हल सञ्चालकलाई निश्चलको चेतावनी : हिन्दी फिल्मलाई नै शो दिइराख्नू, म विकल्पमा लागें

काठमाडौं । चर्चित फिल्म निर्माता, निर्देशक र कलाकार निश्चल बस्नेतले सिनेमा हलको विकल्पमा लागेको चेतावनी दिएका छन् । बस्नेतले निर्माण गरेको फिल्म ‘बेहुली फ्रम् मेघौली’ अहिले सिनेमा हलमा प्रदर्शन भइरहेको छ । दर्शकको राम्रो साथ पाइरहेको यस फिल्म तेस्रो सातामा प्रदर्शन भइरहेको छ ।
तर, सिनेमा हलहरूले दर्शकको रुचि नेपाली फिल्मप्रति हुँदा पनि हिन्दी सिनेमालाई बढी शो दिएको भन्दै बस्नेतले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै अब हलको विकल्प खोज्न लागेको बताएका छन् । उनले हिन्दी फिल्मप्रति दर्शकको रुचि नहुँदा पनि सिनेमा हलले हिन्दी फिल्मलाई शो दिइरहेको आरोप लगाएका छन् ।
उनले भनेका छन्, ‘राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो occupancy हुँदा पनि तपाईहरूले त्यही हिन्दी फिल्मलाई नै शो दिइराख्नु भएको छ, occupancy आलु हुँदा पनि । म भने हलको विकल्पतिर लागें ।’ अहिले सिनेमा हलमा बस्नेतको यो फिल्मसहित ‘छक्का पन्जा–५’, ‘घर ज्वाई’, र ‘१२ गाउँ’ चलिरहेका छन् । बस्नेतको संकेत अब नेपाली फिल्मलाई ओटीटी प्लेटफर्ममा रिलिज गर्नेतर्फ रहेको बताइएको छ । अहिले पनि विभिन्न ओटीटीमा नेपाली फिल्म रिलिज गरिएको छ, तर त्यसको बजार विस्तार नहुँदा सीमित दर्शकसम्म मात्र पुग्ने गरेको छ ।