‘टेक एन्ड पे’ विरुद्ध आन्दोलन गर्ने इप्पानको चेतावनी
जिम्मेवारी नलिने भए राजीनामा दिन ऊर्जामन्त्रीलाई सुझाव

काठमाडौं । नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाको विद्युत् खरिद सम्झौता ‘टेक एन्ड पे’ अर्थात् लिऊ र तिरमा मात्रै गर्ने भन्ने बजेटको व्यवस्था समयमै पुनरावलोकन नगरे जलविद्युत आयोजना नै बन्द गरेर आन्दोलन गर्ने चेतावनी ऊर्जा प्रवर्द्धकहरूले दिएका छन् ।
आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा ऊर्जा उत्पादकहरूको संस्था इप्पानले बजेटको व्यवस्था तत्कालै संशोधन गरी ‘टेक अर पे’ अर्थात् लिऊ वा तिरमा पीपीए गर्ने व्यवस्था गर्न आग्रह गरेको हो । टेक एन्ड पेमा मात्रै पीपीए गरे विद्युत् प्राधिकरणले हिउँदमा मात्रै सम्पूर्ण बिजुली खरिद गरी वर्षातमा खरिद नगर्ने जोखिम भएकाले यसमा तत्काल संशोधन गर्न माग गरेका छन् ।
टेक एन्ड पेमा मात्रै पीपीए गर्दा बैंकबाट ऋण पाउन नसकिने उनीहरूको भनाइ छ । बजेटमा आएको यस्तो व्यवस्थाप्रति ऊर्जामन्त्री दीपक खड्का र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुवैले अनभिज्ञता प्रकट गरेका छन् । ऊर्जा उद्यमीहरू भने सरकारले लिएको यस्तो व्यवस्थाको जिम्मा लिन सुझाएका छन् । जिम्मा नलिने भए मन्त्री पदबाट राजीनामा दिनुपर्ने उनीहरूको भनाइ छ ।
सो क्रममा ऊर्जामन्त्री खड्का बजेटमा ‘टेक एन्ड पे’ को व्यवस्था आफूहरुले नल्याएको भन्दै तर्किएका थिए । ऊर्जा प्रवद्र्धकहरुका अनुसार विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पनि आफूले ‘टेक एन्ड पे’ को सुझाव नदिएको बताएका छन् । बजेट लेख्ने अर्थमन्त्रीले समेत के कारणले बजेटमा यो व्यवस्था राखियो भन्ने स्पष्ट जवाफ दिएका छैनन् । सरकारले टेक अर पेमा विद्युत् खरिद नगरे निजी क्षेत्रले आफैं विद्युत् व्यापार गर्ने बाटो खुला गरिदिनुपर्ने माग पनि ऊर्जा उद्यमीले राखेका छन् । अहिले विद्युत् व्यापार विद्युत् प्राधिकरणले मात्र गर्दै आइरहेको छ।