एकपछि अर्को काण्डमा मुछिएका एआइजी ज्ञवालीमाथि छानबिन
काठमाडौं : एकपछि अर्को विवादमा मुछिएका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीविरूद्ध प्रहरी प्रधान कार्यालयले छानबिन गर्न समिति गठन गरेको छ । एआइजी ज्ञवालीमाथि छानविनका लागि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।
ज्ञवालीमाथि विभिन्न बैंकका कर्जा काण्ड मिलाउने, एलओडी डिस्कोको नावालिका करणी, बालमन्दिरको जग्गा घोटाला, सेन्चुरी बैंकको ठगीलगायत विभिन्न प्रकरणमा लेनदेन गरेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको छ ।
राईको संयोजकत्वमा गठित पाँच सदस्यीय टोलीमा हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागका एसएसपी नवीन राई,उजुरी छानबिनका एसपी प्रकाश मल्ल,कानुन हेर्ने डिएसपी रुकबहादुर खड्का र इन्जिनियर डिएसपी मुकेश तिवारी छन् । तिवारीलाई सम्भावित जिन्सी सामान घोटालाको आशंकामा छानबिनका लागि राखिएको स्रोतको दाबी छ । प्रहरीमा सिभिल र कम्प्युटर गरेर दुईथरि इञ्जिनियर हुन्छन् ।
एकपछि अर्को विवाद
सुन तस्करी प्रकरणमा फरार रहेका जीवन चलाउने पनि एआइजी ज्ञवालीले २ करोड मागेको दाबी गर्दै आएका छन् । आईजीपी बन्नलाई आफूसँग ज्ञवालीले २ करोड मागेको र दिन नसकेपछि आफूमाथि साजिस रचिएको आरोप चलाउनेको छ । उनले गृहमन्त्री रवि लामिछाने र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि ज्ञवालीले नै यो साजिसमा खेलाएको आरोप लगाएका छन् ।
चलाउनले भनेका छन्, ‘श्याम ज्ञवालीले चाहिँ आईजीपी बढुवा भन्दा अगाडि मसँग आईजीपी बन्नका लागि २र३ करोड पैसा चाहियो भनेको थियो । पैसा माग्न उसकै घरमा बोलाएको थियो,म उसको घरमा पनि गएको थिएँ । त्यो त मेरो कल डिटेल हेर्दा पनि हुन्छ । ऊसँग मेरो धेरै कुरा पनि भएको छ । त्यसपछि मैले मसँग पैसा छैन दाइ भनेपछि उसले मसँग व्यक्तिगत रिस पहिला पनि राखेको थियो । पहिला पनि मलाई फसाउन खोजेको थियो । पछि उनले डबल गेम खेलेछन् । यता मलाई भाग् नत्र तँलाई फसाउन ठूलो गिरोह लागेको छ, माओवादीले तँलाई फसाउँदैछ भनेर मेरो साथीमार्फत कुरा गरेर मलाई भाग् भने । उता चाहिँ सीआईबीले जीवन चलाउनेलाई भगायो भनेर रवि दाइलगायतका टीमलाई उचालेर सीआईबीबाट पैसा खाएर जीवनलाई भगाइयो भन्ने प्रोपोगाण्डा गरियो ।’
नागरिकता र शैक्षिक प्रमाणपत्रमा पनि विवाद
ज्ञवाली नागरिकता विवादमा पनि मुछिएका छन् । प्रहरी सेवामा प्रवेश गर्दा २५ वर्ष नाघिसकेको उनकै नागरिकताबाट खुलेको थियो । उनले जिल्ला प्रशासन कार्यालय प्युठानबाट उनले २०४१ साल चैत २१ गते नागरिकता लिएका थिए । जहाँ नागरिकतामा १७ वर्ष उमेर लेखिएको छ । त्यस अनुसार उनको जन्म २०२४ भएको रेकर्ड छ । २०५० सालमा उनले प्रहरी निरीक्षक (इन्सपेक्टर)का लागि आवेदन दिएका थिए ।
२०५० सालमा उनी २६ वर्ष लागिसकेकाले उनी भर्नाकै लागि अयोग्य भएको उनकै विवरणबाट पुष्टि हुन्छ । २०५० साल मंसिर १३ गते प्रहरी निरीक्षकका लागि गोरखापत्रमा सूचना प्रकाशित भएको थियो । सो सूचनामा छनोट हुने सालको वैशाख १ गते २१ वर्ष उमेर पुगेको २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।
सूचनाअनुसार २०५० साल वैशाख १ गते २५ वर्ष पूरा भइसकेकाले प्रहरी निरीक्षकका लागि आवेदन नै दिन पाउँदैनन् । उनको नागरिकतामा २०२४ सालको जन्ममिति देखिन्छ भने शैक्षिक कागजातमा २०२५ साल भदौं २६ गते जन्म मिति उल्लेख गरिएको छ ।
प्रहरी अभिलेखमा ज्ञवालीको जन्ममिति २०२५ साल भदौं २६ गते लेखिएको छ । तर उनको नागरिकता २०२४ साल चैत २१ मा लिएको देखिन्छ । उनको नागरिकता र शैक्षिक प्रमाणपत्रको जन्ममिति फरक–फरक छ । यो दुईबीचमा ५ महिनाको फरक देखिन्छ । ज्ञवालीले उनका दाजु ठाकुरप्रसाद ज्ञवाली ४ महिना २४ दिन नेपाल प्रहरीको महानिरीक्षक हुँदा कर्मचारी प्रशासनका एसपी जनार्दन जीसीको सहयोेगमा नागरिकताको कपी गायब पारेको स्रोत बताउँछ ।
ठाकुरप्रसाद ज्ञवाली २०७६ माघ २८ देखि २०७७ असार २४ सम्म आइजीपी भएका थिए । सोही समयमा उनका सहोदर भाइ श्याम ज्ञवालीले कर्मचारी प्रशासन शाखाबाट आफ्नो अभिलेख गायब पार्न लगाएका थिए । त्यो समयमा प्रहरीको कर्मचारी प्रशासन शाखाको प्रमुख एसपी जनार्दन जीसी थिए ।
डीआईजी ज्ञवालीको नागरिकतामा जन्ममिति वि।सं २०२४ चैत्र २१ गते रहेकाले उनको डीआईजी बढुवा नै बदर हुने देखिन्छ । नेपाल प्रहरीको सिटरोलमा ज्ञवालीको जन्ममिति वि।सं २०२५ भदौ २६ गते छ ।
नक्कली शरणार्थी प्रकरणमा प्रोपोगान्डा
ज्ञवालीले नक्कली शरणार्थी प्रकरणको छानविनको नेतृत्व गरेका थिए । तर उनले यस प्रकरणमा छानविनको साटो बढी प्रचारबाजी गराएका थिए । नक्कली शरणार्थी प्रकरणमा ५८ औं दिन लामो अनुसन्धान सकेर प्रहरीले ८ जेठ २०८० मा सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदन सरकारी वकिलले खोल्न नपाउँदै सबैजसो सञ्चार माध्यमहरुले प्रतिवेदनका वयानका अंशहरु प्रकाशन गरिसकेको थियो । ती वयानका अंशहरु, जो एमालेसँग सम्बद्धहरु विरुद्ध दिइएको थियो । स्रोतहरुका अनुसार ज्ञवालीले नै योजनाबद्ध रुपमा छानीछानी प्रतिवेदनका अंश प्रचारका लागि वितरण गरेका थिए ।