सिँचाइको समस्या जतिसक्दो चाँडो समाधान गर्नेछु : मन्त्री भुसाल


११:०० बजे

काठमाडौँ । कृषि तथा पशुपंक्षीमन्त्री डा. वेदुराम भुसालले कृषि क्षेत्रको सबैभन्दा ठूलो सिँचाइ समस्या जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले यहाँ आज आयोजना गरेको कार्यक्रममा उनले भने, ‘सबैभन्दा ठूलो समस्या भनेको आज पनि सिँचाइकै हो, अहिले पनि हाम्रो खेतीयोग्य जमिनको आधा मात्रै पनि सिँचाइ हुन सकिरहेको छैन, ४८ प्रतिशत जमिन मात्रै सिँचाइ भएको छ, त्यो पनि बर्खापासमा मात्रै बाह्रैमास सिँचाइ भनेको १७-१८ प्रतिशतभन्दा छैन, जहाँ हामी खेती गर्छौं ।’

उनले सबैभन्दा पहिला सिँचाइको व्यवस्थापन गरेपछि मात्रै उन्नतशील बीउको विकास गर्ने, मलको अभाव पूरा गर्ने, यान्त्रिकीकरणमा जाने, बजारको व्यवस्थापन गर्ने र आधुनिकीकरणमा जान सकिनेमा जोड दिए । विशेष गरी युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षण गर्ने गरी नीतिहरू बनाउनुपर्ने उनको भनाइ थियो । यसै वर्ष चैते धान एक लाख हेक्टरमा लगाउने योजना सुनाउँदै कृषि क्षेत्रको उत्पादनका निम्ति कुनै न कुनै किसिमको उत्पादनशील अभियानमा जानुपर्ने उनले बताए ।

उनले भने, ‘कृषि क्षेत्र हाम्रो मुलुकको मेरुदण्ड हो भनेर हामीले भनिरहेका छौँ, निर्यातलाई वृद्धि गर्ने र आयातलाई प्रतिस्थापन गर्ने हो भने त्यो कृषिबाट नै सम्भव छ, कृषि उत्पादनमा वृद्धि गरेर मात्रै सम्भव छ, तर कृषि क्षेत्रमै धेरै समस्याहरू छन् ।’ कृषि मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले समग्र कृषि क्षेत्रको विकासका निम्ति नीति र सरकारी क्षेत्रबीच समन्वय र एकता हुनुपर्नेमा जोड दिए । कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कृषि क्षेत्रको विकासका निम्ति सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्ने बताए ।

‘लम्पी स्किन रोग नियन्त्रणमा आएको छ’
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले गाईभैँसीमा महामारीका रुपमा देखिएको लम्पी स्किन रोग नियन्त्रणमा आएको बताएका छन् ।

सिंहदरबारस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले गाईवस्तुमा ठूलो संक्रमणका रुपमा देखिएको लम्पी रोग पछिल्ला दिनमा घट्ने क्रममा रहेको जानकारी दिए । सरकारले लम्पी स्किन रोगको उपचार र रोकथामका लागि सम्भव भएसम्मका सम्पूर्ण प्रयास गरेको जनाउँदै मन्त्री भुसालले रोग नियन्त्रणका लागि जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरी लगाउने व्यवस्था गरिएको जानकारी दिए ।

अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएकामा नौ लाख १९ हजार चार सय १६ पशुलाई लगाई सकिएको सो अवसरमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा उपचारपछि निको हुने संख्या बढ्दै गएको र बिरामी भएका १५ लाख १९ हजार सात सय ७९ मध्ये १३ लाख ९३ हजार पाँच सय ९५ निको भएको तथ्याङ्क प्रस्तुत गरियो । मन्त्रालयका अनुसार, अहिले मुलुकका विभिन्न जिल्लामा अझै ७३ हजार ६ सय ३६ पशु बिरामी अवस्थामा रहेका छन् ।

महामारीका रुपमा रहेको लम्पी स्किनबाट ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भइसकेको छ । उक्त रोगबाट पशुको मृत्यु भएर क्षति व्यहोर्न परेका किसानलाई राहत उपलब्ध गराउन मापदण्ड तयार गरी सहमतिका लागि अर्थ र गृह मन्त्रालयमा पठाइएकामा अब छिट्टै निर्णय हुने मन्त्री भुसालले बताए । कृषिमा आत्मनिर्भर हुन उत्पादन वृद्धि गर्नुका विकल्प नरहेको बताउँदै उनले बाँझो जमिनमा सिँचाइ संयन्त्र बढाएर उत्पादन बढाउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

रासायनिक मलको आपूर्ति कृषिका लागि मुख्य समस्या हुने गरेकाले आफ्नो पहिलो ध्यान मल आयातमै केन्द्रित गरेको बताउँदै कृषिमन्त्री डा. भुसालले १० वर्षको अवधिमा सबैभन्दा बढी मलको आयात यस वर्ष भएको जानकारी दिए । नेपालीको खानाको ६७ प्रतिशत हिस्सा धानले ओगटेता पनि आवश्यकताभन्दा अझै १२ लाख ८० हजार मेट्रिक टन कम उत्पादन भएकाले चैते धान लगाइएको क्षेत्रफललाई वृद्धि अभियान सञ्चालन गर्न लागेको पनि सो अवसरमा जानकारी दिइयो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७