हाम्रो पार्टी र नेतृत्वविरुद्ध चौतर्फी हमला भइरहेको छ : महासचिव पोखरेल

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी र नेतृत्वविरुद्ध चौतर्फी हमला भइरहेको टिप्पणी गरेका छन्। नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन् । ‘हाम्रो पार्टी र नेतृत्वविरुद्ध चौतर्फी हमला भइरहेको अवस्थामा हामी छौं,’ महासचिव पोखरेलले भने, ‘...सामाजिक सञ्जालका माध्यमबाट नकारात्मकता फैलाउने प्रयास भइरहेको छ ।’
उनले पार्टीका आधिकारिक सूचनालाई सम्प्रेणण गरेर यो चुनौतीको सामना गर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । ‘मलाई लाग्छ हाम्रो पार्टीपंक्ति एकताबद्ध रुपमा पार्टीका सहि सूचनालाई सम्प्रेषण गर्ने काम गर्यौं भने सहजै रुपमा चुनौती सामना गर्न सक्छौं,’ उनले भने । महासचिव पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनले नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर सहयोग पुर्याएको बताएका छन् । महासचिव पोखरेलले दलहरूमाथि प्रतिबन्ध लागेको अवस्थामा समेत नेपालमा कम्युनिष्ट पार्टीका नेताहरूले देशभित्रै लोकतन्त्रको लागि निरन्तर आन्दोलन गरेको स्मरण गरे । नेपाल कम्युनिष्ट पार्टीको निरन्तरताको रूपमा नेकपा एमाले देशको अग्रणी पार्टी भएको उनको भनाइ थियो ।
‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा हाम्रो पार्टीले अगाडि सारेका मान्यता सही साबित भएका छन्, ती मान्यताले नेपालको लोकतान्त्रिक आन्दोलनलाई बाटो देखाउने काम गरेका छन्’, पोखरेलले भने । संसदीय व्यवस्था विकृत भएको बेलामा पनि त्यसलाई सही बाटोमा ल्याउने नेकपा एमालेले काम गरेको उनको जिकिर छ । पोखरेलले नेपाललाई समाजवादी बाटोमा अघि बढाउने सिलसिलामा पनि एमालेको भूमिका उल्लेख्य रहेको प्रष्ट्याए । समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षालाई अघि बढाउने कुरामा नेकपा एमाले प्रतिबद्ध रहेको उनले बताए ।