प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको मिलेन कुरो, आन्दोलन नरोकिने


२०८२ बैशाख ७ शनिबार १९:४० बजे

काठमाडौं । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनलाई आज (शनिबार) पनि निरन्तरता दिने भएको छ । शुक्रबार मध्यरातिसम्म प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुट्टाछुट्टै छलफल गरेका शिक्षक महासंघका नेताहरु तत्कालै शिक्षा ऐन जारी हुनेमा आश्वस्त हुन सकेका छैनन् । त्यसैले उनीहरुले आन्दोलनलाई आज पनि जारी राखेका छन् ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीसँगको संवादबारे जानकारी दिँदै, शिक्षकका मागहरू स्पष्ट र शिष्टतापूर्वक राखिए पनि सरकारको दृष्टिकोणमा अपेक्षित परिवर्तन नदेखिएको उल्लेख गरेका छन् । ‘हामी एक–दुई साना माग पूरा भए भनेर चुप लाग्ने होइनौं । हाम्रो आन्दोलनको मूल उद्देश्य विगतका सहमति सम्बोधन गर्दै स्पष्ट ऐनमार्फत शिक्षकको हक र अधिकार सुनिश्चित गर्नु हो,’ अध्यक्ष सुवेदीले लेखेका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा शिक्षक–कर्मचारीका माग, विद्यालय शिक्षा ऐन जारी गर्ने आवश्यकता र आन्दोलनका कारण उत्पन्न परिस्थिति लगायतका विषयमा गहन छलफल भएको थियो । प्रधानमन्त्री ओलीले सरकारले सम्बोधन गर्न सक्ने विषयमा छलफल गरेर निर्णय लिने र ऐन जारी गर्न तत्परता देखाउने आश्वासन दिए पनि महासंघले आन्दोलनको विकल्प अहिले देख्न नसकेको जनाएको छ ।
महासंघको टोलीले शुक्रबार राति नै सभामुख देवराज घिमिरेसँग पनि छुट्टै छलफल गरेको थियो । छलफलमा विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने उपायबारे केन्द्रित छलफल भएको थियो ।

महासंघले आन्दोलनमा संलग्न सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई मर्यादित, संयमित र अनुशासित भएर आन्दोलनमा डटिरहन आग्रह गरेको छ । अध्यक्ष सुवेदीले स्मरण गराए, ‘हिजोका दिनमा हामीले पाएको सबै उपलब्धि आन्दोलनकै उपज हुन्, अब पनि त्यही बाटोबाट न्याय सुनिश्चित हुनेछ ।’ शिक्षक महासंघको टोलीमा अध्यक्ष सुवेदीसँगै सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए ।  

सरकारले वैशाख १२ गतेदेखि सुरु हुन लागेको बजेट अधिवेशनबाटै शिक्षा ऐन जारी गर्ने भन्दै शिक्षक महासंघलाई आन्दोलन अन्त्य गरेर विद्यालय फर्किन भनेको थियो । तर सभामुख घिमिरेले कहिले कोरम नपुग्ने र कहिले बैठक नबस्ने गर्दा यही अवस्थामा बजेट अधिवेशनबाट शिक्षा ऐन जारी नहुने अभिव्यक्ति दिएका थिए । सभामुख घिमिरेले शुक्रबार राति शिक्षक महासंघका नेताहरुसँग पनि सोही कुरा प्रष्ट्याएका थिए । त्यसैले शिक्षक तथा कर्मचारीहरुले आन्दोलन आज पनि जारी राख्ने निष्कर्ष निकालेका छन् ।

आन्दोलन परिचालन समिति संयोजक पराजुलीले शिक्षक तथा कर्मचारीहरुको आन्दोलन आज पनि जारी रहने बताइन् । ‘प्रधानमन्त्रीले आज सबैसँग छलफल गरेपछि के कुरा आउँछ त्यसपछि हेर्नपर्छ,’ उनले भनिन्, ‘हाम्रो आन्दोलन रोकिँदैन ।’ मन्त्रिपरिषद र मन्त्रालयले निर्णय गरेमा पनि आन्दोलनको स्वरुप परिवर्तन गर्न महासंघका नेताहरु लचक छन् । तर शिक्षा मन्त्रालयले सर्तसहित क्याबिनेटबाट पास गर्ने प्रस्ताव गरेकाले पनि कुरा मिलेको छैन । ‘निःसर्त हुनुपर्छ, भन्ने हाम्रो माग हो,’ पराजुलीले भनिन् ।

शिक्षक कर्मचारी मैत्री ऐन जारी गर्न माग गर्दै देशभरका सरकारी स्कुलका शिक्षक तथा कर्मचारीहरु २० चैतदेखि सडक आन्दोलनमा छन् । उनीहरुले २५ चैतदेखि शैक्षिक हड्ताल समेत घोषणा गरेर आन्दोलन जारी राखेका छन् । उनीहरुको आन्दोलनका कारण वैशाख २ गतेदेखि सुरु भएको विद्यालय भर्ना अभियान, पाठ्यपुस्तक वितरण, एसईईको उत्तरपुस्तिका परीक्षण लगायत सम्पूर्ण शैक्षिक गतिविधि प्रभावित भएको छ । आन्दोलनले ११ वैशाखदेखि सुरु हुने कक्षा १२ को वार्षिक परीक्षा पनि प्रभावित हुने चिन्ता छ । यद्यपि राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै समय तालिका अनुसार परीक्षा सञ्चालन हुने जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७