नेपालमा के चाहन्छ चीन ?


२०८० असोज २६ शुक्रबार ०३:५० बजे

नेकपा एमालेका महासचिव शंकर पोखरेल तीन साताअघि चीन भ्रमणमा थिए । महासचिव पोखरेलको भ्रमणका लागि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले छानेको पहिलो गन्तव्य थियो, चीनको रणनीतिक प्राथमिकताको शहर छोङछिङ ।

उक्त शहरको नेतृत्व नेपाल मामिलाका जानकार चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन जियाजुनले गरिरहेका छन् । जियाजुनले महासचिव पोखरेलसँग भने, ‘अहिलेको नेपालको अवस्था ४० वर्षअघिको चीनको जस्तो पाएँ । नेपाली जनतामा आर्थिक समृद्धिको तीव्र चाहना रहेछ । चीनको आधुनिकीकरणको क्रममा हामीले प्राप्त गरेको अनुभव, ज्ञान, सीप र प्रविधि तपाईंहरूको लागि उपयोगी हुनसक्छ ।

जियाजुन चिनियाँ सेनाको अन्तरिक्ष इन्जिनियरको नेतृत्व गरेर राजनीतिमा आएका हुन् । उनले चिनियाँ टाइकोनट्सलाई अन्तरिक्षमा लैजाने बहुचर्चित शेन्झाउ अन्तरिक्ष यानको मुख्य डिजाइनरको काम गरेका थिए ।

२४ सदस्यीय सीपीसीको पोलिटब्यूरो सदस्यमध्येका जियाजुनले गत साउन ७ देखि ९ गतेसम्म नेपाल भ्रमण गरेका थिए । नेपालदेखि नजिक रहेको छोङछिङ शहरको पार्टी सचिव समेत रहेका जियाजुन नेपाल मामिलामा जानकार उच्च चिनियाँ नेता हुन् ।

उनै जियाजुन पार्टी प्रमुख रहेको छोङछिङ चीनको वित्तीय केन्द्र पनि हो । जहाँबाट यूरोपका २३१ शहरमा रेलबाट कार्गो जाने गरेको छ भने बेलायत, क्यानडा, नेदरल्यान्ड्स, जापान सहितका १२ वटा देशको महावाणिज्य दूतावास अवस्थित छ । चीनको केन्द्र शासित ४ ठूला नगर मध्येको एक छोङछिङ बहुचर्चित परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको केन्द्र हो, जहाँबाट चीनले दक्षिणएशियाको गरिबी निवारणका परियोजनाहरू सञ्चालन गर्दछ ।

चीनको केन्द्र शासित ४ ठूला नगरमध्येको एक यो शहरको जनसङ्ख्या नेपालको पूरै जनसङ्ख्या भन्दा बढी अर्थात् ३ करोड २० लाख छ । यही शहरमा महासचिव पोखरेलसँग १९ भदौमा संवाद गरेका जियाजुनले तीन सातापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९ असोज २०८० मा भेटवार्ता गरे ।

एमालेलाई चीनको सन्देश

एमाले महासचिव शंकर पोख्रेल छोङछिङमा चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन जियाजुनसँग भेटवार्ता गर्दै ।

पोलिटब्यूरो सदस्य जियाजुन आफूले शासन गरिरहेको शहरमा महासचिव पोखरेल नेतृत्वको टोलीलाई भव्य सम्मान दिए । सडक खाली गराएर स्कर्टिङ गराए । महासचिव पोखरेलसँगको दुई घण्टा लामो संवादमा खुलेर कुराकानी गरे ।

एक चीन नीतिप्रति एमाले सधैं दृढ रहेकोमा धन्यवाद दिएर कुराकानी सुरु गरेका जियाजुनले केवल औपचारिक संवाद मात्रै गरेनन् नेपाल र चीनबीचको सम्बन्ध, एमाले र सीपीसी बीचको बहुआयामिक सम्बन्ध बारे समीक्षा भयो । भविष्यमा सुदृढ सहकार्यको योजनाबद्ध प्रस्ताव समेत थियो । आफ्नै नातेदारहरू भेटे जस्तो लागेको अनुभूति भएको भन्दै दुई देश र दुई पार्टीबीच आपसी हित र सम्बन्धको विषयमा खुलेर कुरा गरे ।

छोङछिङसँग नेपालको भौगोलिक बनोटको समानता छ । ७८ प्रतिशत भू-भाग पहाडी क्षेत्र पर्छ । करिब चार दशक अघि मात्रै छोङछिङको गरिबीको अवस्था कहालीलाग्दो थियो । तर उसले आज न्यूयोर्कलाई बिर्साउने गरी ‘चामत्कारिक’ विकास गरेको छ ।

छोङछिङ यो चामत्कारिक विकासको नेतृत्व गरेका जियाजुनले नेपालको विकासमा चीनले गर्न सक्ने सहयोग र सम्भावनाको लामो सूची सुनाए । भने, ‘छोङछिङमा गाउँ र शहरबीचको असन्तुलन थियो । धनी र गरिबबीचको असन्तुलन थियो । हामीले गाउँ-शहर, धनी-गरिबबीचको असन्तुलन हटाएका छौं । छोङछिङको पश्चिमी भाग गरिब ठाउँ थियो । हामीले त्यस क्षेत्रमा गरिबी निवारणका लागि गरेको सफल अभ्यास नेपालको लागि उपयोगी हुनसक्छ ।’

उनको सुझाव थियो- ‘ठोस र दीर्घकालीन परियोजना बनाएर प्रस्ताव ल्याउनुहोस् हामी इमानदार सहयोगको लागि तयार छौं ।’ तर उनले यो पनि भन्न छुटाएनन् कि त्यसको लागि ‘बलियो स्थायी सरकारको जरूरी छ ।’

त्यसको लागि एमालेलाई शुभेच्छा र शुभकामना दिए । उनले सीपीसीका महासचिवमा तथा चिनियाँ राष्ट्रपति सी चीनफिङले नेपाल भ्रमणको क्रममा गरेका सहमति र सम्झौता कार्यान्वयनका लागि एमालेको अग्रसरतामा जोड दिए । गएको साउनमा नेपाल भ्रमणको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेट सम्झना गरे । उनले भने, ‘मैले उहाँलाई एक जना देशभक्त नेताको रूपमा पाएँ ।’

यसैगरी महासचिव पोखरेलसँग सीपीसी विदेश प्रमुख लिउ जियनचाओले २५ भदौमा बेइजिङमा लामै संवाद गरे । जियनचाओले पनि उसैगरी चीन-नेपाल र सीपीसी-एमालेबीचको सम्बन्ध, सहकार्यको बिषयमा खुलेर संवाद गरे । उनले संवादको क्रममा पटक-पटक प्रयोग गरेको एउटा शब्द थियो- ‘इमानदार सहयोग’ ।

बेइजिङमा सीपीसी विदेश प्रमुख लिउ जियन चाओसँगको भेटवार्ता गर्दै एमाले महासचिव पोखरेल

उनले भने, ‘हामी इमानदारिताको साथ नेपालको विकास र समृद्धिमा सहयोग गर्न चाहन्छौं । तर यसको लागि बलियो स्थायी सरकार जरूरी छ । त्यस दिशामा तपाईंहरू अघि बढिरहनुभएको छ भन्ने हाम्रो विश्वास छ ।’

नेपाल जस्तै भूपरिवेष्टित लाओसलाई चीनले ‘कनेक्टिभिटी’मा सहयोग गरेपछि आज लाओस समृद्धिको बाटोमा अघि बढेको पनि उनले सुनाए । उनको मतलब थियो, लाओसलाई जस्तै नेपाललाई पनि सहयोग गर्न चिनियाँ चाहना छ । उनले भने, ‘हामी नेपाललाई पनि इमानदारपूर्ण सहयोग गर्न चाहन्छौं । त्यसको लागि स्थायी र बलियो सरकार जरूरी छ । यसमा नेकपा एमाले सफल रहोस्, हाम्रो शुभेच्छा छ ।’

उनले एमालेसँग चीनको अपेक्षा पनि भन्न छुटाएनन् । उनले भने, ‘एमालेले नेपालको स्वाधीनता र स्वाभिमानको पक्षमा लिंदै आएको अडानको हामी प्रशंसक हौं । चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टी एमालेलाई चीनको पक्षमा उभिनुहोस् कहिल्यै भन्दैनौं त्यो हाम्रो चाहना कदापि होइन । तपाईंहरू आज जसरी नेपालको सार्वभौमिकता, स्वाधीनता र स्वाभिमानको पक्षमा उभिनुभएको छ । हाम्रो सुदृढ सम्बन्धको प्रमुख आधार र जग पनि यही हो ।’

दुवै नेताको उही भनाइ थियो, ‘आफ्नो आधुनिकीकरणको क्रममा प्राप्त गरेको अनुभव, ज्ञान, सीप र प्रविधिलाई चीन नेपालको विकासको लागि सहयोग गर्न चाहन्छ । नेपालको भूमि चीनविरुद्ध प्रयोग नहोस् भन्ने चाहना बाहेक हाम्रो अरू कुनै स्वार्थ छैन ।’ नेपाल आफ्नो स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ रहनु नै चीनसँगको सुदृढ सम्बन्धको आधार भएको उनीहरूको भनाइ थियो । तर आफ्नो सकारात्मक चासो विरुद्ध नेपाल बाहिर जान खोजेको त होइन ? यो आशंका र चिन्ता प्रकट गर्न पनि दुई नेताले छुटाएनन् ।

यही चिन्ता र चासो सहित उनीहरूको सन्देश थियो, ‘एमाले आˆनो राष्ट्रिय स्वाभिमानका पक्षमा दृढतापूर्वक उभिएकोमा हामी खुशी छौं । चीनसँगको सुदृढ सम्बन्धको आधार पनि यही हो ।’ राष्ट्रिय स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिने शक्तिको नेतृत्वमा नेपालमा बलियो सरकार निर्माण भए नेपालको आधुनिकीकरणमा ‘इमानदारिता’पूर्वक सहयोग गर्ने प्रतिबद्धता उनीहरूको छ । त्यसमा एमालेप्रति उनीहरूले आशाको नजरले हेरिरहेको कुरालाई बुझ्न अप्ठ्यारो थिएन ।

चिनियाँ नेताहरूले खुलेर आफ्नो चिन्ता र चासो मात्रै राखेनन्, महासचिव पोखरेललाई उच्च सम्मान दिएर एमालेसँगको सम्बन्धलाई कसिलो बनाउन खोजेको जनाउ दिए । छोङछिङमा सिंगापुर सरकार र स्थानीय सरकारले संयुक्त रूपमा आयोजना गरेको ‘स्मार्ट चाइना एक्पो-२०२३’ मा महासचिवलाई प्रमुख अतिथिको रूपमा उद्घाटन सत्रमा सहभागी गराए । छिङहाइ प्रान्तको सिनिङ शहरमा चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको ३० देशका उच्चस्तरीय प्रतिनिधिमण्डल उपस्थित अन्तर्राष्ट्रिय सेमिनारमा प्रमुख वक्ता बनाए ।

चीनलाई एमालेको सन्देश

छिङहाईमा प्रमुख वक्ताको रुपमा ३० देशका प्रतिनिधिमण्डलाई सम्बोधन गर्दै एमाले महासचिव

चीन भ्रमणको क्रममा एमाले महासचिव पोखरेलले चिनियाँहरूको कुरा मात्रै सुनेनन्, बडो शान्त शैलीमा शृङ्खलाबद्ध र स्पष्ट रूपमा एमालेको सन्देश सुनाए । केही अडान, केही प्रस्ताव र चाहना सुनाए । बेइजिङ (२५ भदौ २०८०) मा सीपीसी विदेश प्रमुख लिउ जियनचाओसँगको संवादमा महासचिव पोखरेलको पहिलो सन्देश थियो, ‘नेपालले जारी गरेको नक्सामा चीनले हामीलाई साथ देओस् ।’

महासचिव पोखरेलले बडो प्रष्टताका साथ भने, ‘४ मार्च १८१६ मा भएको सुगौली सन्धि अनुसार नेपाली जनताको सर्वोच्च थलो प्रतिनिधिसभाबाट नक्सा पास गरेर जारी गरेका छौं । यो नक्सा जारी भएपछि नेपाल र एमालेले अनेकन् अप्ठ्याराको सामना गर्नु परेको छ । हामी जारी नक्साको विषयमा नेपाल चिनियाँ सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको बलियो समर्थन र साथ चाहन्छौं ।’

सीपीसीका दुई नेता, चिनियाँ प्रोफेसर र सञ्चारमाध्यमहरूसँग पोखरेलको दोस्रो सन्देश थियो, ‘एक चीन नीतिमा हामी दृढ छौं । नेपालको भूमिबाट हुने सबै खालका चीन विरोधी गतिविधिलाई हामी दृढतापूर्वक अस्वीकार गर्छौं । हामी असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा दृढ छौं । हाम्रा अन्तर्राष्ट्रिय सम्बन्ध यही नीति र सिद्धान्तको आधारमा सुदृढ बनाउन चाहन्छौं ।’

उनले चीनका मुख्य शहरहरूबाट नेपालका नयाँ दुई अन्तर्राष्ट्रिय विमानस्थलहरू लुम्बिनी र पोखरा विमानस्थलमा सीधा हवाई उडानका लागि चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको साथ मागे ।

चीनलाई पोखरेलको तेस्रो सन्देश थियो- एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला चीन भ्रमणका क्रममा भएका सम्झौता र सहमतिहरू यसैगरी चिनियाँ राष्ट्रपति सी जिनपिङको दुईदिने राजकीय भ्रमणको क्रममा भएका सहमति र सम्झौताहरू कार्यान्वयन । उनले भने, ‘त्यसको लागि चीन सरकार र सीपीसीको पहलकदमी चाहन्छौं ।’

दक्षिणएशियाको गरिबी निवारण र विश्वलाई समाजवादी बाटोमा लैजान चीनले नेतृत्व गरोस् भन्ने आफ्नो चाहना सुनाउँदै एमाले महासचिव पोखरेलले भने, ‘चिनियाँ विशेषता सहितको समाजवादी व्यवस्था निर्माणको बाटोमा चीन सफलतापूर्वक अघि बढिरहेकोमा चीनको छिमेकी र नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वकर्ता हुनुको नाताले हामी खुशी छौं । विश्वलाई समाजवादी बाटोमा लैजान चीनले सफल नेतृत्व लिनेछ भन्ने हाम्रो विश्वास छ ।’

महासचिव पोखरेलले चीनलाई आफ्नो पार्टीको सामथ्र्य, अभियान र योजना पनि मसिनो गरी बुझाए । उनले संवाद र भेटहरूको क्रममा भने, ‘नेकपा (एमाले) बलियो राष्ट्रिय शक्ति निर्माण गरेर नेपाली जनताको समृद्धिको चाहना पूरा गर्न चाहन्छ । त्यसको लागि एमाले योजनाबद्ध रूपमा अघि बढिरहेको छ । हाम्रो अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपाललाई समृद्धि र समाजवादको बाटोमा लैजान्छौं । त्यसको लागि आफ्नो विकासको क्रममा चीनले आर्जन गरेका अनुभव, ज्ञान, प्रविधि र सीप हाम्रो लागि आवश्यक छ ।’

नेपालमा कम्युनिष्ट एकता मार्फत बलियो शक्ति निर्माणको प्रश्न पनि उठे । यसप्रकारको प्रश्नमा महासचिव पोखरेलको उत्तर थियो- ‘कम्युनिष्ट एकताको हाम्रो इमानदार प्रयास विरुद्ध शृङ्खलाबद्ध आक्रमण भयो । अब हामी नेताहरूको एकता मार्फत होइन कार्यकर्ता र जनताको एकता मार्फत हामी बहुमत सहितको राष्ट्रिय शक्ति बन्न चाहन्छौं ।’

एमालेप्रति चीनको विश्वास

एमाले महासचिव शंकर पोख्रेल छोङछिङमा चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन जियाजुनसँग भेटवार्ता गर्दै ।

दुई साता लामो चीन भ्रमणको क्रममा दुई उच्च नेताले मात्रै होइन भ्रमण गरिएका प्रान्त र शहरका चिनियाँ नेताहरूले पनि एमालेप्रतिको भरोसा र अपेक्षा सुनाए । जुन एमालेले अन्तर्राष्ट्रिय रूपमा आर्जन गरेको ठूलो सम्पत्ति हो ।

यो सत्य हो, पछिल्लो दशकमा विश्वलाई छक्क पार्ने गरी चामत्कारिक विकास गरिरहेको चीन अब हिजो जसरी ‘पर्ख र हेर’ नीति लिएर केवल सरकारी संस्थापनको खोजीमा मात्रै लाग्ने छैन । आˆनो चासो र चिन्ताप्रति सकारात्मक दृष्टिकोण राख्नेहरूसँगको सहकार्यमा उसले ध्यान दिन थालेको छ । मदन भण्डारी कलेज र ‘छोङछिङ थ्री ग्रर्जेज भोकेसनल कलेज’ बीच भएको सम्झौताबाट त्यो बुझ्न अप्ठ्यारो छैन । यदि निर्वाचन मार्फत बहुमत सहितको शक्ति लिएर मुलुकलाई आधुनिकीकरणतिर लैजाने अवसर एमालेले पायो भने चीनले गहिरो साथ दिने प्रष्ट सन्देश देखिन्छ ।

त्यसो त चीनको यो भरोसा र विश्वास यत्तिकै आर्जन भएको होइन । जननेता मदन भण्डारी, प्रथम निर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीदेखि अध्यक्ष केपी शर्मा ओलीसम्मले खनेको सम्बन्धको फराकिलो बाटोबाट आर्जन भएको हो । २०५२ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीले चीन भ्रमण गरेका थिए । आज सर्वाधिक प्रयोग गरिने शब्द ‘एक चीन नीति’ शब्दावलीको पहिलो प्रयोग नै मनमोहन अधिकारीले गरेका थिए ।

परराष्ट्र मामिलामा कलम चलाउने पत्रकार सीताराम बरालका अनुसार ‘एक चीन नीति’ शब्दावलीको प्रयोग गर्ने पहिलो शीर्ष नेपाली नेता प्रधानमन्त्री मनमोहन अधिकारी हुन् । बराल लेख्छन्- चीन भ्रमणमा रहेका प्रधानमन्त्री अधिकारी र उनका चिनियाँ समकक्षी ली फङबीच (५ वैशाख २०५२) मा भेटवार्ता भएको थियो । त्यसक्रममा अधिकारीले ‘ताइवान र तिब्बत चीनका अविभाज्य भूभाग हुन्’ भन्ने नेपालको मान्यता स्मरण गराएका थिए ।

प्रधानमन्त्री लीसँग भएको कुराकानीको भोलिपल्ट (६ असोज २०५२) सांघाईमा आफ्नो सम्मानमा आयोजित स्वागत कार्यक्रममा प्रधानमन्त्री अधिकारीले पहिलो पटक ‘एक चीन नीति’ शब्दावली प्रयोग गरे ।

सन् २०१६ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको बेला चीनसँग पारवहन सम्झौता गरे । २०१७ मा बीआरआईमा हस्ताक्षर । २०१८ मा प्रधानमन्त्री भएको बेला अध्यक्ष ओली चीन गए । २०१९ मा बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले नेपाल-चीन सम्बन्धको फ्रेमवर्क ‘ट्रान्स हिमालय मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ लाई सूचीकृत गरियो । २०१९ मा चीनका राष्ट्रपति सी चीनफिङको ऐतिहासिक राजकीय भ्रमण भयो । महत्वपूर्ण सहमति र सम्झौता भए । राष्ट्रिय स्वाभिमानको पक्षमा अध्यक्ष ओलीले निरन्तर दृढतापूर्वक अडान लिए ।

एमाले महासचिवको भ्रमणलाई चीनले दिएको महत्व, एमालेप्रतिको चीनको विश्वास र नेपालको आधुनिकीकरणमा चीनको ‘इमानदार’ सहयोगको प्रतिबद्धता यही बलियो जगमा उभिएको छ । यो विश्वास र भरोसा केवल एमालेको लागि होइन मुलुकको लागि पनि खुशीको विषय हो ।

चामत्कारिक परिवर्तन गरेर चीनले दुनियाँलाई आश्चर्यचकित बनाएको छ । चीन हिंडेको बाटो, चीनले बोकेको उज्यालो दुनियाँका सबै शक्तिलाई मन नपर्न सक्छ त्यो फरक कुरा हो । तर अब विश्वको कुनै पनि शक्तिले बेवास्ता गर्न सक्दैन ।

विश्वको अपरिहार्य शक्ति बनेको चीनले ४० वर्षमा ८० करोड जनतालाई गरिबीबाट मुक्त गरेको छ । गरिब चीनलाई आणविक शक्तिसम्पन्न राष्ट्र र विश्वको दोस्रो आर्थिक महाशक्ति बनाएको छ । आधुनिकीकरणको उत्कट चाहना राखेर दुनियाँका शक्तिशाली मुलुकहरूले चीनसँग आशाको नजरले हेरिरहेका छन् । हामी जस्तो विकासोन्मुख देशले चीनतिर फर्केर आशाको नजरले हेर्नु कुनै अनौठो विषय होइन । कुरा यत्ति हो कतै फर्केर हेर्दा हामीले अभ्यास गर्दै आएको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तलाई भुल्नुहुन्न ।

लेखक चिनारी

राजेश राई
राई नयाँ पेजका प्रधान सम्पादक हुन् । लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७