श्रीलङ्काबाट उपविजेता बनेर फर्केको भलिबल टोलीलाई विमानस्थलमै टीका–जमरा र खादाले स्वागत
काठमाडौ । श्रीलंकामा आयोजित सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई भव्य स्वागत गरिएको छ ।
आज (आइतबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका खेलाडीलाई नेपाल भलिवल एशोसियसनका पदाधिकारीले खादा, टीका र जमरा लगाइ दिएर स्वागत गरेका हुन् । शनिबार भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो ।
असोज २० गतेदेखि सुरू भएको प्रतियोगिता शनिबार सकिएको हो । श्रीलंका फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्बेकिस्तान सहभागी थिए ।