वीपीसहित देशका मुख्य ६ राजमार्ग अवरुद्ध

काठमाडौँ । लगातारको बर्षाका कारण काठमाडौंलाई पूर्वी जिल्लासँग जोड्ने छोटो दूूरीको वीपीसहित देशभरका मुख्य ६ राजमार्ग अवरुद्ध भएका छन् भने तीन राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण बागमती प्रदेशस्थित सिन्धुपाल्चोककको भोटेकोशी गाउँपालिका–२ कोदारी, भोटेकाशी गाउँपालिका–३ लार्चा, भोटेकोशी गाउँपालिका–२ कोप्लाडमा पर्ने अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
यसैगरी, कर्णाली प्रदेशस्थित डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका १ छलघाटको भेरी करिडोर र सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं ५ गोकुलेश्वर खलङ्गा राजमार्ग अवरुद्ध भएको छ। असोज दोस्रो साताको बाढी र पहिरोले क्षत–विक्षत बनेको वीपी राजमार्गमा बुधबार करिब साढे तीन बजेबाट सुरू भएको वर्षाका कारण अन्दाजी ५ बजेको समयमा काभ्रेको धुलिखेल नगरपालिका–११ पात्लेखेतमामाथिबाट आएको लेदोसहितको पहिरोका कारण दुईतर्फी सवारी आवागमन अवरूद्ध भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सुनिल धाजुले पहिरो पन्छाएर यातायात पुनः सुचारू गर्न प्रयास जारी रहेको जानकारी दिएका छन्। अहिले स्थानीय र ट्राफिक प्रहरीको सहायताले स्काभेटर मगाइएको र छिट्टै खुलाउने जानकारी अस्थाई प्रहरी पोस्ट काभ्रेभन्ज्याङले दिएको छ । वीपी राजमार्ग भएर यात्रा गर्ने यात्रुहरुलाई विशेष सावधानी अपनाउन पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा, काभ्रेले अनुरोध गरेको छ। यस अगावै वर्षाको समयमा सडक अवस्था बुझेर मात्र यात्रा गर्न अपिल समेत गरिसकेको छ। यस्तै, वर्षाका कारण अवरुद्ध भएका तीन मुख्य सडक एकतर्फी रूपमा सञ्चालन भएको छ। जुम्ला जिल्लाको जुम्ला–मुगु सडक, गुल्मी जिल्लाको कालिगण्डकी करिडोर र धनकुटा जिल्लाको रवि–राके– भेडेटार सडक एकतर्फी रूपमा सञ्चालन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।