नरम कूटनीति र कडा कूटनीतिको उत्प्रेरक बडाकाजी अमरसिंह थापा


२०८२ बैशाख १२ शुक्रबार १३:३९ बजे

–शैलेन्द्रबहादुर थापा

सामान्यतयाः कूटनीतिज्ञहरुमार्फत व्यापार वाणिज्य, संस्कृति, युद्ध, शान्ति जस्ता मुद्दाहरुमा कुराकानी गर्ने एक व्यवस्थित प्रक्रियालाई कूटनीति भनिन्छ । कुनै पनि कार्य वा समस्यालाई नराम्रो शब्द वा व्यवहार प्रयोग (न) नगरी सम्पादन गर्ने तरीका कूटनीति हो । धर्म, संस्कृति, अध्यात्म, इतिहास, पुरातत्व, कला, साहित्य, अर्थ वाणिज्य जस्ता विषयगत क्षेत्रहरुसँग सम्बन्धित कूटनीति नरम कूटनीति हो । आधुनिक राष्ट्रहरुले लिएको आर्थिक कूटनीति एक नरम कूटनीतिक औजार हो । त्यसै गरी सैनिक शक्तिमार्फत गरिने आक्रमण, प्रत्याक्रमण, युद्ध, सौर्य, विजय जस्ता व्यवहारहरु एक कडा कूटनीतिक औजार हो । त्यसकारण नरम कूटनीतिक सीप र कडा कूटनीतिक सीप एक त्यस्तो तौरतरिकायुक्त सम्मिश्रण हो जसले आधुनिक नेपाल राष्ट्रको संरचना निर्माण गर्‍यो । त्यसकारण नेपाल र नेपाली रहेसम्म बडाकाजी अमरसिंह थापा ‘जीवित सिंह’ भएर बाँचिरहनु हुनेछ ।

बडाकाजी अमरसिंह थापाले आधुनिक नेपाल एकीकरणको सिलसिलामा नरम कूटनीतिक व्यवहार प्रस्तुत गर्नु भएको थियो भने नेपालमाथि अंग्रेज र भोट अन्तर्राष्ट्रिय, परराष्ट्रिय आक्रमणविरुद्ध नेतृत्व गर्नु भएको सैनिक प्रत्याक्रमण युद्ध कडा कूटनीतिक व्यवहार थियो । अब, यहाँनिर वहाँको कूटनीतिक रणचार्तुयको यसरी बुझ्न सकिन्छ : वहाँले नेपालविरुद्ध आक्रमण गर्ने विदेशी शक्तिहरुको प्रत्याक्रमण युद्धमा जहाँ जहाँ विजय हासिल गर्नुभयो त्यसपछि नेपालका विभिन्न स्थानहरुमा धार्मिक मठ मन्दिर, देवल, पाटीपौवा, गुठी आदिको निर्माण, स्थापना र व्यवस्थापन कार्य गर्दै हिँड्नु भयो । परिणामस्वरुप वहाँको त्यो नरम कूटनीतिक योगदान आज हामी नेपालीका लागि नेपाल राष्ट्रको महान धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक, आर्थिक नीति निर्माणको सैद्धान्तिक अवधारणा तय गरेको छ, जसले आजको दिगो विकास रणनीतिलाई ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक पुनर्बल प्रदान गरेको छ । 

बडाकाजी अमरसिंह थापाले आधुनिक नेपाल एकीकरणको सिलसिलामा नरम कूटनीतिक व्यवहार प्रस्तुत गर्नु भएको थियो भने नेपालमाथि अंग्रेज र भोट अन्तर्राष्ट्रिय, परराष्ट्रिय आक्रमणविरुद्ध नेतृत्व गर्नु भएको सैनिक प्रत्याक्रमण युद्ध कडा कूटनीतिक व्यवहार थियो ।

त्यसैगरी वर्तमान नेपालको भौगोलिक संरचना एकीकरणका बडामहाराजाधिराज पृथ्वीनारायण शाह, एकीकरणका बडाकाजी अमरसिंह थापा लगायतका सर्वोच्च युद्ध–कार्याध्यक्षहरुद्धारा सम्पादित कडा कूटनीतिक सीपको विजभण्डारका रुपमा ग्रहण गर्ने सौभाग्य प्राप्त छ । त्यसकारण बडाकाजीलाई नरम कूटनीति र कडा कूटनीतिको उत्प्रेरक मान्न सकिन्छ । सबैले बुझ्ने भाषामा भन्नुपर्दा अमरसिंह थापाले जहाँजहाँ प्रत्याक्रमण युद्ध जित्नु भयो त्यहाँ त्यहाँ वहाँ आफूले सकेको नेपाल र नेपालीको धर्म, संस्कृति, संस्कार, इतिहास, पुरातात्विक शक्तिको केन्द्र र विश्वास प्रणाली स्थापित गर्दै जानु भयो ।

बडाकाजीले १७८२ फेब्रुअरी ४ मा आफ्नो तत्कालीन शक्तिशाली पुख्र्यौली थलो गोरखा सिरानचोकलाई विजय गरिसक्नु भएपछि पश्चिमतर्फ प्रारम्भिक आधुनिक नेपालको एकीकरण कार्य पुनः अगाडि बढ्न सम्भव भएको थियो । त्यसै खुशीयालीको अवसरमा नेपालको धार्मिक आध्यात्मिक, सांस्कृतिक थिती बलियो बनाउन वि.सं. १८३९ मा जनकपुरमा नेपाली शैलीको ‘राममन्दिर’ बनाउन लगाउनु भयो । त्यहाँ रहेको शिलापत्र संस्कृत भाषामा लेखिएको छ जसमा सम्वत् १८३९ साल फाल्गुण कृष्णपक्ष द्वितीय बुधबारका दिन राजा रणबहादुर शाहका सेवक आत्रेय गोत्रका भीमसिंह थापाका छोरा सरदार अमरसिंह थापाले ‘सीता, राम, लक्षुमणको मन्दिर’ बनाए भनेर लेखिएको छ । वहाँले सो मन्दिरका नाममा गुठी सदावर्तको बन्दोबस्त गरी कसैबाट नखोसियोस् नमासियोस् भनेर राजा बक्साएर गुठी राख्न लगाउनु भएको थियो । 

वहाँ पश्चिममा एकीकरण अभियानमा व्यस्त रहँदा वि.सं. १८६४ मा राजा गीर्वाणयुद्ध विक्रम शाहलाई बक्साएर महोत्तरी जिल्लामा केही बिगाहा जग्गा गुठीका रुपमा राखी वहाँले वि.सं. १८६४ वैशाखमा राजाबाट यसको ताम्रपत्र गर्न लगाउनु भयो । यो ताम्रपत्र जनकपुर राम मन्दिरस्थित गुठी संस्थानको कार्यालयमा रहेको छ । तत्कालीन नेपालको सीमानाका मौजाहरु घटेर सर्लाहीतर्फ चुरेको डाँडानिर आइपुगेको थियो । तर सुगौली सन्धि भएलगत्तै कर्णेल उजीरसिंह थापा नेतृत्वको नेपाली सीमाङ्कन कार्य दलले बडाकाजी अमरसिंह थापाद्वारा निर्मित सीता रामचन्द्र लक्ष्मी मन्दिरको झिंगटीको छाना लगाइएको घर बस्तीलाई आधार मानी नेपालको भोगाधिकार निश्चित भई महोत्तरी जिल्लाको चुरेदेखि निकै दक्षिणतिर नेपालको सीमाना विस्तार गरेको थियो । यसलाई सिरानचोकमाथिको सैनिक विजय, जनकपुर राममन्दिर निर्माण र नेपालको सीमाना विस्तार व्यवस्थापन कार्यको त्रियोग मान्न सकिन्छ । 

बडाकाजी अमरसिंह थापाले पहिलो नेपाल–भोट युद्धअन्तर्गत केरुङमाथि आक्रमण गरी विजय गरेर काठमाडौं आई शक सम्वत् १७११ (वि.सं. १८४६) मा गुहृेश्वरीलाई प्रसन्न पार्न मन्दिरभित्र तामा भएको सनको मन्दिर चढाउनु भएको प्रमाण सुरक्षित छ । यसले बडाकाजीलाई नरम कूटनीतिक सीप र कडा कूटनीतिक सीपको उत्प्रेरक व्यक्तित्व बनाएको छ । यसले वहाँलाई एक हातमा युद्ध, अर्को हातमा शान्तिको द्यौतक बनाएको छ । अतः बडाकाजीले एक हातमा शत्रु राष्ट्र–राज्यमाथि प्रत्याक्रमण युद्ध र अर्को हातमा आफ्नो राज्य–राष्ट्रमाथि धर्म, संस्कृति र शान्तिको विजारोपण गर्नुले कडा र नरम कूटनीतिक सम्मिश्रणका उत्प्रेरक बडाकाजी हुनुहुन्छ । त्यसैगरी गुहृेश्वरी मन्दिरको मूल ढोकाको दायाँतर्फ सुनको मोलम्मा लगाएर एउटा मन्दिर बनाउन लगाउनु भएको थियो । यो मन्दिरलाई सिद्धेश्वर देवल वा सिद्धेश्वर महादेव भनिन्छ । यसरी गुहृेश्वरी मन्दिरमा प्रत्येक वर्ष चैत्र अष्टमी र महा–अष्टमीमा एक राँगो बडाकाजीकै नाममा संकल्प गरी बली चढाइन्छ । बडाकाजीले गुहृेश्वरी मन्दिरमा राख्न लगाउनु भएको ताम्रपत्रको संस्कृत अक्षरहरुको नेपाली अनुवाद यस प्रकार छ :

‘श्री नेपालदेशमा चन्द्रवंशका टीका जस्ता, थुप्रा शत्रुहरुलाई जितेका, अनेक राजाहरुका श्रीपेचका मणिले पाउदानी झलमल्ल भएका राजाहरुले ढोगिएका, विद्वानहरुले तारिफ गरिएका महाराजाधिराज श्री रणबहादुर शाह हुनुहुन्छ । जहाँ वहाँको प्रतिनिधि पदवी पाएका (राजप्रतिनिधि) श्रीबहादुर शाह हुनुहुन्छ । शक सम्वत् १७११ (वि.सं. १८४६), रौद्रसंवत्सर, फाल्गुन शुक्ल पञ्चमी शुक्रबार आश्विनीक्षर शुक्लयोग, कुम्भराशिमा सूर्य गएमा, सिंहराशिमा चन्द्रमा गएमा, मध्याहृन, द्वन्द्वलग्नमा, राजाका सेनापति (सरदार) क्षत्रीय धर्ममा दृढ भएका, असल आत्रेय गोत्रमा जन्मेका शूर भनी प्रख्यात रंजैसिंहका नाति, भीमसिंहका छोरा, कलियुगमा पनि बुद्धिमान भएका, जहान छोराहरुसहित भएका श्रीअमरसिंह थापाले गुहृेश्वरीलाई प्रसन्न पार्न भित्र तामा भएको सुनको मन्दिर चढाए। शुभ–होस् ।’

बडाकाजीले मन्दिरको पूजाआजा गर्न, जोगी–सन्यासीहरुलाई खुवाउन आदि कार्यका लागि वि.सं. १८४७ मा केही जग्गा नवलपुरको गिधा गाउँमा राख्नुभएको भद्रकाली गुठीमा रहेको पृष्ठ १३३ मा दर्ता भएको अभिलेख सुरक्षित छ । त्यो गुठीको अभिलेखमा ‘...नौलपुर मौजे...समेत कागज भयाको राम, सीताज्यूको पूजा आजका निमित्त सो गीधा (भेने) जग्गा विर्ता भयाको अमरसिंह नाउ १८४७ कात्र्तिक बदी २ मा लालमोहर भया...भन्ने तथ्य उल्लेख छ । यसरी अमरसिंह थापा पश्चिम विजय–अभियानमा संलग्न रहँदा वि.सं. १८४७ मा पाल्पाको केलादी घाटमा राम, सीता, लक्ष्मण, हनुमान र शिवको मूर्ति प्रतिस्थापन गरी निर्माण गराउनु भएको मन्दिर आज पनि छ । यस मन्दिरभित्र रहेको सीताको मूर्ति चोरी भइसकेकाले त्यो मूर्तिको खोजी गरी यथास्थानमा ल्याएर राख्नका लागि सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । बडाकाजीले स्थापना गर्नु भएको सक्कली मूर्तिको स्थानमा हाल अर्को मूर्ति राखिएको छ । बडाकाजीले वि.सं. १८६४ मा लमजुङको कुन्छामा एउटा पाटीपौवा र मानिक चौतारामा अर्को पाटीपौवा निर्माण गराई वि.सं. १८६७ जेठमा यी दुवै पाटीका लागि गुठी राख्न लगाउनु भएको थियो । गुठी जग्गाको लालमोहरमा यस्तो छ : ‘काजी अमरसिंह थापाले कुंछामा र मानिक चौतारामा बनायाको पाटीको गुठी राख्नाकन षेत घड्यारि पाषो बिर्ता गरिबक्स्यौ...’ भनेर उल्लेख छ ।

अमरसिंह थापाले वि.सं. १८६४ भाद्र महिनामा काठमाडौंस्थित ठमेल टोलमा श्री नारायण तथा महादेवको स्थापना गरी त्यहाँको विधिपूर्वक पूजाका लागि ६ मुरी सिङ्गो सरुवा चामलको खानगीको व्यवस्था मिलाई स्थायी पुजारीको बन्दोबस्त मिलाउनु भएको थियो । यसको पत्रको व्यहोरा यो पंक्तिकारले लेखेको ‘एकीकरणका बडाकाजी भाग–२’ (वि.सं. २०७८) को पृष्ठ १३३ मा उल्लेख गरिएको छ । अमरसिंह थापाको नाममा त्रिदेवी मन्दिरमा चैत्र अष्टमीमा ३ बोका, महानवमीमा ३ बोका र ३ राँगा बली दिइन्छ । बडाकाजी अमरसिंह थापाले ठमेल (हाल काठमाडौं महानगरपालिका वडा नं. २६) मा दक्षिणपट्टि ‘कालिकामाई, बीचमा ज्वालामाई र उत्तरपट्टि कामरु कामोक्षमाईको मन्दिर’ गरी जम्मा एउटै कम्पाउण्डभित्र फरक–फरक स्वरुप र महत्वका ३ वटा अर्थात् त्रिशक्ति पिठको स्थापना गराउनु भयो । आध्यात्मिक व्यक्तित्व बडाकाजी अमरसिंह थापाले भारतवर्षकै शक्तिशाली मानिएको शक्तिपिठ ‘कामरु (कामाख्या) काञ्ची कामकोटी (गुहारी)’ को प्रतिरुप भारतबाट ल्याएर नेपाल राष्ट्रको पक्षमा शक्ति आर्जनका लागि तत्कालीन नेपाल दरबारमा कार्यरत छोरा रणध्वज थापामार्फत बडाकाजीले आफ्नो निजी खर्च प्रबन्धमा यो मन्दिर निर्माण गराउनु भएको हो ।

अमरसिंह थापाले वि.सं. १८६४ भाद्र महिनामा काठमाडौंस्थित ठमेल टोलमा श्री नारायण तथा महादेवको स्थापना गरी त्यहाँको विधिपूर्वक पूजाका लागि ६ मुरी सिङ्गो सरुवा चामलको खानगीको व्यवस्था मिलाई स्थायी पुजारीको बन्दोबस्त मिलाउनु भएको थियो । यसको पत्रको व्यहोरा यो पंक्तिकारले लेखेको ‘एकीकरणका बडाकाजी भाग–२’ (वि.सं. २०७८) को पृष्ठ १३३ मा उल्लेख गरिएको छ । अमरसिंह थापाको नाममा त्रिदेवी मन्दिरमा चैत्र अष्टमीमा ३ बोका, महानवमीमा ३ बोका र ३ राँगा बली दिइन्छ ।

मन्दिर कम्पाउण्डभित्रको उत्तरी मोहोडामा कामरु कामोक्षमाईको मन्दिर रहेकाले यो मन्दिरसँगै जोडिएको उत्तरी मार्गलाई त्रिदेवी नामाकरण गर्नुअघि राखिएको ऐतिहासिक स्थानीय चलन चल्तीको पुरानो नाम ‘कामोक्ष मार्ग’ रहेको स्थानीय अग्रज ज्येष्ठ नागरिक विद्वानहरु स्मरण गर्नुहुन्छ । यसै प्रसङ्गवशः कामरु कामोक्षमाई शक्तिपिठ नेपाल–भारत दुई देशीय धार्मिक आध्यात्मिक शक्ति केन्द्र भएकाले मन्दिरको वर्तमान कार्य समितिले भारतीय धार्मिक दर्शनार्थीहरु तथा पर्यटकहरुलाई लक्षित गरी आकर्षक कार्यक्रमहरु ल्याउनु पर्ने यस पंक्तिकारको सल्लाह छ । बडाकाजी अमरसिंह थापासँग सम्बद्ध संघ संस्था, प्रतिष्ठानहरुका कतिपय विद्वानहरु, कतिपय स्वतन्त्र स्थानीय अग्रज व्यक्तित्वहरुले यो क्षेत्रमा रहेको सुप्रसिद्ध मन्दिर राष्ट्रिय विभूति अमरसिंह थापाले निर्माण गराउनु भएको हुँदा यो मन्दिर अगाडिपट्टि रहेको ऐतिहासिक सडक मार्गलाई ‘राष्ट्रिय विभूति अमरसिंह मार्ग’ रहनुपर्ने निजी धारणा राख्दै आएको पाइन्छ । 

यो मन्दिर परिसरको केही जग्गा उत्तरी मोहोडामा रहेको हालको त्रिदेवी सडक मार्गमा पर्न गएको देखिन्छ । त्यसैगरी वि.सं. १८७६ को लालमोहरबाट प्राप्त यो मन्दिर कम्पाउण्डको पूर्व, पश्चिम र दक्षिणपट्टिको २० रोपनी जग्गा अलपत्र परेको देखिन्छ । ठमेल टुरिष्ट गाईड बाल उद्धार केन्द्र, नेपालबाट एक उपसमिति गठन भई बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेसन, नेपालको नेतृत्वदायी पहलकदमीमा गुठी संस्थानको मिति २०८१ चैत्र २५ गतेको निर्णयबाट ‘श्री कालिका कामोक्ष ज्वाला गुठी व्यवस्थापन समिति’ गठन गरी काम, कर्तव्य तोक्ने सम्बन्धको समिति दर्ताको प्रमाण पत्र प्राप्त भएको छ । यस समितिको अध्यक्ष प्रदिप विक्रम थापा हुनुहुन्छ । यो मन्दिरको दैनिक नित्य पूजा पाठ सञ्चालन गर्नका लागि पुरेत (पुजारी) गुरु केशवप्रसाद घिमिरे हुनुहुन्छ । यस मन्दिर परिसरभित्र मन्दिरका संस्थापक बडाकाजी अमरसिंह थापाको मूर्ति शालिक स्थापना गरिएको छ। 

अमरसिंह थापाले डोटी जिल्ला चौकी काँडाबटला गाउँका नारु जोशीबाट यस गाउँमा ‘मालिका मन्दिर’ बनाएमा विजय प्राप्त हुने कुरा सुनेपछि त्यस ठाउँमा सो मन्दिर बनाउन लगाउनु भएको तथ्य मन्दिरका पुजारी खगेन्द्रराज जोशीलाई उधृत गर्दै उप.प्रा.डा. विनोद थापाले आफ्नो शोध–पुस्तक ‘राष्ट्रिय विभूति अमरसिंह थापा’ (वि.सं. २०७०) मा लेख्नु भएको छ । अमरसिंह थापाले ‘किल्ला काँगडामाथि २ पटक आक्रमण गर्दा पनि सफल नभएपछि दुल्लू, दैलेख, अछाम हुँदै वहाँ काँडाबटला गाउँमा पुगी कुन साइतमा पुनः आक्रमण गर्दा काँगडा विजय गर्न सकिएला’ भन्ने बुझ्न ज्योतिषीको खोजीमा पुग्दा काँडाबटालामा ‘मालिका मन्दिर’ बनाएमा विजय हुने विश्वास बडाकाजीमा पैदा भएको थियो । वहाँले ३ गाउँमा गुठी राखी त्यसको आयस्ताबाट मन्दिरमा निरन्तर रुपमा अखण्ड दियो बत्ती बालिरहनु पर्ने लगायतको व्यवस्था गरेकाले त्यो आज पनि निरन्तर जारी छ । 

बडाकाजीले लगभग १४ हजार फिटको उचाइमा बाजुरा जिल्लामा पर्ने डाँडाको टुप्पामा कालिका, मालिका र जालपादेवी भगवतीका ३ वटा प्रस्तरका मूर्तिहरु निर्माण गराउनु भयो । बडीमालिका मन्दिरको वार्षिक पूजा श्रावण शुक्लत्रयोदशी तिथिमा गरिन्छ । यो मन्दिरको दर्शनको लागि भारतदेखि तीर्थालुहरु आउने गर्छन् । प्रत्येक वर्ष ऋषी पूर्णिमाका दिन भक्तजनहरु सो मन्दिरमा गई अमरसिंह थापाको नाममा पूजा होमादि गर्छन् । अमरसिंह थापाले गढ्गाल राज्यमाथि विजय प्राप्त गरिसकेपछि भारतको गङ्गोत्रीमा भागीरथको मन्दिर निर्माण गर्न लगाउनु भएको हो । यस्ता कार्यहरुले वहाँको नरम कूटनीतिक सीप र कडा कूटनीतिक सीपको सम्मिश्रणयुक्त सैद्धान्तिक अवधारणा निर्माण गरेको छ । वहाँले सुनको भागीरथीको मूर्ति प्रतिस्थापन गरी बाहिर काठैकाठको मन्दिर बनाउन लगाउनु भएको थियो । भागीरथ मन्दिर गङ्गोत्री भन्ने ठाउँमा बनाएकाले यसलाई गङ्गोत्तरीको मन्दिर भनिएको हो । वहाँले गङ्गोत्रीसम्म पुग्ने बाटो बनाउनु भएको थियो । हाल त्यहाँ भएको सानो भवन पनि उनले रु. ५०० खर्च गरेर बनाउन लगाउनु भयो । यो मन्दिरको नियमित पूजाआजा गर्न र व्यवस्थापन कार्य संचालन गर्न गुठीको बन्दोबस्त गर्नुभयो । त्यो मन्दिरभित्र अहिले पनि ‘नेपालको बत्ती’ भनेर एउटा छुट्टै बत्ती बाल्ने गरिन्छ । यो क्षेत्र सुगौली सन्धिपछि भारतमा परेको छ ।

अमरसिंह थापाले पशुपतिनाथ मन्दिर वरिपरि ३६० वटा दियो बत्ती बाल्ने चलन चलाउनु भएको थियो । बगाले थापा क्षेत्रीहरुले वर्षको एक दिन महाशिवरात्रीको रातभर ती दियोहरुमा बत्ती बाल्ने गर्दछन् । त्यस रात हामी बगाले थापा क्षेत्रीहरु जागराम बस्ने गर्दछौं । अमरसिंह थापाका नाममा कीर्तिमुख भैरवमा संकल्प गरी धर्मभिरुहरुलाई भोलिपल्ट चामल, नुन, बेसार आदि वितरण गर्ने र एक थुमा बली समेत चढाइन्छ । उता, अमरसिंह थापा वि.सं. १८७१ मा सुदूर पश्चिम युद्धकार्य क्षेत्रमा हुनुहुन्थ्यो । यता, काठमाडौं दरबारमा कारोबारी काजीका रुपमा कार्यरत छोरा रणध्वज थापा हुनुहुन्थ्यो । त्यसकारण अमरसिंह थापाले छोरा रणध्वज थापामार्फत सोही सालको विजयादशमीको दिनमा उत्तरपट्टि मोहडामा चाँदीको भित्री ढोका बनाई पशुपतिनाथमा चढाउन लगाउनु भयो । चाँदीको ढोका चढाउँदा वहाँले ढोकाको माथि चाँदीकै तोरण बनाउन लगाइ आफ्ना पत्नीहरु, १० छोरा, १० नातिहरुको नाम लेखाइ एउटा अभिलेख राख्न लगाउनु भएको थियो । यो वहाँको अन्तिम कृति हो ।

अमरसिंह थापाको नाममा काठमाडौंको नरदेवीमा घोडेजात्राको रात १०८ दीप बाल्नुका साथै एक बोको र एक राँगो संकल्प गरी बली चढाइन्छ । अमरसिंह थापाद्धारा निर्मित मठ–मन्दिरहरुमा आजपर्यन्त वहाँका हामी सन्तान, सन्तनीहरुले नित्य एवम् वार्षिक पूजाआजा कार्यहरु सम्पादन गर्दै आइरहेका छौं । वहाँका अरु पनि कैयौं कृतिहरु छन्, जुन खोज अनुसन्धान, उत्खनन् हुँदैछन् । यसका लागि राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठान लगायतका प्रतिष्ठित संघ संस्थाहरुले महत्वपूर्ण योगदान दिँदै आएका छन् । सो प्रतिष्ठानले यस्ता खाले विषयहरुमा नेपाल सरकारलाई विभिन्न दृष्टिकोणबाट सहयोग गर्दै आईरहेको छ । 

अमरसिंह थापाले पशुपतिनाथ मन्दिर वरिपरि ३६० वटा दियो बत्ती बाल्ने चलन चलाउनु भएको थियो । बगाले थापा क्षेत्रीहरुले वर्षको एक दिन महाशिवरात्रीको रातभर ती दियोहरुमा बत्ती बाल्ने गर्दछन् । त्यस रात हामी बगाले थापा क्षेत्रीहरु जागराम बस्ने गर्दछौं । अमरसिंह थापाका नाममा कीर्तिमुख भैरवमा संकल्प गरी धर्मभिरुहरुलाई भोलिपल्ट चामल, नुन, बेसार आदि वितरण गर्ने र एक थुमा बली समेत चढाइन्छ ।

अमरसिंह थापाले बाग्मती धादिङ जिल्ला केवलपुरको देवथोकमा बरामस्टा (बराह) र विन्धोवासिनी (भवानी र समालिङ्ग शिव) को मूर्तिसहितको मन्दिर र निसान घर निर्माण गराउनु भयो । वहाँले मन्दिरका नाममा गुठी पनि राख्न लगाउनु भयो । आत्रेयगोत्री बगाले थापा क्षेत्रीहरुको कुलदेवताको रुपमा रहेको यो मन्दिर परिसरमा वर्षैनी बगाले थापा क्षेत्रीहरुले दिवाली पूजा गर्दछन् । यसबाट वहाँ आफ्ना भावी सन्ततिहरुप्रति पनि चिन्तित रहेको बुझिन्छ । यो कुलदेवताको मन्दिर नेपाल–अंग्रेज युद्ध समाप्त भइसकेपछि जल महापरिनिर्वाण (जल समाधी) लिन जानेक्रममा गोसाइँकुण्ड जानुअघि धादिङमा निर्माण गर्न लगाउनु भएको थियो ।

अमरसिंह थापाले धादिङमा आफ्ना कुलदेवताको स्थापना गरिसकेपछि वहाँ त्यतैबाट गोसाइँकुण्ड प्रस्थान गर्नु भएको थियो । गोसाइँकुण्डमा पुगेर वहाँले अमरेश्वर महादेव स्थापना गरी जनै पूर्णिमाको अघिल्लो रात महादीप बाल्नुका साथै भोलिपल्ट चिउरा र सक्खर बाँड्ने गुठी राख्नु भएको थियो । सो गुठी पनि हालसम्म चलिआएको छ । यसरी एकीकरणका बडामहाराजाधिराज पृथ्वीनारायण शाहको आदेश, निर्देशमा बडाकाजी अमरसिंह थापाले आधुनिक नेपाल राष्ट्र निर्माणका लागि कडा कूटनीति एक, अनेक नरम कूटनीति अवलम्बन गर्नु भएको थियो ।   

निष्कर्ष : एकीकरणका बडाकाजी अमरसिंह थापाले आधुनिक नेपाल राष्ट्र निर्माणका लागि गर्नु भएको आन्तरिक तथा बाह्य एकीकरण अभियान तत्कालीन कडा कूटनीतिक शक्तिको एउटा सीप हो भने विभिन्न स्थानहरुमा वहाँले गर्नुभएका आध्यात्मिक, धार्मिक साँस्कृतिक कार्य, गुठी निर्माण तथा व्यवस्थापन कार्यादि नरम कूटनीतिक शक्तिको एउटा सीप मान्न सकिन्छ । यस्तो नरम कूटनीतिक शक्तिको सीपमा विना शस्त्रास्त्र, विना हातहतियार शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्त र व्यवहारबाट आधुनिक नेपालको रक्षा गर्न सजिलो हुन्छ । यसलाई मनन् गरी नेपाली सेनाका तत्कालीन सर्वोच्च कमाण्डर एवम् युद्ध–कार्याध्यक्ष राष्ट्रिय विभूति अमरसिंह थापाले उपयुक्त समयमा जङ्गी कारबाही गरी देशद्रोही तथा शत्रु पक्षका सैनिकहरुले नेपालमाथि गरेको आक्रमणको प्रत्याक्रमण गर्नु हुन्थ्यो । त्यसैगरी फुर्सदिलो समय पाउनासाथ धार्मिक, सांस्कृतिक, सामाजिक कार्य जस्ता नरम कार्यमा लाग्ने गर्नु हुन्थ्यो ।

यसरी नरम कूटनीतिक शक्तिले आधुनिक नेपाल राष्ट्रको आध्यात्मिक शक्ति (स्पिरिचुअल पावर) लाई समेत बढाउन मद्दत गरेको छ । जी–२० सम्मेलनमा टर्कीका प्रधानमन्त्री अहमेत दाभुतोग्लुले ‘नेपाल इज दि सेन्टर अफ स्पिरिच्युअलिटी ईन दि वर्ल्ड” भन्नु भएको उद्धगारलाई विश्वले स्वीकारेको छ । नेपालको रक्षार्थ यस्तो सफ्ट पावर डिप्लोमेसी र सत्य युगदेखि विकास हुँदै आएको धार्मिक आध्यात्मिक शक्ति निर्माण कार्यलाई निरन्तरता दिँदै बडाकाजी अमरसिंह थापाले पनि आफ्नो तर्फबाट केही न केही थप भूमिका निर्बाहा गर्नु भएको सन्दर्भ आज आम नेपालीमाझ चर्चा चलिरहेको छ। 
(लेखक बडाकाजी अमरसिंह थापा र धर्मदेवी विष्टकी लहरोपट्टिका लप्टन रणोद्दिमसिंह थापाचार्यको चारपुस्ते सन्तती हुन्) ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७