कार्यकारीलाई सबै अधिकार दिँदा विद्युत प्राधिकरणका समस्या समाधान गर्न सकिएन : मन्त्री खड्का
काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको सम्पूर्ण अधिकार कार्यकारीलाई दिएका कारण प्राधिकरणमा उत्पन्न समस्या समाधान गर्न सरकारलाई गाह्रो भइरहेको टिप्प्णी गरेका छन्।
आज (बुधबार) राष्ट्रिय सभाअन्तर्गतको विद्यायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथिको दफावार छलफलमा मन्त्री खड्काले यस्तो बताएका हुन् । मन्त्री खड्काले सरकारका अंगहरुले गर्ने काममा समस्या आउने भन्दै संसदीय समितिहरु नै प्रभावकारी हुनुपर्ने बताए ।
उनले सरकार सञ्चालन गर्दा पर्नसक्ने असरहरुलाई मध्यनजर गर्दै विधेयकका मस्यौदामाथि छलफल गर्न सांसदहरुलाई आग्रह गरे। उनले समितिमा आउने विधेयकहरु कानूनी हिसावले न्यायोचित भए कि भएनन् भन्ने विषयमा समेत समितिले छलफल गर्नुपर्ने बताए । कर्मचारीको सरुवा बढुवा गर्ने निश्चित अधिकार कार्यकारीलाई दिई बाँकी कामहरु समितिबाट अनुमोदन गराउने नीति लागू गर्नुपर्नेमा उनको जोड थियो ।
मन्त्री खड्काले भने, ‘सरकार संचालन गर्दाखेरि हामीले निर्माण गरेका अंगहरुले गर्ने काम नीतिहरुमाथि पनि बेला बखत समस्याहरु आउने गरेको पाइन्छ । त्यसकारण पनि संसदीय समितिहरु नै प्रभावकारी हुनुपर्दछ। अहिले विद्युत प्राधिकरणको नियमावली नै रहेनछ । प्राधिकरणको सम्पूर्ण अधिकारी कार्यकारी प्रमुखलाई दिइएको रहेछ । यस्ता खालका समस्याहरु सरकारले हेर्नुपर्ने समस्याहरु आइरहेका छन् । त्यसकारण माननीय ज्युहरुलाई म के आग्रह गर्न चाहन्छु भने धेरै विधेयकहरुमा छलफल गर्नुपर्नेछ । पास गर्नुपर्नेछन् ।’
उनले थपे, ‘भोलि सरकार सञ्चालन गर्दा यसका असरहरु के हुन सक्छन् त भन्ने विषयमा पनि ध्यान दिएर विधेयकका मस्यौदामाथि छलफल गर्नुपर्ने आवश्यकता देखिन्छ । विधेयकहरु कानूनी हिसावले न्यायोचित भए कि भएनन् भन्ने विषय पनि बहसका विषय बन्न सक्छन् । दायित्व लिने मान्छेले अधिकार प्रयोग गर्दा दायित्व पूरा गरेको छ कि छैन रु भन्ने विषयमा पनि समितिमा छलफल गर्नुपर्छ जस्तो मलाई लाग्छ । यसमा समितिको काम कर्तव्य र अधिकारको विषयमा पनि छलफल हुनुपर्दछ ।’