बंगलादेशमा शेख हसिनाको पार्टीलाई प्रतिबन्ध

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले गत वर्षको जनविद्रोहमा अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिगका सबै गतिविधिमा प्रतिबन्ध लगाएको छ । सरकारका कानूनी सल्लाहकार आसिफ नजरुलले शनिबार राति यसबारे जानकारी गराएका हुन् ।
नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्ले आतंकवाद विरोधी ऐनअन्तर्गत पार्टीका अनलाइन र अन्य गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी दिए । गत जुलाई–अगस्टमा भएको सरकारविरोधी विद्रोहमा सयौँ विद्यार्थी र प्रदर्शनकारीको मृत्यु भएको थियो । सो प्रदर्शनलाई लिएर अवामी लिग र त्यसका नेतालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मुद्दा चलाउँदासम्म यो प्रतिबन्ध कायम रहने उल्लेख गरिएको छ ।
नजरुलले भने, ‘यो निर्णय राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, जुलाई आन्दोलनका कार्यकर्ता, र न्यायाधिकरणका वादी–साक्षीको सुरक्षाका लागि हो ।’ विशेष मन्त्रिपरिषद् बैठकपछि नजरुलले सञ्चारकर्मीसँग हसिनाविरोधी प्रदर्शनका हत्यामा संलग्न कुनै पनि दलमाथि मुद्दा चलाउन सकिने गरी कानून संशोधन गरिएको जानकारी दिएका छन् । उनका अनुसार सरकारी सूचना चाँडै विस्तृत रूपमा प्रकाशित हुनेछ।
हसिनालाई गत वर्ष अपदस्थ गरेपछि उनीसँगै उनको पार्टीका धेरै वरिष्ठ नेताहरूमाथि हत्याका कैयौँ मुद्दा लगाइएको छ। हसिना अगस्ट ५ देखि भारतमा निर्वासनमा छिन् । प्रदर्शनकारीले उनको निवासमा आक्रमण गरेपछि उनी भारतमा शरण लिन पुगेकी थिइन् । संयुक्त राष्ट्रसङ्घको फेब्रुअरी प्रतिवेदनले हसिनाविरोधी प्रदर्शनमा तीन हप्तामा एक हजार चार सय जनाको मृत्यु भएको अनुमान गरेको थियो ।
शनिबार रातिको निर्णय विद्यार्थीहरूको नवगठित राष्ट्रिय नागरिक पार्टी (एनसीपी) सहित हजारौँ प्रदर्शनकारीले ढाकामा अवामी लिगमाथि प्रतिबन्धको माग राख्दै अल्टिमेटम दिएपछि आएको हो । विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले हसिनाको १५ वर्षे शासन अन्त्य गरेको थियो । त्यसपछि युनुसले अन्तरिम नेतृत्व सम्हालेका हुन् । एजेन्सी