आयोडिन नूनको उपभोगले स्वास्थ्य समस्या न्यूनीकरण


२०८० असोज ७ आइतबार २०:१९ बजे

सुदूरपश्चिम । आयोडिनयुक्त नून उपभोग गर्ने बानी बढेपछि आयोडिनको कमीले मानिसमा देखिने विभिन्न शारीरिक समस्या न्यूनीकरण हुँदै गएको छ । यो नूनको उपभोग गर्ने जनसंख्या बढेसँगै पहिलेको जस्तो सुस्त मनस्थिति, पुट्कोपना, गलगाँड हुनेजस्ता शारीरिक समस्या न्यूनीकरण हुँदै गएको पाइएको बाजुरा जिल्ला अस्पतालका प्रमुख नृपराज गिरी बताउँछन् ।

‘आयोडिन नून र पोषणयुक्त अन्य खानेकुराको उपभोग बढेकाले हुनसक्छ, अस्पतालमा पछिल्ला दशकमा प्रसूति सेवा लिन आउने माहिलाबाट पुट्कोपना, ख्याउटेपना र सुस्त मनस्थितिका शिशु जन्मिएको विवरण देखिँदैन’, उनी भन्छन्, ‘गलगाँडको समस्या लिएर आउने नयाँ बिरामी पनि छैनन् ।’

आयोडिनयुक्त नूनको पहुँच सबै ठाउँमा नपुग्दा कतिपय नागरिकले विगतमा आयोडिन तत्व नभएको ढिके नून उपभोग गर्नुपर्ने बाध्यता थियो । आयोडिन तत्वका साथै भिटामिन ‘ए’ को कमीका कारण मानिसको बुझ्ने तथा सिक्ने क्षमतामा ह्रास आउने, सुस्त मनस्थितिका सन्तान जन्मिने, गलगाँड हुने, महिनावरी हुने महिलामा अत्यधिक रक्तस्राव हुने, महिनावारी अनियमित हुने ,वयस्क व्यक्तिको प्रजनन् क्षमता कमजोर हुनेलगायत स्वास्थ्य समस्या देखिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

आयोडिनयुक्त नूनको उपभोग गर्दा हुने फाइदा र नगर्दा हुने बेफाइदाका बारेमा पहिलेको भन्दा जनतामा चेतना बढेको पाइएको स्थानीयवासी ज्ञानबहादुर शाही सुनाउँछन् । ‘पहिल्यैदेखि घरमा ढिके नून उपभोग गर्ने बानी परेकाहरू पनि अहिले पोकाको आयोडिनयुक्त धुलो नून उपभोग गर्ने गरेका छन्’, उनी भन्छन्, ‘आयोडिन नूनका बारेमा अहिले सबैमा चेतना आइसकेको छ ।’ उक्त नून बिक्री वितरणको दायित्व बोकेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले नेपालमा यो नून उपभोग गर्ने जनसंख्या ९३ प्रतिशत पुगेको जनाएको छ ।

कर्पोरेशनका विभागीय प्रबन्धक ब्रजेशकुमार झा भन्छन्, ‘आयोडिनयुक्त नून खानुपर्छ भन्ने चेतना नागरिकमा पहिलेको भन्दा निकै बढेको छ, यसको पहुँच पनि सबैतिर पुगेको छ, आयोनूनको उपभोग गर्ने बढेसँगै मानिसको स्वास्थ्यमा देखिने विकृति अहिले पूरै हटेको छ ।’ सात प्रतिशत जनसंख्याले भने खुला सीमाको फाइदा उठाउँदै भारतबाट अवैधरुपमा आयात गरिने ढिके नून उपभोग गरिरहेको पाइएको छ ।

यसरी भित्रिने ढिके नूनमा आयोडिनको मात्रा नहुने भएकोले खान नहुने बताइन्छ । ढिके नून आयोनूनको मूल्यभन्दा कम पर्ने हुँदा सीमा क्षेत्रका कतिपयले यो नून उपभोग गर्ने गरेका हुन् । आयोडिनयक्त ढिके नून भने छिटपुट रुपमा बिक्री वितरण हुने गरेको छ । यस्तो ढिके नूनको बाहिरी भागमा हुने आयोडिनतत्व धोइपखाली प्रयोग गर्नुपर्दा त्यसमा रहने आयोडिन तत्व नष्ट हुने गर्छ । नेपाल सरकार र लिमिटेडको संयुक्त पहलमा सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, अछाम र दार्चुला जिल्लासहित देशका २२ दुर्गम जिल्लामा तोकिएको कोटाअनुसार सहुलियत मूल्यमा ‘भानु ब्राण्ड’ को आयोनून बिक्री वितरण भइरहेको छ ।

सरकारले ढुवानी अनुदान र कर्पोरेशनले प्रतिकिलोमा छ रुपैंया छुट दिएर दुर्गम जिल्लामा यो नून प्रतिकिलो रु नौ मा बिक्री वितरण गरेको हो । सुदूरपश्चिम प्रदेशमा आव २०८०÷८१मा २४हजार पाँचसय १४ क्वीन्टल सहुलियत मूल्यका नूनको कोटा तोकिएकामा गत भदौ अन्तिमसम्म चार हजार नौसय १५ क्वीन्टल नून सम्बन्धित जिल्लामा ढुवानी भइसकेको कर्पोरेशनको धनगढीस्थित प्रदेश कार्यालयले जनाएको छ । अनुदान नदिइएको आयोडिनयुक्त शक्ति र आयो नून भने कर्पोरेशनले बजारमा प्रतिकिलो रु १५ मा बिक्री वितरण गर्ने गरेको छ ।

कर्पोरेशनका विभागीय प्रबन्धक झा नेतृत्वको एक टोलीले अछाम, बझाङ, बाजुरालगायत जिल्लामा आयोडिन नूनको आपूर्ति व्यवस्थापन र देखिएका समस्यालगायत विषयमा केही दिनअघि स्थलगत निरीक्षण अनुगमन गरेको थियो । समयमै आपूर्ति व्यवस्थापन हुननसक्दा कतिपय समयमा यो नून पाउन समस्या हुने गरेको स्थानीयवासीको गुनासो पनि छ ।

घरपालुवा गाईबस्तुका लागि समेत यो आयोडिन नूनको जोहो गर्न खोज्दा मान्छेका लागि नपुगेर कहिलेकाही आपूर्तिमा समस्या देखिने गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का बताउँछन् । उनी भन्छन्, ‘भौगोलिक विकटतासँगै जनभावनालाई मध्यनजर गरी यो नूनको आपूर्तिका लागि कोटा निर्धारण गर्न आवश्यक छ ।’ नेपालमा पहिलो पटक सन् १९६५मा गरिएको सर्वेक्षणकाअनुसार त्यसबेला आयोडिनको कमीका कारण ५५ प्रतिशत जनताको स्वास्थ्य कुनै न कुनै रुपमा असर परेको थियो । जन्मिने चार प्रतिशत बालबालिका सुस्त मनस्थितिका हुन्थे ।

सरकारको नीतिगत निर्णयपछि सन् २०७३ देखि नेपालमा आयोडिन नून बिक्री वितरण थालिएको हो । नूनको सहज आपूर्ति गर्न स्थापित कर्पोरेशनले हाल नूनसहित अन्य दैनिक उपभोग्य वस्तु र रासायनिक मल सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको कर्पोरेशनका विभागीय प्रबन्धक झा बताउँछन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७