युएईलाई हराउँदै पाकिस्तान एसिया कपको सुपर चारमा

काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले युएईलाई ४१ रनले पराजित गर्दै सुपर–४ मा स्थान बनाउन सफल भएको छ।
बुधबार राति भएको खेलमा रेफ्रीसँगको विवादका कारण पाकिस्तानले प्रतियोगिता बहिष्कार गर्ने चर्चा चलेको थियो। तर अन्तिम समयमा पाकिस्तानी टोली मैदान पुगेपछि खेल निर्धारित समयभन्दा करिब १ घण्टा ढिला सुरु भयो।
पाकिस्तानले भारतविरुद्धको खेलमा भारतीय खेलाडीले खेलभावना विपरीत हात नमिलाउँदा पनि रेफ्रीले कारबाही नगरेको भन्दै उनीहरूलाई प्रतियोगिताबाट हटाउन माग गरेको थियो। तर, आइसीसीको दबाबपछि पाकिस्तान खेलमा फर्किएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनायो। उसका लागि फखर जमानले ५० रनको अर्धशतकीय इनिङ खेले भने मोहम्मद हरिसले १८ तथा कप्तान सलमान अघाले २० रन बनाए। शाहिन शाह अफ्रिदी २९ रनमा अविजित रहे।
युएईका लागि जुनाइद सिद्दीकीले ४ तथा सिमरनजित सिंहले ३ विकेट लिए।
१४७ रनको लक्ष्य पछ्याएको युएई १७।४ ओभरमै १०५ रनमा अलआउट भयो। उसका लागि राहुल चोपराले ३५ रन, ध्रुव परासरले २० र कप्तान मुहम्मद वासिमले १४ रन बनाए। त्यस्तै अलिसन सराफुले १२ रन योगदान दिए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदी, हरिस रउफ र अब्रार अहमदले समान २–२ विकेट लिए भने साइम अयुब र सलमान अघाले १–१ विकेट हात पारे।
सुपर–४ मा पुग्ने अर्को निर्णायक खेलमा आज श्रीलंका र अफगानिस्तान आमनेसामने हुँदैछन्। श्रीलंकाले २ खेलमा २ जितसहित ४ अंक जोडिसकेको छ भने अफगानिस्तानले १ जित हात पारेको छ।
यस खेलमा जित्ने टोली सुपर–४ मा पुग्नेछ। अफगानिस्तान हार्ने हो भने श्रीलंका स्वतः सुपर–४ मा स्थान बनाउनेछ।