साथीहरु, को-कोसँग छ प्रकासको आँसुमा भावुक हुने प्राधिकार ?

सबभन्दा महत्वपूर्ण व्यक्ति हामीसँग रहेका यिनै नेतृत्व हो । उनीहरूविरुद्ध घृणा फैलाएर हुन्छ के ? प्रश्न गर्नुपर्छ । यिनले सबै चटक गरिरहेका छन्, प्रहसन गरिरहेका छन् भन्ने घृणा लेखेर समाजका लागि के योगदान हुन्छ ?


२०८१ भदौ ३१ सोमबार ०३:२८ बजे

मैले आफ्नो दैनिकीका लागि कुनै संविधान बनाएको छैन । न बनाएको छु, ‘गर्नु हुने र नहुने’ आचारसंहिता पनि । मेरो दैनिकी यसरी चलिरहेको छ, जसरी हाम्रा लाहुरे मामाहरूको देश बेलायत (जहाँ लिखित संविधान छैन) चलिरहेको छ । आफ्नै लय, फुक्काफाल जिन्दगी, मनमौजी दैनिकी । कामले लखेट्यो भने रातभरि–दिनभरि जागै बस्ने । नत्र बिन्दास भएर डाँडाकाडतिर ‘हाइकिङ’ जाने । 

हामीले जति विरोध वा भत्सर्ना गरे पनि वर्तमान हाम्रो नेतृत्व हो । अब कुनै मिथकीय पात्र अकाशबाट झर्ने छैन, पातालबाट उम्रिने छैन । टोल्सटोयले भनेजस्तै वर्तमान नै सबभन्दा महत्वपूर्ण समय हो । सबभन्दा महत्वपूर्ण व्यक्ति हामीसँग रहेका यिनै नेतृत्व हो । उनीहरूविरुद्ध घृणा फैलाएर हुन्छ के ? प्रश्न गर्नुपर्छ । यिनले सबै चटक गरिरहेका छन्, प्रहसन गरिरहेका छन् भन्ने घृणा लेखेर समाजका लागि के योगदान हुन्छ ?

तर, मेरी श्रीमती मेनुकाको जिन्दगी भागदौडमग्न छ । पढाइ, जागिर अनि गृहस्थी जीवनको सत्तरी प्रतिशत भार (बाँकी तीस मैले वहन गर्छु)... । यस्तै भागदौडका बीच गएको भदौ ९ गते राति ११ बजेतिर उनी एयरफोन लगाएर सुँक्कसुँक्क रोइरहेकी थिइन् । सोधेँ, ‘हैन के भयो, कमरेड ?’ उनको उत्तर थियो, ‘एकैछिन डिस्टर्ब नगर्नु न ! ‘हेर्ने कथा’मा ‘हराएका वर्षहरू’ नामको भिडियो हेर्दै छु । ट्रेन्डिङ छ । आफू पनि हेर्नू, भोजपुरकै मान्छेको कथा रहेछ ।’ ‘ट्रेन्डिङ’वाला जिनिसमाथि मेरो उति अनुराग छैन । एक भोजपुरको कथा, अर्को मेनुकाको रोदन । हेर्नैपर्ने भयो । 

भिडियोबारे लेखिएको रहेछ, ‘सायद सन् १९९० तिर झापाबाट एउटा फुच्चे केटो गलैंचा बुन्न भनी काठमाडौं आइपुग्छ । काठमाडौंमा केही समय बिताएपछि उमेर नपुगेको भन्दै त्यो केटो गलैंचा बुन्ने कामबाट निकालिन्छ । उसलाई टाढा, उत्तरी गोर्खाका मान्छेले भेटाउँछन् र गोठालो काम गर्न भनी २ हप्ताको बाटो हिँडाएर चुम भ्याली लिएर जान्छन् । त्यसपछि उ हिमालबाट कहिल्यै घर फर्किँदैन ।’ भिडियोमा गोरखाको छेकम्पार हुदै झापा भएर भोजपुरसम्म पछ्याउँदा म पनि मेनुकाकै हालतमा पुगेँ ।

सामाजिक सञ्जालभरि प्रकाशको आँसु छपक्कै थियो । फेरि १० भदौमा ‘हेर्ने कथा’ले आफ्नो फेसबुक पेजमा ‘प्रकाशलाई हामीले कसरी भेट्यौं ? अहिले प्रकाश कहाँ छन् ?’ शीर्षकमा एउटा जानकारी पोस्ट ग-यो । त्यहाँ प्रकाशले भनेका थिए ‘नागरिकता बनाउन खोजेको तर भएन । बरु ज्यालादारी नै काम गरे पनि चुम भ्यालीमै अलि–अलि  कमाइन्छ जस्तो लाग्यो अनि म छेकम्पार फर्किएँ । यहाँ काम पनि पाइएन । पहिलाकै साहुको घरमा काम गर्न थालेको छु । मैले त दिनको १ हजार दिनुपर्छ भनेको छु । तर उनीहरू पैसाको कुरै गर्न चाहँदैनन् ।’

प्रकाशको भिडियोले हृदय छोएको थियो । पछिल्लो बयानले दिमाग हल्लायो । मनमा प्रश्न आयो, ‘किन पाएनन् नागरिकता ? किन दिएनन् श्रमको मुल्य ?’ आफू पनि भोजपुरे हुनाका नाताले त्यसपछि हामी भोजपुरे युवाहरूले सल्लाह ग-यौं, ‘प्रकाशलाई चुम भ्यालीको छेकम्पारदेखि भोजपुरको छाप्लेगाउँसम्म लैजाऔं ।’ र मैले फेसबुकमा लेखेँ ‘चुमभ्यालीबाट प्रकाशको न्यायपूर्ण बिदाइ र भोजपुरको सम्पाङ छाप्लेगाउँमा सम्मानित जीवन बाँच्ने वातावरण निर्माणका लागि अभियान सुरु गरौं ।’ यसरी प्रकाशलाई पछ्याउन थाल्यौं । 

तस्बिर : हेर्ने कथा

छेकम्पारबाट काठमाडौं ल्याउनेदेखि उनकै साथमा भोजपुरसम्म आफै पुगेँ । सँगै काठमाडौ ल्याएर आएँ । प्रकाशसँगै मात्रै होइन, प्रकाशका कथा हेरेर गरिएका टिप्पणी, प्रतिक्रिया र भावना पनि पछ्याएँ । तर जब ती प्रतिक्रिया र टिप्पणी पढेँ/हेरेँ, हाम्रो समाजमा निराशा, घृणा र उत्तेजनाको आगो यस्तरी फैलिरहेको कम्तीमा मलाई पत्तो थिएन । थाहा थिएन, हामी यतिधेरै कृतघ्न छौं । ती उत्तजेना, घृणा र कृतघ्नताले ‘स्तब्ध’ नै बनायो । 

लाग्यो, ‘प्रश्न वा आलोचनात्मक चेतको नाममा हामीले सिंगो नेपाली समाजलाई नै ‘डिप्रेसन’ तिर लगिरहेका त छैनौं ?’ किनभने ज–जसले प्रकाशको आँसुमा भावुक हुने प्राधिकारको दाबीसहित उत्तेजना र घृणा लेखेका थिए, उनीहरू आफूलाई सचेत प्रश्नकर्ता मात्रै होइन बौद्धिक दाबी गर्छन् ।  मैले यहाँ लेख्न खोजेको प्रकाशको थप कथा होइन । हाम्रो समाजको वर्तमान त्रासदीको कथा हो । समाजमा फैलाइएको निराशाको महामारीको कथा हो । 

प्रश्न गरौं, तर घृणा नफैलाऔं । चारसुर कसेर आलोचना गरौं, उत्तेजना नफैलाऔं । प्रकाशको आँसुमा भावुक हुने प्राधिकारमाथि प्रश्न गरेर बौद्धिकता पनि प्रर्दशन गरौं । असहिष्णुताको आँधीवेहरी र निराशाको व्यापारले सुन्दर समाज पनि निर्माण हुदैन ।  देश त आखिर तपाईं–हाम्रै होइन र ?

‘महान्’ मान्छेहरूका तुच्छ प्रश्न 

सुरु गरौं, विद्या चापागाईं र उनको ‘हेर्ने कथा’बाट । भगवानमाथि कसैको विश्वास हुन्छ, कसैको हुँदैन । भगवान् मान्ने र नमान्नेबीच ऐतिहासिक भिडन्त आफ्नै ठाउँमा छ । यदि भगवानलाई भरोसा र भरथेगको विम्ब मान्ने हो भने विद्या र उनको ‘हेर्ने कथा’ टिम प्रकाशको जीवनमा भगवान् भएर छेकम्पार पुग्यो ।

उनीहरू नपुगेको भए हिमाली कारागार छेकम्पारबाट उनी भोजपुर फर्किन पाउने थिएनन् । पाउने थिएनन्, दुनियाँलाई भाका हाली–हाली आफ्ना ‘हराएका बर्षहरू’को कथा भन्न । भोजपुरको छाप्लेगाउँमा आमाको खुट्टा समात्दै डाँको छोडेर त्यसरी रुन पाउने थिएनन् । पाउने थिएनन् बिरामी बुवालाई औषधी खुवाउने अवसर पनि । भाइ रिट्ठेसँग अँगालोमा रुने अवसर पाउने थिएनन् । 

मलाई लागेको थियो, विद्या र उनको टिमलाई सबैले धन्यवाद भन्नेछन् । यद्यपि, धन्यवाद नभन्न पाइन्छ । आलोचना पनि गर्न पाइन्छ । तर धेरैले आलोचना होइन, भत्सर्ना र घृणासहितका उपदेशात्मक आदेश लेखे ।  उनीहरूले सोधेका छन्, ‘विद्या चापागाई किन आँसुको व्यापार गर्छौ रु प्रकाशहरूको आँसुलाई आम्दानीको स्रोत किन बनाएको ?’ त्यतिमात्रै कहाँ हो र, ‘हेर्ने कथा’लाई ‘पोभर्टी पोर्न’ भन्न पनि भ्याए । ‘पोभर्टी पोर्न’ अर्थात् निश्चित उद्देश्य राखेर मानिसको गरिबी र पीडालाई अतिरञ्जित गर्नु ।

विकिपेडियाले दिने एकसरो जानकारीअनुसार यो शब्दावली सम्भवतः प्रथम पटक सन् २००० मा ‘निड डू नो’ ई–पत्रिकामा ‘एन्जिलाज एसेज’ नामक फिल्मको समीक्षामा प्रयोग गरिएको थियो । त्यसमा फिल्मलाई चित्रित गरिबीलाई ‘पन्डरस भोमिट–प्याक्ड पोभर्टी पर्न’ भनिएको रहेछ । 

किन आँसुको मात्रै व्यापार गर्छौै, किन दुःखको कथा मात्रै सुनाउँछौ रु भनेर सोध्नेहरूले जान्नुपर्छ, पत्रकारिताको पहिलो कखरा ‘पत्रकारिता समाजको ऐना हो ।’ कम्तीमा थाहा पाउनुपर्छ, ‘हाम्रो समाज कुन बाटो भएर कहाँ आइपुग्यो ? ’ हामीले संघर्ष वा क्रान्तिको लागि उद्वेलित हुने समय पार गरिसक्यौं ।

हामी ‘हामीले दुःखहरू यसरी ढाल्यौं’ भनेर सफलताको कथा सुनाउने चरणमा पुगेका छैनौं । जसरी चिनियाँहरूले सुनाइरहेका छन् । हामी हाम्रा विद्यमान दुःखहरू दुनियाँलाई सुनाउने समयमै छौं । ताकि, ती दुःखका कथाहरू सुनेर राज्यले नीति बनाओस्, पहलकदमी लेओस् । 

अर्को कुरा नेपाल जीवनस्तर सर्वेक्षण चौंथो २०७९/२०८० ले भन्छ, ‘२०.२७ प्रतिशत नेपाली गरिबीको रेखामुनि छन् ।’ २०.२७ प्रतिशत नेपालको कुल जनसंख्यामध्ये ५९ लाख ६० हजार जनसंख्या गरिबीको रेखामुनि छ । नेपालका ठुला पत्रिका, म्यागेजिन, टिभी र अनलाइनहरूले दुःखमा रुनु नपर्ने ती अरुका रुचि, अभिरुचि, दैनिकी, आकारप्रकार अनेकन देखाइरहेकै छन् । तिनका हेरूँ हेरूँ लाग्ने तस्बिर पनि छापिरहेकै छन् । बाँकी २०.२७ प्रतिशत नेपालीको कथा आँसुको नै हो । के  ५९ लाख ६० हजारको कथा चाहिं नभन्ने ? राज्यलाई नसुनाउने हो ? 

सर्वाधिक आँसुको कथा लेख्ने एक जना साहित्यकार छन् । धेरैले उनलाई आँसु बिक्री गरेको आरोपपछि उनले स्पष्टीकरण दिएका छन्, ‘मेरा अधिकांश किताबहरू यस्तै पीडा र समस्यामा केन्द्रित छन् । ती बिकिरहेका पनि छ्न् । यस्तो लेख्दा बिक्दो रहेछ भनेर मैले छानीछानी त्यस्तै विषयमा कलम चलाएको पनि होइन ।

समाजमा ती कुरा यति भरिभण्ड छन् कि तिनलाई नलेखेर म कुन रोमान्स लेखूँ  ?  आँसु बेच्दा बिक्ने भए मानिसले बाल्टीमै थापेर बेच्थे होला । साहित्यले आँसु बेचेको होइन, लेखेको हो ।’ हो, विद्याले पनि आँसु बेचेको होइन, कथा देखाइदिएको हो । 

उनै आलोचकहरूले सँगै विद्या चापागाईलाई सोेधेका छन्, ‘प्रकाशको नागरिकता नबनाइदिने प्रशासकलाई किन प्रश्न नगरेको । पत्रकारिता प्रश्न नगरी सर्वप्रियताको बाटोमा हिडेको हो ? ’ यसको मतलब प्रकाशलाई नागरिकता दिलाउन विद्याले नै भोजपुरका प्रशासकलाई ‘रवि लामिछाने’ स्टाइलले हप्कीदप्की वा नाराजुलुस गरिदिनुपर्ने थियो । नदिए कार्यालयमा गएर ती प्रशासकको कक्षामा क्यामेरा बजार्नु पर्ने थियो । चिन्तक नोम चोम्स्की भन्छन्, ‘मिडियाको काम सहमति निर्माण गर्ने होइन, (जुन आधुनिक मिडियाले गरिरहेको छ) , मिडियाको भूमिका तथ्यमा आधारित समाचार प्रचारप्रसार गर्नु हो ।’ पत्रकारले तथ्य देखाइदिएपछि प्रशासकविरुद्ध नाराजुलुस वा हप्कीदप्की अरूले गरिदिन्छन् । 

यहाँनिर तर्क नै गर्ने हो भने यसो पनि भन्न सकिएला, ‘विद्या चापागाईले २०।२७ प्रतिशतमा पर्ने नेपालीको आँसुको कथा भनिन् । तिमीहरू हर्क बढाइँ वा सफलताको कथा दुनियाँलाई सुनाइदेऊ न त ।’ विलियम शेक्सपियरले उहिल्यै यसो भनी गएका छन्, ‘अरूको निन्दा वा चियोचर्चा गर्दै हिँड्ने मानिसले विना काममा आफ्नो शक्ति खेर फालिरहेको हुन्छ । जीवनमा केही गर्नुछ भने, केही गरेर देखाउनु छ भने अरूले के गरे र के भने भन्नेतिर नभई आफूले के गरिएको छ र के भनिएको छ भन्नेतिर ध्यान दिनुपर्ने हुन्छ । होइन भने जीवन व्यर्थ बितिरहेको हुन्छ ।’ एक जनाले लामो आलेखमार्फत भनेका रहेछन्, ‘विद्या चापागाईले प्रकाशलाई रुवाउने मात्रै होइन, उनीजस्ता कति मान्छे बेपत्ता छन्, त्यो लेखिदिनुर्छ ।’ 

यस्ता प्रश्न अनगिन्ती छन् । विद्या र ‘हेर्ने कथा’माथि धेरै भत्सर्नाहरूको केही प्रतिनिधि प्रश्न मात्रै यहाँ राखेको हुँ । अब यहाँनिर सोध्न सक्छौं, ‘आलोचनात्मक चेतको नाममा हामीले समाजलाई घृणा र निराशातिर किन लगिरहेका छौं ?’

प्रधानमन्त्रीले प्रकाशको आँसुमा भावुक हुन कसलाई सोध्नु पर्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रकाश 

प्रकाशको कथा हेरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले लेखे,  ‘हेर्ने कथाको पछिल्लो एपिसोड ‘हराएका वर्षहरू’ हेरेँ ।  प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो । सोचें – यस्ता कति प्रकाशहरू वर्षौंदेखि हराएका होलान् । एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु ।’

प्रकाशको पहिलो आवश्यकता थियो, ‘नागरिकता ।’ लगत्तै बेलुकी प्रधानमन्त्रीले तत्कालिन गृहसचिव, हालका मुख्यसचिव एकनारायण अर्याललाई छिटो नागरिकता दिलाउन सहजीकरण गर्न निर्देशन दिए । 

त्यसै लगत्तै प्रधानमन्त्रीमाथि आक्रोश सुरु भयो । कसैले सोधे, ‘प्रकाशले प्रधानमन्त्रीको निर्देशन वा निगाहबिना नागरिकता बनाउन गएका भए पाउँथे कि पाउँथेनन् होला ?’ कसैले निचोड सुनाए, ‘यो प्रधानमन्त्रीको चटकी रबैया हो ।’ बुद्धिविलास गर्नेहरूले लामा लेखमार्फत चार चौका कसेर प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘हामी कहाँ हजारौं प्रकाशहरू हराइरहेका छन् । जाबो एउटा प्रकाशको आँसुमा भावुक हुने ?’ 

कलाकार लियोनार्दो दा भिन्ची भन्छन्, ‘आँसु मुटुबाट आउँछ, मस्तिष्कबाट होइन ।’ प्रकाशको भिडियो हेर्दा–हेर्दै प्रधानमन्त्रीले प्रकाश जस्ता अरु कति छन् भनेर तुरुन्तै खोज्नु पर्ने हो ? एउटा प्रकाशको प्रतिनिधि कथा नै हजारौं प्रकाशहरूको कथा होइन र ?

यहाँनिर प्रकाशको लागि पहिलो आबश्यकता नागरिकता थियो । जन्मदर्ता, बसाईसराई लगायतका कानुनी झन्झट यसअघि नबनेको त सत्य हो नि । होला, कथा आएपछिप्रधानमन्त्रीले निर्देशन नदिएको भए पनि बिस्तारै बन्ने थियो होला । तर त्यति छिटो बिलकुल बन्ने थिएन । प्रकाशको कथा आएपछि उनलाई सहयोग गर्छु भन्नेहरू धेरै थिए । तर उनको नागरिकता नभएपछि बैंक खाता बन्दैन थियो । जग्गा पास हुँदैन थियो । फेरि सहयोग गर्नेहरूको ध्यान त्यतिबेला मात्रै तानिन्छ, जतिबेलासम्म प्रकाशको आँसुको कथाले तानिरहेको हुन्छ । पछि त सबै कुरा बिस्तारै विस्मृतिमा गइजान्छन् । त्यही भएर पनि प्रकाशलाई छिटो नागरिकता चाहिएको थियो । प्रधानमन्त्री पहल गरिदिए बिग्रियो के ?

अर्को प्रश्न छ, प्रधानमन्त्रीले एउटा प्रकाशको लागि होइन साराको लागि नीति बनाउने पो हो त । अमेरिकाका ३२ औं राष्ट्रपति फ्य्रांकलिन डी रुजबेल्ट त्यतिबेला राष्ट्रपति थिए, जतिबेला आर्थिक मन्दीले संसार थलिएको थियो । इतिहासकै त्रासदीपूर्ण मन्दी भइरहेको बेला आफ्ना सल्लाहकार ह्यारी हप्किन्सलाई रुजबेल्टले भने, ‘दीर्घकालिन योजना बनाउनू ।’ हप्किन्सले जबाफ दिए, ‘राष्ट्रपतिज्यू, अहिले जनतालाई हरेक बिहान–बेलुका खानेकुरा चाहिएको छ, दीर्घकालीन योजना होइन । जनताको बिहान–बेलुकाको चारोको व्यवस्थापनपछि दीर्घकालका लागि सोच्नुपर्छ ।’

हो, प्रकाशहरूले सार्वभौम आफ्नो अधिकार उपभोग गर्न कहाँ कहाँबाट अबरोध भयो ? त्यसको खोजी गरेर नीतिगत सम्बोधन गर्नुपर्छ । तर प्रकाशहरूलाई अहिले बिहान–बेलुकीको आवश्यकता छ । त्यसको लागि पहल गर्दा कसरी भयो चटकी रबैया ?

हो, प्रकाशहरूले सार्वभौम आफ्नो अधिकार उपभोग गर्न कहाँ कहाँबाट अबरोध भयो ? त्यसको खोजी गरेर नीतिगत सम्बोधन गर्नुपर्छ । तर प्रकाशहरूलाई अहिले बिहान–बेलुकीको आवश्यकता छ । त्यसको लागि पहल गर्दा कसरी भयो चटकी रबैया ?

अर्को तर्क छ, ‘मैले गृहसचिवलाई निर्देशन दिएँ भनेर प्रधानमन्त्रीले किन प्रचार गरेको हो ?’ यहाँनिर प्रधानमन्त्री भनेको देशको सबैभन्दा अगुवा पनि हो । प्रधानमन्त्री वा समाजको अगुवाहरूले नीतिगत सुधार मात्रै होइन, सन्देश पनि प्रवाह गर्नुपर्छ । एक प्रकाशमार्फत हजारौं प्रकाशलाई राज्य छ है भन्ने सन्देश पनि हो । प्रधानमन्त्रीको यो सन्देशले अरु प्रकाशहरूले पनि हाम्रो पनि कथा प्रधानमन्त्रीले सुन्ने रहेछन् भनेर सुनाउन उत्साहित हुन्छन् होइन र ? हो, सुनेनन् भने त्यही बेला ठाउँको ठाउँ प्रधानमन्त्रीलाई प्रश्न गरौं । 

विश्लेषक सीके लालको भनाई यहाँ उपयुक्त हुन्छ । लाल लेख्छन्, ‘राज्यले आफनो नागरिकलाई भन्नुपर्छ, म तिम्रो सुरक्षाको प्रत्याभूति दिन्छु । म तिम्रो पहिचानको ग्यारेन्टी लिन्छु । देशभित्र तिम्रो पहिचान गराउन म तिमीलाई नागरिकता दिन्छु, विदेश जाँदा तिमी को हौ भनेर चिनाउन पासपोर्ट दिन्छु ।’

तात्कालिन गृह सचिव (हाल मुख्यसचिव) नागरिकताको लागि सहजीकरण गर्न निर्देशन दिदै प्रधानमन्त्री

उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सडकमा निस्केर कुचो लगाउछन् । त्यो उनले सफा गर्नकै लागि कुचो लगाएका होइनन् । अरुहरूलाई सफा गराउनका लागि सन्देश प्रवाह गरेका हुन् । माथि चिनियाँ राष्ट्रपति सी जिन्पिङले गैतीबेल्चा उचाल्छन् । पहरा फोर्नलाई सीले गैतीबेल्चा उचालेका होइनन् । निर्माणको सन्देश प्रवाह गर्नलाई गरेका होइनन् र ? अनि हाम्रो प्रधानमन्त्रीले चाहिँ सन्देश प्रवाह गर्न नहुने ?

होला, प्रधानमन्त्री एउटा पार्टीको अध्यक्ष । वैचारिक भिन्नता होला । फ्रान्सेली दार्शनिक मिसेल फुको भन्छन् ‘मानव शरीर हाड, छाला, मासी र मासुको पिण्डभन्दा पर एक राजनीतिक क्षेत्र हो ।’ तर राष्ट्रप्रमुखका रूपमा गरेका राम्रो प्रयासलाई एक खेप धन्यवाद दिँदा के बिग्रन्छ ? कि प्रश्नका नाममा, आलोचनात्मक दृष्टिकोणका नाममा, सधैं सधैं उत्तजेना र घृणा बाँडिरहने ? निराशाको कुरा गरिरहने ? हामी यति धेरै कृतघ्न किन भइरहेका छौं ?

‘पिप्ली लाइभ’ र पत्रकारको आँसु 

आफ्नै घरमा नागरिकता लिदै प्रकाश

प्रकाशलाई प्रधानमन्त्री, भोजपुरका नेता र युवाहरूले सहयोग गरिरहँदा अर्को सर्वाधिक लगाएको आरोप थियो, ‘प्रकाशमाथि पिप्ली लाइभ ।’ ‘पिप्ली लाइभ’ आमिर खानद्वारा निर्मित र अनुषा रिजवीद्वारा निर्देशित फिल्म हो । भारतीय किसानको बेहाल, त्यसमाथिको राजनीति र मिडियाको अतिरञ्जनाको कथा हो, ‘पिप्ली लाइभ ।’

आफ्नो जिल्लाको एकजना नागरिकको कथाले दुनियाँ रुवायो । त्यसपछि भोजपुरका नेता पूर्व मुख्यमन्त्री शेरधन राईले एक लाख सहयोग दिए । प्रकाशकै माग बमोजिम एउटा खेत जोत्ने ट्याक्टर, एक हल गोरु र गरीखाने जग्गा दिने घोषणा गरे । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईले जग्गा दिए । त्यही जग्गामा भोजपुरबाट निर्वाचन प्रतिनिधिसभा सदस्य सुदन किरातीले घर बनाइदिने योजना सहित शिलान्यास गरे ।

संखुवासभाको तुम्लीङ्गटारबाट काठमाडौं आउने बेला जहाजमै एकोहोरो खोकेर बेहोस होलान् जस्ता भएपछि नेपाल प्रहरी अस्पतालमा लगेर उपचार गरायौं । त्यहाँ भोजपुरकै डिआइजी डा.सञ्जय बिक्रम श्रेष्ठले प्रकाशले आफैले सबै समन्वय गरेर सबै चेकजाच गरीदिए । त्यसपछि प्रधानमन्त्रीसँग भेट गर्न गयौं । यिनै दृश्यहरूलाई लिएर गरिएको टिप्पणी हो, ‘पिप्ली लाइभ ।’

‘पिप्ली लाइभ’ को अर्थ उनीहरूले बढी बुझेका हुन् वा हामीले नबझुेका ? आफ्नो जिल्लाका नागरिकका कथाले रुवाएपछि पूर्वमुख्यमन्त्रीले जग्गा दिन्छु भन्दा वा संसदले घर बनाइदिन्छु भन्दा कसरी भयो ‘पिप्ली लाइभ’ ? वा मैले उसको छिमेकी गाउँको हिसाबले गोरखादेखि काठमाडौं ल्याएर नागरिकता दिलाउन भोजपुरसम्म पुग्दा वा नागरिकता प्राप्तीपछि बैंक खाता खोल्दा, काठमाडौं ल्याएर उपचार गर्दा वा प्रधानमन्त्रीलाई भेटाउँदा कसरी भयो ‘पिप्ली लाइभ’ ? यदि यो ‘पिप्ली लाइभ’ नै हो भने तपाईहरू पनि यसप्रकारको ‘पिप्ली लाइभ’मा सहभागी बन्नुहोस् । समाजलाई हित नै गर्ला । 

पत्रकारका पनि पेसाबाहेक निजी सुखदुःख र अभिरुचि हुन्छन् । के पत्रकार त्यस्ता मानिस हुन्, जसको आँसु आउँदैन, भावुक हुने अघिकार छैन । पत्रकारका छरछिमेक हुँदैनन् ? भोजपुरकै छिमेकी दाइलाई सहयोग गर्न पत्रकारको काम, कतव्र्य र अधिकार पढिरहनुपर्छ र ? 

 

हामी यो अभियानमा भोजपुरे पत्रकार साथी श्यामकृष्ण दाहाल, राजेन्द्र श्रेष्ठ, सरसस्वती तामाङ, प्रबिन कुलुङ राई, नबिन राई, प्रबिन कोयु, बैंकर सम्भु राई लगायत थियौं । धेरै पत्रकार साथीहरूले नै सामाजिक सञ्जालभरि पत्रकारको काम, कर्तव्य र अधिकार सम्झाएर उपदेश दिए, ‘तिमीहरूको काम अभियन्ता बन्ने होइन, समाचार लेख्ने हो । विद्या चापागाईंले ल्याएको पात्र बोकेर दौडिने होइन ।’

पत्रकारका पनि पेसाबाहेक निजी सुखदुःख र अभिरुचि हुन्छन् । के पत्रकार त्यस्ता मानिस हुन्, जसको आँसु आउँदैन, भावुक हुने अघिकार छैन । पत्रकारका छरछिमेक हुँदैनन् ? भोजपुरकै छिमेकी दाइलाई सहयोग गर्न पत्रकारको काम, कर्तव्य  र अधिकार पढिरहनुपर्छ र ? 

युट्युबर साथीहरू, अब प्रकाशलाई गरिखान दिनुहोस्

प्रकाशलाई छेकम्पारबाट काठमाडौं ल्याएर भोजपुर लैजाने र फेरि काठमाडौं ल्याउने क्रममा अत्यधिक सास्ती भएको अर्को विषय हो, युट्युबर साथीहरूसँगको लुकामारी । हामी चाहन्थ्यौं, प्रकाश दाइसँग युट्युबरहरूको भेट नहोस् । किनभने प्रकाश दाइको जति कथा आउनु थियो, हेर्न कथामा आइसकेको थियो । अनि हामीले प्रकाश दाइको तर्फबाट लेखीदिएका थियौं, ‘मेरो कथा विद्या दिदिलाई भनीसकेँ । अब भन्नु केही छैन । नभेटौं । कुरा नगरौं । जे भन्नुछ मैले ‘हेर्ने कथा’ लाई भनीसकेँ । पछि कुनै कथा भए कुरा गरौंला ।’

काठमाडौं एयरपोर्टमा छापामार शैलीमा छक्काएर हामी तुम्लीङ्गटार लाग्यौं । हामीलाई लागेको थियो, ठुलै युद्ध जितियो । तर बेलुकी भोजपुर छाप्लेगाउँतिर एक हुल साथीहरू पुगीसकेका रहेछन् । ठिक अघिल्लो दिन नागरिकता पाएपछि राष्ट्रिय वाणिज्य बैंक तुम्लिङ्गटारमा खाता खोल्न पुगेका थियौं ।

एक हुल  युट्युबर साथीहरू फेरि आइपुग्नुभयो । विना ‘हाइ हेल्लो’ बैंकभित्र छिरेर दृश्य लिन सुरु गरि हाले । हामीसँग प्रकाश दाइका भतिज सुदिप तामाङ थिए । युट्युबर साथीहरूको हुल छिरेपछि म ज्यान जोगाएर निस्केँ । पछि भतिजले भन्दै थिए, ‘अंकल, काकालाई कपडा किन्न गएको उतै पनि खिच्न थालेपछि मैले त भगाएर बाइकमा ल्याएर आएँ ।’ भतिजले गल्लीको बाटो भगाएर हामी बसेको होटलमा ल्याएर आएछन् । 

तुम्लीङ्गटारबाट बिहान उडान थियो, काठमाडौं । काठमाडौंमा एपरपोर्टमा यतिधेरै युट्युबर साथीहरू भेला भएका रहेछन् कि प्रकाश दाइको भतिजको मोबाइल तातिने गरी फोन आयो । अनि भतिजले पनि आइडिया फुराए । काकासँगको तस्बिर राखेर फेसबुकमा लेखे, ‘काकासँग आज बिराटनगर हुदैं काठमाडौंतिर लागियो ।’ विराटनगरबाट काठमाडौं जाने भनेपछि ढिलो हुने भयो भनेर काठमाडौं एयरपोर्टका युट्युबर साथीहरू तितरबितर भएछन् । तर केही युट्युबर साथीहरू एयरलाइन्समा सोधेर कुरेर बसेका रहेछन् । काठमाडौं आएपछि घेरा हालिहाले । त्यसपछि लुकामारीको कुरै नगरौं । 

एकातिर लुकामारी, अर्कातिर केही युट्युबर साथीहरूले प्रकाशको नयाँ घर बनेको, करोडौं उठेको, जग्गा प्राप्ती भएको कथा हालिसकेछन् । भिडियोमा घरको तस्बिरसहित भनेका थिए, ‘लौ हेर्नुहोस्, प्रकाशको करोडौंको घर, जग्गा ।’ प्रकाशलाई जो सहयोग गर्न चाहन्थे, उनीहरूका लागि पनि भ्रम पर्ने गरी काल्पनिक घरको तस्बिर हालिदिए । यसले धेरैलाई लाग्यो, ‘प्रकाश करोडपति भइसकेछन्, अब किन चाहियो सहयोग ?’

कार्ल मार्क्सले उहिल्यै भनिगएका छन्, ‘मान्छेले आफ्नो भाग्य आफैं बनाउँछ, तर पहिले नै बनिसकेको परिस्थितिमा टेकेर बनाउँछ ।’ हो, हामी जहाँ आइपुगेका छौं, जहाँ छौं, अर्थात् पहिले नै बनिसकेको परिस्थितिमा टेकेर बनाउने हो । नेतृत्व पनि उही हो । फिल्ममा जस्तो यहाँ केही एकाएक आएर बनाउने छैनन् ।

युट्युबर साथीहरूको सक्रियताको कुरो माथिको चित्रले बताइहाल्यो । अहिले पनि भोजपुर घरमै पुग्ने क्रम रोकिएको छैन । अब यति भनौं, युट्युबर साथीहरू, प्रकाशलाई गरिखान दिनुहोस् ।’ त्यति टाढा गएर प्रकाश दाइको समय लिनु भन्दा नयाँ प्रकाशहरू खोज्नुहोस् । 

निराशा र घृणाको डढेलो
प्रकाश दाइलाई पछ्याइरहँदा मलाई यस्तो लाग्यो, ‘समाजमा निराशा, घृणा र उत्तेजनाको आगो फैलिरहेको छ ।’ अलोचनात्मक चेतका नाममा हामी यति कृतघ्न भइसक्यौं कि हामी धन्यवाद कसैलाई पनि भन्न सक्दैनौं । यस्तो गुञ्जन छ, मानौं, यहाँ सबै–सबै खराब छन् । राज्यले जे गरिरहेको छ, त्यो सबै चटक हो, प्रहसन हो ।

हाम्रा नेताहरूले गरेका सहयोग सहयोग नभएर ‘पिप्ली लाइभ’ हो । नकरात्मकताको महामारी यस्तरी फैलिरहेको छ, त्यसले चेतना होइन, समाजमालाई डिप्रेसनतिर लगिरहेको छ । महामारी छ, निराशा र नकरात्मकताको भाष्यको । मानौं, यहाँ चटक र प्रहसनबाहेक केही भएकै छैन । 

लेखक हरि शर्मा भन्छन्, ‘देश एक दिन कोही एक जना ‘हिरो’ जन्मिएर सुधार्न सक्ने वा अर्के एक जना ‘भिलेन’ले ध्वस्त पार्न सक्ने ‘इन्टिटी’ (इकाई) होइन ।’ रुसी लेखक लियो टोल्सटोय आफ्नो कथा ‘द इम्पेरर्स थ्री क्वेस्चन्स’ मा भन्छन्, ‘वर्तमान नै सबभन्दा महत्वपूर्ण समय हो । साथै, सबभन्दा महत्वपूर्ण व्यक्ति भनेको आफूसँग तत्काल सँगै रहेको व्यक्ति नै हो ।’ 

हामीले जति विरोध वा भत्सर्ना  गरे पनि वर्तमान हाम्रो नेतृत्व हो । अब कुनै मिथकीय पात्र अकाशबाट झर्ने छैन, पातालबाट उम्रिने छैन । टोल्सटोयले भनेजस्तै वर्तमान नै सबभन्दा महत्वपूर्ण समय हो । सबभन्दा महत्वपूर्ण व्यक्ति हामीसँग रहेका यिनै नेतृत्व हो । उनीहरूविरुद्ध घृणा फैलाएर हुन्छ के ? प्रश्न गर्नुपर्छ । यिनले सबै चटक गरिरहेका छन्, प्रहसन गरिरहेका छन् भन्ने घृणा लेखेर समाजका लागि के योगदान हुन्छ ?

कार्ल मार्क्सले उहिल्यै भनिगएका छन्, ‘मान्छेले आफ्नो भाग्य आफैं बनाउँछ, तर पहिले नै बनिसकेको परिस्थितिमा टेकेर बनाउँछ ।’ हो, हामी जहाँ आइपुगेका छौं, जहाँ छौं, अर्थात् पहिले नै बनिसकेको परिस्थितिमा टेकेर बनाउने हो । नेतृत्व पनि उही हो । फिल्ममा जस्तो यहाँ केही एकाएक आएर बनाउने छैनन् । प्रश्न गरौं, तर घृणा नफैलाऔं । चारसुर कसेर आलोचना गरौं, उत्तेजना नफैलाऔं । प्रकाशको आँसुमा भावुक हुने प्राधिकारमाथि प्रश्न गरेर बौद्धिकता पनि प्रर्दशन गरौं । असहिष्णुताको आँधीवेहरी र निराशाको व्यापारले सुन्दर समाज पनि निर्माण हुदैन ।  देश त आखिर तपाईं–हाम्रै होइन र ?

लेखक चिनारी

राजेश राई
राई नयाँ पेजका प्रधान सम्पादक हुन् । लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७