भूउपयोग नियमावली स्वीकृत, यी हुन् मन्त्रिपरिषदका १० निर्णय (सूचीसहित)
काठमाडौं । सरकारले भूउपयोग (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आगामी असोज २१ गते थाइल्याण्डमा आयोजना हुने सामाजिक संरक्षणसम्बन्धी बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठलाई स्वीकृति दिने निर्णय गरेको बताए ।
मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालय र मातहत कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण सर्वे (ओएनएम) स्वीकृत गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए । राष्ट्रिय युवा परिषद्मा १५ र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिमा ४ राजपत्रांकित पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय बैठकले गरेको उनले बताए ।
बैठकले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धी (सीआरडीपी) कार्यान्वयन सम्बन्धी राष्ट्रिय प्रतिवेदन स्वकिृत गरी यूएन सीआरडीपी समितिमा पेस गर्ने निर्णय पनि गरेको मन्त्री गुरुङले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ र खाद्यलाई १५/१५ हजार मेट्रिकटन चिनी आयात गर्दा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको उनले बताए । बैठकले कांग्रेस नेतृ चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूतमा सिफारिस गर्नेलगायत १० वटा निर्णय गरेको छ ।