बीआरआई नेपालको हितमा छ : प्रचण्ड
‘हाम्रो ध्यान सरकारतिर छैन, जनतातिर छ’
चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएका छन् ।
आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकांक्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताए । उनले भने, ‘हाम्रो ध्यान सरकारतिर छैन । हाम्रो ध्यान जनतातिर छ । जनतालाई परिचालन गर्नेतर्फ नै छ । सरकारका कामको खबरदारी गरिररहन्छौँ ।’
फरक प्रसङ्गमा उनले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालको हितमा रहेको बताए । चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुई वटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको उनले बताए । इन्डो प्यासेफिक स्ट्राटिजी (आइपिएस) र बीआरआईका सन्दर्भमा अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन् ।