मुखको क्यान्सरको लक्षण र उपचार


२०८१ असोज १० बिहीबार २३:१२ बजे

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार मुखको क्यान्सरलाई १३ औं सबैभन्दा सामान्य क्यान्सर मानिन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने विशेष गरी पुरुषमा फोक्सो र पेटको क्यान्सरपछि यो तेस्रो सबैभन्दा बढी हुने क्यान्सरमा पर्दछ । मुखको क्यान्सरले बिरामी र बिरामीको परिवारमा मानसिक, आर्थिक र सामाजिकरुपमा नकारात्मक प्रभाव पार्दछ ।

यो रोग जति बढ्दै जान्छ त्यति नै आर्थिक बोझ, उपचारको जटिलता बढ्नुका साथै उपचारपछिको जीवनको गुणस्तर पनि कमजोर हुन्छ । दुर्भाग्यवश, धेरैजसो बिरामीहरूले क्यान्सर केन्द्रमा उन्नत चरणहरूमा (तेश्रो र चौंथो) प्रस्तुत भएको पाइन्छ । मुखको क्यान्सर हेरचाहमा हालैका प्रगतिहरूको बावजुद, उन्नत चरणको ५ वर्षको बाँच्ने दर ५० प्रतिशत वा सोभन्दा कम छ ।

सुर्तिजन्य पदार्थ र रक्सी मुखको क्यान्सरको प्रमुख कारण हुन् । अत्याधिक घामले पनि ओठको क्यान्सरको जोखिम बढाउने देखिएको छ । एसियाली देशहरूमा सुपारीको प्रयोग मुखको क्यान्सरको जोखिमको महत्वपूर्ण कारक भएको पाइएको छ ।

मुखको क्यान्सरका बिरामीको संख्या अग्रिम चरणमा बढ्दै गएपछि यसले क्यान्सर केन्द्र, राष्ट्रिय बीमा बोर्ड र अपाङ्गता भत्तामा पर्ने भारलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता छ ।

 के–के हुन् मुखको क्यान्सरको प्रारम्भिक लक्षणहरू ? 
मुखभित्र कुनै पनि घाउ दुई हप्ता भन्दा बढी निको भएको छैन भने म्याक्सिलोफेसियल सर्जन वा ईएनटी र हेड एन्ड नेक सर्जनद्वारा मूल्याङ्कन (जाँच) गर्न आवश्यक छ । तर राम्रो दन्त चिकित्सकले पनि मुखको क्यान्सरको प्रारम्भिक लक्षण पहिचान गर्नमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

सुर्तिजन्य पदार्थ र मदिराको बारम्बार प्रयोग गर्ने व्यक्तिहरूले के कुरामा सचेत हुन आवश्यक छ ? धुवाँरहित सुर्तिजन्य पदार्थ जस्तै खैनी, भोला, पान, गुटखा अनि मदिरा छोड्न भन्न जति सजिलो छ वास्तविकता हेर्दा अधिकांश मानिसहरूलाई गम्भीर समस्या नआएसम्म बानी छोड्न गाह्रो हुन्छ ।

आफ्नो मुखभित्र लामो समयसम्म कुनै पनि असामान्य सेतो वा रातो दाग देखिएमा दुखाई नभए पनि जाँच गराउनु राम्रो हो । ती पूर्व क्यान्सरको प्रारम्भिक संकेत पनि हुन सक्छन् । जसको उपचार कम जटिल हुन्छ र परिणाम राम्रो हुन्छ । सुपारी मात्र खाईराख्ने बानीले पनि मुखभित्र कुनै नकारात्मक असर पर्न सक्छ होला ? धेरैजसोलाई थाहा छ, भोला, गुटखा, पानमा सुर्तिजन्य पदार्थसहित सुपारीको पनि प्रयोग हुन्छ र यी कुराहरुले मुखको क्यान्सर गराउँछ । तर लामो समयसम्म सुपारी मात्रको प्रयोगले पनि ओरल सबम्युकस फाइब्रोसिस भन्ने समस्या हुने जोखिम छ । OSMF को लक्षणहरु अलि पिरो, मसला हालेको खानेकुरा खाँदा मुखभित्र पोल्ने, मुखभित्रको छालाहरु सेतो तथा चाम्रो हुने र बिस्तारै मुख खोल्न कठिनाई हुने हुन्छ ।

यसले गर्दा खाना खान, दाँत माझ्न साथै बोल्न पनि कठिनाई हुन्छ । लगभग ६ प्रतिशत जस्तो बिरामीहरूमा ओरल सबम्युकस फाइब्रोसिस क्यान्सरमा परिणत हुने जोखिम छ । यसबारे सबै सचेत हुनु जरुरी देखिन्छ । 

दाँत उखालेको ठाउँ निको नभएर पछि क्यान्सर भयो भन्ने कुरा कतिको सत्य हो ? 
यो कुरा क्यान्सरका विरामी मात्र्र नभई अरुले पनि सोध्नु भएको छ । क्यान्सरको प्रारम्भिक संकेत मुखभित्र निको नहुने घाउ मात्र नभई कहिलेकाहीँ गिंजाको क्यान्सरमा दाँत हल्लिएर दुखाइ हुने प्रारम्भिक समस्या हुन सक्छ । यस्तो बेलामा यदि गिजाको राम्रो क्लिनिकल परीक्षण नगरी दाँत निकालिएको अवस्थामा क्यान्सर अझ उग्ररुपले फैलिनेछ । 


मुखको क्यान्सरको बढ्दो समस्या हेर्दा क्यान्सर केन्द्रहरु अझ बढी बनाउन आवश्यक छ कि त्यो भन्दा अझ राम्रो अरु केहि गर्न सकिन्छ ? 
क्यान्सर केन्द्रहरुको आवश्यकता जति छ अझ त्यो भन्दा महत्वपूर्ण क्यान्सर स्क्रिनिङ परीक्षण आवश्यक देखिन्छ । मुखको क्यान्सर हेरचाहमा आधुनिक क्यान्सर केन्द्रहरूको संख्या बढ्दै गए पनि उन्नत मुखको क्यान्सर भएका बिरामीहरूको छ वर्ष बाँच्ने दरमा उल्लेखनीय सुधार आएको छैन ।

त्यसैले क्यान्सरको प्रारम्भिक चरणमा वा अझ राम्रो पूर्व (क्यान्सरको प्रारम्भिक स्थितिमा) पहिचान गर्न अझ जरुरी देखिन्छ । सामान्य चिकित्सकहरू दन्त चिकित्सकहरूका लागि प्रारम्भिक पहिचान र शीघ्र रेफरलका लागि पर्याप्त प्रशिक्षण कार्यक्रमहरू हुनुपर्छ ।

धुमपानरहित सुर्ति र रक्सीको बारम्बार प्रयोगलाई अत्यधिक निरुत्साहित गरिनु पर्छ र यो सन्देश बारम्बार दोहो-याइ रहनु पर्ने आवश्यकता देखिन्छ ।

लेखक चिनारी

डा. सिद्धार्थ राई
डा. राई वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत छन् लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७