काम गर्न नसक्ने प्रधानमन्त्रीले कान समातेर उठबस गर्ने वाचा गर्नु पर्यो : बामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । आज (मंगलबार) राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनाबद्ध ढङ्गले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने जिकिर गरे । नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नुपर्ने उनको भनाइ छ । उनले अब छलफल मात्र गरेर मुलुकमा विद्यमान आधारभूत आवश्यकताका समस्याहरू समाधान गर्न सम्भव नरहेको जिकिर गरे । उनले छलफलमा प्रधानमन्त्री बन्नेहरूलाई बोलाएर काम गर्न नसके कान समाएर उठबस गर्ने वाचा खुवाउनु पर्ने तर्क गरे ।
उनले भने, ‘पहिले देशको सम्पूर्ण जमिन राज्यको नाममा ल्याउनु पर्यो । त्यसपछि बसेर योजना बनाउनु पर्यो । पिउने पानीदेखि विद्यालयसम्म जति पनि आवश्यक हुन्छ त्यो सबैका लागि योजना बनाएर लागू गर्ने स्थिति नहुँदासम्म यो हुँदैन । यो छलफल नै गर्ने हो भने प्रधानमन्त्री हुनेहरूलाई ल्याएर यदि मैले गर्न सकिनँ भने कान समातेर सय पटक उठबस गर्नेछु भने वाचा गराउनु पर्यो । यदि समस्याको समाधान गर्न सकेनन् भने यिनीहरू मुलुकको प्रधानमन्त्री बन्न लायक छैनन्, समस्याको समाधान यसरी गर्ने हो यिनीहरूले गर्न सकेनन् भनेर आम जनतालाई भन्नु पर्छ । अब आधारभूत रूपमा काम गर्न नसक्दासम्म अगाडि बढ्न सकिन्न ।’