एनपीएल उद्घाटन खेलका सबै टिकट बिक्री

एनपीएलको पास माग्न फोन नगर्नू : पारस


२०८१ मङ्सिर १४ शुक्रबार १२:०८ बजे

काठमाडौं । भोलि (शनिबार) देखि काठमाडौँमा नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण सुरू हुँदैछ। खेलको तयारी पूरा भएको र उद्घाटन खेलका लागि सबै टिकट बिक्री भइसकेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । 

शुक्रबार सामाजिक सञ्जालमार्फत क्यानका सचिव पारस खड्काले सीमित पूर्वाधार क्षमताका कारण पहिलो खेलका लागि टिकट र भिआइपी पास सकिएको जानकारी गराएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्यानले आयोजनामा हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गतको पहिलो खेलका टिकट र पास सकिएका छन् । कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौँ ।’

सचिव खड्काले उद्घाटन खेलको टिकट नभएकाले टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्न आग्रह गरेका छन् । साथै, उनले शनिबार हुने खेलको पासका लागि सम्पर्क नगर्न अपिल गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौं । कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नु हुन हार्दिक अनुरोध गर्दछौं ।’

भोलिको उद्घाटन खेलका सबै टिकट र भीआईपी पासहरु सकिएको उनले जानकारी गराएका छन्।उद्घाटन खेलका लागि १० हजार वटा टिकटमध्ये भिआइपीतर्फका आठ सय र सामान्यतर्फका नौ हजार दुई सय टिकट बिक्री भएको क्यानले जनाएको छ । शनिबार हुने उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।
 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७