मेलम्चीको पाइपलाइन फुट्दा बबरमहल क्षेत्र जलमग्न {तस्वीरहरु}
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन फुट्दा काठमाडौंको बबरमहल क्षेत्र जलमग्न भएको छ। पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालय र घरमा समेत पानी पसेको छ । बुधबार दिउँसो साढे दुई बजेतिर मेलम्ची खानेपानीको पाइप फुटेपछि अहिले यो क्षेत्रमा खोलै बगेको छ ।
काठमाडौं महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीका अनुसार काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको हो । वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बपानी पसेको छ । उनका अनुसार यो पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले मेलम्ची खानेपानी सञ्जालको पाइट फुटेको जानकारी दिएका छन् । ‘रेगुलर (नियमित आपूर्ति) तर्फको पाइप फुटेको हो कि, थोक वितरण प्रणाली (बिडिएस) को पाइप फुटेको यकिन भइसकेको छैन,’ उनले भने । पाइप फुटेर जलमग्न भएपछि अहिले त्यसभेगको वितरण प्रणाली बन्द गरिएको उनले बताए ।
‘हामीले कहाँको पाइप फुटेको हो बुझ्न कर्मचारी परिचालन गरिसकेका छौं,’ उनले भने । काठमाडौं उपत्यकाभित्र गत साउनयता मात्रै तीन हजार ६ सय यस्ता चुहावट हुने ठाउँ पहिचान भएका थिए । त्यसमध्ये तीन हजारदेखि तीन हजार दुई सय ठाउँका चुहावट मर्मत भइसकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोककुमार पौडेलले जानकारी दिए । उनकाअनुसार अझै चार सयभन्दा बढी पहिचान भएका ठाउँको चुहावट मर्मत हुन बाँकी छ ।