एमालेको विधान महाधिवेशन व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँट, कसलाई के ?

काठमाडौं । सत्तारुढ नेकपा एमालेले भदौमा हुने विधान महाधिवेशनको व्यवस्थापनका लागि नेताहरुलाई जिम्मेवारी तोकेको छ। बुधबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले विभिन्न नेताहरुलाई महाधिवेशनको व्यवस्थापनको जिम्मेवारी तोकेको हो।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनका प्रतिनिधिको संख्या यकिन गर्न संगठन विभागलाई जिम्मा दिएको छ। १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमध्ये कतिको मृत्यु भयो, कतिले पार्टी छोडे, ती सबै बिषय यकिन गर्न संगठन विभागलाई जिम्मा दिइएको केन्द्रीय कार्यालय प्रमुख डा.भिष्म अधिकारीले जानकारी दिए।
यस्तै स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ। महाधिवेशनको स्वयंसेवक परिचालनको जिम्मा पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई दिइएको छ । यस्तै सचिवालय र खाना व्यवस्थापनको काम कार्यालय सचिव डा.अधिकारीले सम्हाल्ने छन्। यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य विनोद श्रेष्ठले पाएका छन्।
महाधिवेशनको प्रचारको जिम्मा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमलाई र स्वागत नृत्यसहित विविध साँस्कृतिक कार्यक्रमको जिम्मा केन्द्रीय सदस्य हेमराज राईलाई दिइएको छ ।महाधिवेशन प्रतिनिधिहरुले आवासको व्यवस्था आफैं गर्नुपर्ने एमालेले जनाएको छ। आवासको व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिका सम्बन्धित जिल्ला वा प्रदेशका सम्पर्क समन्वय कमिटीले व्यवस्थापन गर्नुपर्ने छ।
यसका लागि सो विभागका इन्चार्ज लालबाबु पण्डितलाई जिम्मेवारी तोकिएको छ। विधान महाधिवेशनमा २ हजार २७९ जना प्रतिनिधि सहभागी हुने अनुमान छ। एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ।