‘भावी आईजीपी’ ठाडामगरले पाए दर्ज्यानी चिह्न
सशस्त्रमा सधैं उत्कृष्ट

काठमाडौं : सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका गणेशबहादुर ठाडामगरले दर्ज्यानी चिह्न पाएका छन् ।
बुधबार बिहान हलचोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।
जेठ १५ गते बसेको बढुवा समितिको बैठकले ठाडा मगरलाई एआइजीमा बढुवा सिफारिस गरेको थियो । उक्त सिफारिसको आधारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआइजी बनाउने निर्णय गरेको हो ।
एआइजी चन्द्रप्रकाश गौतम ३० वर्षे सेवा अवधिका कारण वैशाख २ गते नै अवकाशमा गएका थिए। उनको अवकाशपछि एआइजीको पद रिक्त थियो।
बढुवाको लागि उनीसँगै डीआईजीहरू कमल गिरी, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी दाबेदार थिए । सरकारले गएको पुस २२ गते उनीहरू चारैजनाको पदावधि एक वर्ष थप गरेको थियो। पुस २३ गते डीआईजीको चार वर्षे पदावधि सकिएर अवकाश हुन लागे पनि सशस्त्र प्रहरी नियमावलीको नियम ६५ अनुसार एक वर्ष पदावधि थप गर्न सक्ने व्यवस्था छ ।
अब योसँगै ठाडा मगरलाई अब ३ वर्षपछि सशस्त्र प्रहरीको महानिरीक्षक बन्ने बाटो समेत खुलेको छ । सशस्त्र प्रहरी नियमावलीअनुसार आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर राजु अर्याल २०८३ वैशाख ४ गते अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले रहेका नारायणदत्त पौडेल, वंशी दाहालमध्येबाट एकजना आईजी बन्नेछन् । यी दुईमध्ये जो आईजीपी बने पनि २२ महिना सशस्त्र प्रहरीको नेतृत्व गर्नेछन् ।
१८ चैत २०५४ मा प्रहरी इन्सपेक्टरमा भना भएका उनीहरू ३० वर्षे सेवा अवधिका कारण २०८४ चैत १७ अनिवार्य अवकाशमा जानेछन् । उनीहरु दुवै जना अर्यालसँगै २०५४ सालमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर पछि एक तह बढुवा हुँदै सशस्त्र प्रहरीमा गएका थिए । त्यसपछिको ठाडा मगरको आईजीपीमा करिब निश्चित जस्तै छ ।
सधैं उत्कृष्ट
ठाडा मगर सशस्त्र प्रहरीमा उत्कृष्ट प्रहरी अधिकृत मानिन्छन् । डीआईजी भएपछि उनले हालसम्म दुई वटा बाहिनीको कमान्ड गरेका थिए । दुबै बाहिनीलाई उनले उत्कृष्ट बनाएका थिए । ठाडामगरले २०७८ सालमा समेत नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीलाई उत्कृष्ट बाहिनी बनाएका थिए ।
यसैगरी २०८१ मा सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढीमाई बाहिनीलाई पनि उत्कृष्ट बाहिनी अवार्ड दिलाएका थिए । सशस्त्रको ८ वटा बाहिनी कार्यालय रहेकोमा अन्य सात वटालाई पछि पार्दै ठाडामगरले नेपाल नं. ३ गढीमाई बाहिनीलाई २०८१ सालको उत्कृष्ट बाहिनी बनाएका थिए । उनले त्यसअघि उनले दाङ, प्युठान, नुवाकोट र स्याङ्जाको उत्कृष्ट कमाण्ड गरेका थिए ।