‘शिक्षिका’ को निहुँमा नगर प्रमुख र वडाध्यक्षबीच ‘हानाहान’


२०८१ श्रावण २९ मंगलबार २०:४० बजे

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा एक शिक्षिकाको विषयलाई लिएर नगर प्रमुख र वडा अध्यक्षबीच ‘हानाहान’ भएको छ । आज (मंगलबार) जितपुरसिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र नगर प्रमुख राजन पौडेलबीच विवाद चर्किएर हात हालाहालको अवस्थामा पुगेको हो ।

विवादको जड भने सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी शिक्षिका सीता अधिकारीलाई नगर प्रमुख पौडेलले हाजिर गराउन खोज्दा भएको थियो । नगर प्रमुख पौडेलले शिक्षिका अधिकारीलाई हाजिर गराउने प्रयास गरेपछि विद्यालयमै वडा अध्यक्ष श्रेष्ठ र नगर प्रमुखबीच विवाद भएको थियो ।

नगर प्रमुख पौडेलले वडा नम्बर–२ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा कार्यरत शिक्षक मेघराज गिरीलाई वडा नम्बर–७ स्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा सरुवा गरे । यस्तै फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सीता अधिकारीको सरुवा गरी वडा–२ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा पठाए ।

नगर प्रमुख पौडेलले गरेको शिक्षक हेरफेरको निर्णयमा वडाध्यक्ष श्रेष्ठको चित्त बुझेन । उनले विरोध गरे । उनले आफूसँग सल्लाह समेत नगरी शिक्षक सरुवा गरेको भन्दै निर्णय नमान्ने बताएका थिए । विवादपछि नगर प्रमुख पौडेलले शिक्षिका अधिकारीलाई हाजिर नगराई फर्केका छन् । वडा नम्बर–१६ का अध्यक्ष हरिदेव खरेलले घटनाको पुष्टि गरेका छन् । नगर प्रमुख र वडा अध्यक्षबीचको उक्त विवादको दृश्य अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको छ । नगर प्रमुख पौडेलले जवरजस्ती हाजिर गराउन खोज्दा वडाध्यक्षसँग हात भएको बताइएको छ । झडपको अवस्था सिर्जना भएपछि ईलाका प्रहरी कार्यालयबाट डिएसपी चिरन्जीवि पौडेल त्यहाँ पुगे । सुरक्षाकर्मी कडा रुपमा प्रस्तुत भएपछि अप्रिय घटना घटेन सकेन ।

नगर प्रमुख र वडाध्यक्ष दुबैले आफ्ना समर्थक लिएर विद्यालयमा पुगेका थिए । स्थानीयका अनुसार प्रहरी समयमा नपुगेको भए विद्यालय रणमैदान बन्ने थियो । विद्यालयमा गएरै लफडा गरेको विषयमा नगर प्रमुख पौडेलसँग सम्पर्क गर्दा हुन सकेन । वडाध्यक्ष श्रेष्ठले आफ्नो वडाको विद्यालयमा सरुवा भएको आएको ६ महिना नवित्दै शिक्षक मेघराज बराललाई वडा ७ को विद्यालयमा पठाएपछि विवाद भएको बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७