सरकारी निकाय, शैक्षिक संस्था, सामाजिक संघ–संस्था तथा नागरिक सबैको साझा जिम्मेवारी र सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।
गृहसचिव श्रेष्ठले साइबर अपराध न्यूनीकरणका लागि कानुन कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि अझ प्रभावकारी उपाय हुने धारणा राखे। सामाजिक सञ्जाल प्रयोग गर्दा अधिकारसँगै जिम्मेवारी र कर्तव्यबारे पर्याप्त सचेतना नहुँदा साइबर अपराधका घटना बढिरहेको उनको भनाइ थियो।
उनले साइबर अपराधबाट प्रभावित व्यक्तिले छिटो सेवा नपाएको गुनासो बढ्दै गएको स्वीकार गर्दै अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति, प्रविधि र स्रोत–साधनको व्यवस्थापनमा जोड दिए।
.gif)

.png)

