भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा अर्थमन्त्रीको छलफल


२०८१ असोज ३ बिहीबार ०२:०५ बजे

काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव तयार पार्ने तथा परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको हो ।

परामर्शदाताले नेपालको आवश्यकता अनुसारको विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल निर्माणलाई अघि बढाउने सहमति भएको अर्थमन्त्री पौडेलले जानकारी दिए । नेपालीले विदेशमा उपचार गर्न जानु नपर्ने गरी सबै प्रकारको सुविधासहित अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण आवश्यक भएकाले वीर अस्पताललाई थप विस्तार गर्न लागिएको उनले बताए । 

स्वास्थ्य मन्त्री पौडेलले परामर्शदाता छनोट भई विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि अस्पताल निर्माण प्रक्रिया अघि बढ्ने बताए । बैठकमा निर्माण सम्पन्न भई सञ्चालन हुन बाँकी रहेका आधारभूत अस्पतालहरुको सञ्चालन, स्वास्थ्य बीमालगायतक विषयमा छलफल भएको थियो । विसं २०७३ मा सरकारले भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माणका लागि करिब सात सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७