यी हुन् नेपाल–चीनबीच भएका सहमति र समझदारीका नौं बुँदा (सूचीसहित)


२०८१ मङ्सिर १८ मंगलबार १३:३२ बजे

चीन ।  चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएको छ । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । त्यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनर्निर्माण सम्पन्न गरेको  प्रमाणपत्रको आदानप्रदानका साथै भैसीँको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार विकास आयोजनासम्बन्धी सम्झौता, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइ  आदानप्रदान भएको छ भने स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रवक्ता ढकालले भने, ‘सम्पर्क सञ्जाल विस्तार, औद्योगिक तथा पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रमा सहकार्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकूद, प्राकृतिक प्रकोप व्यवस्थापन, दुई देशबीचको जनस्तरको सम्बन्ध, गरिबी निवारणलगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।’ परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको छ । यो हस्ताक्षरपछि चीनले नेपालबाट मासु आयात हुने बाटो खुलेको छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री प्रचण्ड चीन गएको बेला चीनले नेपालबाट भैँसीको मासु आयात गर्ने समझदारी गरेको थियो । नेपालले सबै मापदण्ड पुरा गरेपछि अब चीनले नेपालबाट भैंसीको मासु आयात गर्ने भएको हो । २०७२ सालको भूकम्पमा भत्किएको वसन्तपुरको नौ तल्लो दरबारको पुनर्संरचना चीनले गरेको छ र नेपाल सरकारलाई हस्तान्तरण पनि गरिसकेको छ । त्यसको प्रमाणपत्र पनि अदानप्रदान गरिएको छ ।

यस्ता छन् सहमतिहरू 

टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
विकास योजना सम्बन्धी समझदारी पत्र
आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र
नेपाल टेलिभिजन  र चाइना मिडिया ग्रुप बिच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीले ग्रेट हल अफ पिपलमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी थिए । त्यसपछि दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता र त्यसपछि हस्ताक्षर समारोह भएको थियो। 

प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी जिनपिङबिच आजै भेटवार्ता हुने बताइएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल हिजो सोमबार चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुगेको हो । भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सङ्घीय सांसदहरू, मुख्य सचिवसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७