रास्वपामा सभापतिको पापको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा छ : गगन थापा


२०८१ असोज २ बुधबार १८:१६ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा कांग्रेसले भनेकै कुरा संसदीय छानबिन समितिले पुष्टि गरेको दावी गरेका छन् । आज (बुधबार) पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले संसदीय छानबिन समिति गठनको माग गर्दा कांग्रेसले गरेको आशंका समितिले पुष्टि गरेको जिकिर गरे ।

आफूहरूले गोर्खा मिडिया प्रालिले सहकारीको रकम अपचलन गरेको, गोर्खा मिडियाका तत्कालीन सञ्चालक रवि लामिछाने गृहमन्त्री हुँदा सरकारी निकायले छानबिन नगरेको र गोर्खा मिडियामा रकम लैजानेहरूलाई कारबाही गर्न माग गरेर संसदीय छानबिन समिति गठनको माग राखेको बताए ।

संसदीय छानबिन समितिले आफूहरूले उठाएका सबै विषय सत्य पुष्टि गरेको थापाले बताए । संसदीय समितिले गोर्खा मिडियाले ४÷५ वटा सहकारीबाट करोडौँ रकम गैरकानुनी रूपमा लगेको र यो रकम अपचलनमा तत्कालीन सञ्चालक जीवी राई, कुमार रम्तेल, रवि लामिछाने र छविलाल जोशीलाई प्रचलित कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थापाले बताए ।

तर अहिले रास्वपाका नेता–कार्यकर्ताले संसदीय समितिले दोषी किटान नगरेको प्रचार गरिरहेकोमा उनले आश्चर्य व्यक्त गरे । संसदीय समितिमा रहेका रास्वपा सांसदले कारबाही सिफारिस गर्ने निर्णयमा हस्ताक्षर गरेर बाहिर आएर आफ्नो सभापतिलाई दोष लागेन भनेर भ्रम छरेको थापाले बताए । अहिले रास्वपामा सभापतिको पापको भारी बोक्ने प्रतिस्पर्धा चलिरहेको उनले टिप्पणी गरे ।

संसदीय समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्नुपर्ने उनले बताए । कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगीको आरोप लागेको र गुरुङले आफूमाथि छानबिन होस् भनिरहेको भन्दै थापाले यो विषयमा पनि सरकारले छानबिन गर्नुपर्ने बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७