शिक्षकहरूलाई प्रचण्डको अपील : पटक–पटक धोका भएको छ, आन्दोलन नरोक्नू

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षकहरूलाई आन्दोलन जारी राख्न अपील गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारले पटक–पटक धोका दिएको भन्दै शिक्षकहरूलाई आन्दोलन नरोक्न अपील गरेका हुन् ।
‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन अपील गर्न चाहन्छु । तपाईहरुले पटक–पटक आन्दोलन गर्नु भएको छ । पटक–पटक धोका भएको छ । यस पटक त्यस्तो हुन नदिन हामी सबैको जिम्मेवारी छ,’ उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्नुको सट्टा अपमान गरेको प्रचण्डको आरोप छ । ‘यो सरकारले एक दिन पनि सरकारमा बस्ने हैसियत गुमाइसकेको छ । दुई हप्तादेखि शिक्षकहरू आन्दोलरत छन् । तर, सरकारको नेतृत्वको गरेको प्रधानमन्त्रीले उनीहरूको मागप्रति गम्भीर हुनुको साटो उल्टै अपमान गर्ने, गाली गर्ने, तिनलाई हप्काउने गरेका छन्,’ उनले भने । उनले प्रधानमन्त्री ओली शिक्षकहरूको मागलाई बेवास्ता गरेको आरोप लगाए ।