सिन्धुलीबाट काठमाडौं आउँदै गरेकाे बस र सुमो पहिरोले पुरिए, आजै खुलेको वीपी राजमार्ग फेरि अवरुद्ध
पहिरो पन्छाउन गएको जेसिबी मेशिन पनि पल्टियाे

काठमाडौं । आज सञ्चालनमा आएको बीपी राजमार्गमा सुख्खा पहिरोले एउटा बस र सुमो पुरिएको छ । बाढी पहिरोबाट क्षतिग्रस्त भएको १४ दिनदेखि अवरुद्ध बीपी राजमार्गको काभ्रेचौकी डाँडादेखि सिन्धुलीको नेपालथोक सडकखण्ड आज बिहानबाट गाडी चल्न थालेको थियो ।
पहिरो गएपछि अस्थायी ड्राइभर्सन फेरि बन्द भएको छ । बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका–११ पिप्लेमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सिन्धुलीटबाट काठमाडौँ तर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको र खोटाङबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ ।
एक्कासी आएको सुख्खा पहिरोले दुईवटा सवारी साधन समेत पुगेको हो । सवारीसाधन सुचारु भइरहेको समयमा बीपी राजमार्गको रोशी गाउँपालिका–११ बुलढुङ्गामा सुख्खा पहिरो जाँदा सुमो र बसमा क्षति पुगेको छ । पहिरोले गाडी पुरे पनि मानवीय क्षति भएको छैन । पहिरो पन्छाउन गएको जेसिबी मेशिन पनि भर्खरै पल्टिएको छ ।
तस्वीर स्रोत : राज मैनाली (प्रिन्स)