कति सकियो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ?
चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सकिएको छ। भरतपुर महानगरपालिका–१५ स्थित संघ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रङ्गशाला निर्माण गरिरहेको छ ।
धुर्मस–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिइ काम अघि बढाएको थियो । हिमालयन कालिञ्चोक बिबिआर जेभीले बोलपत्र सकारेर काम गरिरहेको छ । महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार चार वटा ‘प्याराफिट’ मध्ये एउटाको ढलाइ सम्पन्न गरिएको छ । अर्को ढलानको तयारीमा छ । दुवै टावरको पहिलो तल्लाको ढलानको तयारी हुँदैछ । अहिले दैनिक १७० जनाभन्दा बढी कामदारले बिहान ०८ बजेदेखि बेलुका ९ बजेसम्म काम गरिरहेको आचार्यले बताए । छड र सिमेन्ट सहज उपलब्धता नहुँदा काममा केही कठिनाइ भए पनि सामग्री जुटाएर काम भइरहेको उनले बताए ।
गत साउनमा बिबिआर जेभीले निर्माण सुरु गरेको हो । विसं २०८३ पुस २२ गतेसम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी ७८ करोड ५० लाख ९१ हजार १८९ मा ठेक्का लगाइएको हो । गत असार २३ मा ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । रङ्गशाला निर्माणका लागि संघीय सरकारले २५ करोड र प्रदेश सरकारले १० करोड उपलब्ध गराइसकेका छन्। प्रदेश सरकारले ७० प्रतिशत र संघीय सरकारले ३० प्रतिशत उपलब्ध गराउने सहमतिअनुसार रङ्गशालाको काम अघि बढेको हो ।
अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार रङ्गशाला निर्माण भइरहेको छ । पहिलो चरणको यो काम सम्पन्न भएसँगै अन्तर्राष्ट्रियस्तरका खेल यहाँ आयोजना गर्न सकिने छ । त्रिभुवन विश्व विद्यालयको नाममा रहेर कृषि तथा वन विज्ञान विश्व विद्यालयले उपयोग गरिरहेको २० विघा १९ कठ्ठा जमिनमा रङ्गशाला निर्माण भइरहेको छ । गर्मी भएकाले साँझ र रात्रीकालिन समयमा समेत खेल खेलाउन बत्तिको व्यवस्था गर्न महानगरपालिकाले संघीय सरकारसँग अनुरोध गरेको छ। महानगरपालिका प्रमुख रेनु दाहालले सम्झौताअनुसार तालिकामा काम भइरहेको बताइन् । महानगरबाट गर्नुपर्ने आवश्यक सहजीकरण महानगरले गरिरहेको उनले जानकारी दिइन् । सम्झौता अवधिभित्रै काम सम्पन्न हुनेमा विश्वस्त रहेको उनको भनाइ छ ।
.gif)

.png)

