चोरी र लुटपाट भएका सामान फिर्ता गर्न आग्रह
2025-09-08-13-17-52.jpg)
काठमाडौं । विभिन्न सरकारी निकायहरूले जेनजी आन्दोलनका क्रममा चोरी तथा लुटपाट भएका सामान फिर्ता गर्न अपिल गरेका छन् ।
ति निकायहरूले सामान फिर्ता नभए भिडिओ हेरेर आवश्यक कानुनी कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।
सहरी विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण विभागले जेनजी आन्दोलनका क्रममा लुटपाट भएका सामान फिर्ता गर्न अनुरोध गरेको छ।
जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते बबरमहलस्थित भवन निर्माण विभागमा व्यापक लुटपाट भएको थियो।
भदौ २४ गते आन्दोलन तथा तोडफोडको क्रममा यस विभाग र परिसरमा रहेका सवारी साधन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टीभी, कुर्सी लगायतका सामग्रीहरू तथा कर्मचारीका निजी सवारी साधनसमेत विभाग परिसरबाट लुटपाटरचोरी भएको विभागले जनाएको छ।
‘ती सामानको विषयमा कुनै जानकारी भएमा फोन गरेर जानकारी दिन वा नजिकको सुरक्षा निकायमा जानकारी गराउन अनुरोध छ,’ सूचनामा भनिएको छ।
सामान फिर्ता गर्न अख्तियारको चेतावनी
अख्तियार दुरुपयोग आयोगले सूचना जारी गर्दै भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा चोरी भएका र हराएका जिन्सी सामान फिर्ता गर्न आग्रह गरेको छ।
आयोगले आज सूचना जारी गर्दै आयोगको इटहरी, पोखरी, हेटौँडा, बुटवल लगायतका कार्यालयहरूबाट आन्दोलनका क्रममा चोरी तथा लुटपाट भएको जानकारी दिएको हो।
तोडफोड, आगजनी र चोरी एवं लुटपाटबाट सवारी साधन, टीभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्डडिक्स, स्क्यानर, क्यामरा, आइप्याड, मोवाइल, ल्यापटप, हिटर, पंखा लगायतका सामानहरू लुटपाट एवं चोरी भएको आयोगले जनाएको छ।
अन्यथा कानुन बमोजिम भइजाने चेतावनीसमेत आयोगले दिएको छ।