प्रधानमन्त्रीले शिक्षकको अपमान गरे, सरकारमा बस्ने हैसियत गुमाइसके : प्रचण्ड 


२०८२ बैशाख १० मंगलबार १७:०१ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीले शिक्षकहरुको अपमान गरेको टिप्पणी गरेका छन् । उनले  प्रधानमन्त्री केपी शर्मा ओली अब एक दिन पनि सरकारमा बस्न नमिल्ने बताए । उनले देशको अवस्था निकै चुनौतीपूर्ण रहेको बताउँदै केपी शर्मा ओली नेतृत्वको सरकारको जन्म नै असंवैधानिक तरिकाले भएको आरोप लगाए। ‘देशको स्थिति चुनौतीपूर्ण छ । एमाले र केपी ओली नेतृत्वको सरकारको जन्म नै अलोकतान्त्रिक र असंवैधानिक छ भनेका छौं । यसले गर्ने भनेको भ्रष्टाचारीको रक्षा नै हो’, उनले भने ।

उनले राम्रो काम गर्नेको तेजोबध गर्ने र आफ्नो लागि लागिपर्नेलाई जसरी पनि जोगाउने नै यो सरकारको काम भएको बताए । उनले यो सरकारका गलत काम हजारौं भएकाले राख्न नमिल्ने बताए । ‘आजकै दिनमा सरकार साँच्चै भन्ने हो भने एक दिन पनि नेतृत्वमा बस्ने हैसियत गुमाइसकेको छ’, उनले काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै भने, ‘दुई सातादेखि शिक्षक सडकमा छन्। शिक्षकलाई अपमानित गर्ने र गाली गर्नेबाहेक केही भएन । यो भन्दा ठूलो अपमान के हुन्छ ? वार्ता गर्नेभन्दा प्रधानमन्त्रीले शिक्षकलाई अपमान गर्न थाले । त्यसैले अब एक दिन पनि सरकारको नेतृत्वमा बस्न मिल्दैन ।’ अध्यक्ष प्रचण्डले नेपालका कम्युनिष्ट पार्टीहरू एकता गर्ने कुराबाट आफू नथाकेको बताएका छन् ।

‘पार्टी एकताको प्रस्ताव अघि सारें । तर, अवसरवाद र व्यक्तिवादका कारण त्यो सफल हुन सकेन,’ प्रचण्डले भने्, ‘तर, हामी त्यसबाट थाकेका छैनौं । आत्तिएका पनि छैनौं । कम्युनिष्ट आन्दोलनको एकता छाडेका पनि छैनौं । छाड्दा पनि छाड्दैनौं ।’ प्रचण्डले सच्चा कम्युनिष्टलाई एक बनाउने जिम्मेवारी आफूहरूकै काँधमा रहेको जिकिर गरे। ‘सच्चा कम्युनिष्टलाई एकताबद्ध गर्ने जिम्मेवारी हाम्रै काँधमा छ । यो ऐतिहासिक सच्चाइ र तथ्यको कुरा हो,’ प्रचण्डले भने, ‘प्रतिक्रियावादीहरूले त माओवादी सिद्धिए भनेर घोषणा गर्छन् तर माओवादी सधैं उठ्छ ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७