नेपालको संविधान विश्वकै एक समावेशी संविधान : परराष्ट्रमन्त्री


२०८१ असोज ३ बिहीबार ०१:४९ बजे

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै लामो संघर्ष र बलिदानको दस्तावेज भएको बताएकी छिन् ।

क्यानाडाको ओटावास्थित नेपाली दूतावासद्वारा आयोजित राष्ट्रिय दिवस समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक शासन व्यवस्थामार्फत संविधान तयार गर्न नेपाली जनताले निकै लामो संघर्ष गर्नुपरेको बताइन् । ‘नेपालको संविधान २०७२ को घोषणा नेपाली इतिहासको एक महत्वपूर्ण क्षण हो । यो लोकतान्त्रिक संविधान नेपाली जनताको बृहत् सहभागितामा बनेको समावेशी र प्रतिनिधिमुलक संविधानसभाले निर्माण गरेको हो । त्यसैले यो नेपाली जनताको प्रत्यक्ष सहभागीताबाट निर्माण भएको संविधान हो,’ उनले भनिन् ।

विश्वव्यापी रूपमा स्वीकार गरिएका मानव अधिकार र नागरिक स्वतन्त्रताका मान्यतालाई सम्मान गर्नु यो संविधानको एक महत्वपूर्ण पक्ष भएको बताउँदै मन्त्री डा. राणाले संविधान शान्ति र समावेशिताको एक प्रतीक रहेको बताइन् । संविधानले नागरिकका अधिकारको संरक्षण गर्दै कानुनी राज्यको मूल्यमान्यता अनुसार हरेक क्षेत्र र तहका नागरिकलाई आत्मसम्मानका साथ बाँच्ने अधिकार प्रदान गरेको मन्त्री राणाले बताइन् । 

‘मलाई लाग्छ हाम्रो संविधान विश्वकै एक समावेशी संविधानमध्येको एक हो, जसले सङ्घीय संसद र प्रदेश सभामा ३३ प्रतिशत र स्थानीय सरकारमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ’ उनले भनिन् । यो संविधान कार्यान्वयनमा आएको करिब एक दशकमा नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख जस्ता राज्यका उच्च निकायमा महिला पुग्न सफल भएको दृष्टान्त पेश गर्दै मन्त्रीराणाले देशका निजामती कर्मचारी, सुरक्षा निकाय एवं अन्य क्षेत्रमा पनि महिलाको प्रतिनिधित्व बढेको बताइन् । परराष्ट्रमन्त्री राणाले नेपालको प्रजातान्त्रिक प्रक्रिया र संविधान लेखनको अभियानमा क्यानाडा सरकारले गरेको सहयोगको पनि सराहना गरिन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७