देउवा रिसाएको दिन सरकार ढल्छ : रवि लामिछाने


२०८१ असोज ३ बिहीबार ०१:५० बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइको सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन् । उनले कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाए दुई तिहाइको सरकार ढल्ने दावी गरे ।

संविधान दिवसको अवसरमा रास्वपाले संसद भवनको लोहोत्से हलमा आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै लामिछानेले दुई तिहाइको सरकारको प्राथमिकता अझै स्पष्ट नभएको बताए । उनले जनताका प्राथमिकता र सरकारका प्राथमिकता मेल नखाउँदा जनता निराशा छाएको उदाहरण समेत दिए ।

उनले भने, ‘दुई तिहाइको सरकार अस्थिर छ ।  कांग्रेस सभापति रिसाए सरकार ढल्छ, अनि राजनीतिक स्थायित्वका लागि दुई दल मिलेको भन्ने ?’ उनले राजनीतिक दलहरू नै सुधारको आधार भएको र योग्य प्रतिनिधि पठाउन सके मात्र परिवर्तन सम्भव हुने धारणा राखे । लामिछानेले निर्वाचन प्रणाली महँगो भएको र यसबाट संसदमा थोरै मात्र इमानदार प्रतिनिधिहरू आउने उल्लेख गरे । ‘इमानदारको संख्या कम भएकाले विधि र थिति बनाउन कठिन छ’, उनले थपे, ‘प्रतिनिधिको छनोटमा ध्यान दिन जरुरी छ ।’

उनले संविधान संशोधनको कुरा उठाउँदै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद बाहेकलाई मन्त्री बनाउने, संसदलाई विधायकी काममा मात्र सीमित गर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहित गैरदलीय समावेशी ‘विद्वत सभा’ को अवधारणा अगाडि सार्नुपर्ने आवश्यकता औंल्याए । उनले संविधान संशोधनको बहानामा सत्ताको आयु लम्ब्याउने प्रयास भइरहेको आशंका पनि व्यक्त गरे । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७