नेपाली वेब सिरिज ‘तथास्तु’ सार्वजनिक (भिडियो)
काठमाडौं : हास्य, रहस्य र जीवनका महत्त्वपूर्ण सन्देश समेटिएको नेपाली वेब सिरिज ‘तथास्तु’ सार्वजनिक भएको छ।
के.बी डिजिटलको युट्युब च्यानलमार्फत सिरिजको ट्रेलर र पहिलो भाग सार्वजनिक गरिएको हो।
गाउँले परिवेश, युवापुस्ताको उटपट्याङ व्यवहार, रहस्यमय साधु र अनौठो श्रापको कथामा आधारित सिरिजले मनोरञ्जनसँगै परिवार, मित्रता र समयको महत्त्व उजागर गर्ने निर्माण पक्षले जनाएको छ।
ओरियन पिक्चर्स र फजी फिल्म्सको संयुक्त निर्माणमा बनेको सिरिजको कथा तथा पटकथा शिशिर राणाले लेखेका हुन् भने निर्देशन किरण दाहालले गरेका छन्। सिरिजमा हास्य र भावनात्मक पक्षलाई समेट्दै नेपाली गाउँघरको मौलिक परिवेश प्रस्तुत गरिएको छ।
सिरिजमा अभिषेक फुयाँल, रसल श्रेष्ठ, सुनील तामाङ, तुलसी राय, सबी थापा, लिसा बरनवाल, सृजना भुजेल र गीत लिम्बूलगायत कलाकारको अभिनय छ।
वरिष्ठ कलाकार नरेन्द्र थापा, श्याम राई, विपना बस्नेत, सन्तु तामाङ, रामकाजी घिमिरे र गीता थापा पनि सिरिजमा देखिएका छन्।
किरण दाहाल, विवेक मगर र मणि राज पौडेल निर्माता रहेको सिरिजमा बी एन्ड बी टेक तथा हाकिम इन्टरटेनमेन्ट सहनिर्माताका रूपमा आबद्ध छन्।
छायाङ्कन विवेक मगर र योदिन योञ्जनले गरेका छन् भने सम्पादन विवेक मगर र आलोक वाग्लेले गरेका छन्।
सिरिजको शीर्ष गीत हर्क साउदले तयार पारेका हुन् भने पृष्ठभूमि संगीत अनमोल थापाको छ।
मनोरञ्जनसँगै सम्बन्धको महत्त्व र जीवनप्रतिको दृष्टिकोणबारे दर्शकलाई सोच्न प्रेरित गर्ने लक्ष्यसहित ‘तथास्तु’ निर्माण गरिएको टोलीले जनाएको छ।
हेर्नूहोस् भिडियोः
.gif)

.png)



