ग्यास व्यवसायीको आन्दोलन तत्काललाई स्थगित
![](https://nayapage.com/uploads/content/2025/02/lp gass2025-02-06-17-29-37.jpg)
काठमाडौं । नेपाल ग्यास उद्योग संघले घोषणा गरेको आन्दोलन तत्कालका लागि स्थगित भएको छ । बुधबार ग्यास व्यवसायी र सरकारबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलपछि व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगित गरेका हुन् । संघले सरकारले माग पूरा नगरे ग्यास बिक्री वितरण रोक्ने चेतावनी दिएको थियो । आजको छलफलमा व्यवसायीका सबै माग १५ दिनभित्र पूरा गर्ने सरकारले आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारीहरू, निगमका कर्मचारीहरू र नेपाल एलपी ग्याँस उद्योग संघका पदाधिकारीहरुबीच छलफल भएको थियो । आयल निगम समक्ष संघले पेश गरेका मागहरूलाई सकारात्मक रुपमा लिई समाधानका लागि गृहकार्य गर्न थप समय आवश्यक देखिएको हुँदा संघले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रमहरू स्थगन गर्ने निर्णय गरेको जनाएको छ ।