कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमालेले दायर गरेको रिटको सुनुवाइ आज (आइतबार) हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो ।
त्यसपछि रिटको सुनुवाइ आजको लागि सारिएको हो । मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए । कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा परेको थियो । सोही कारण हेर्न नमिल्ने भएको थियो ।
यही भदौ ६ गते कार्कीले दायर गरेको रिटमा यसअघि नै अन्तरिम आदेश भएको छ । नेपाली कांगेस संसदीय दलका नेता थापा नेतृत्वको सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न सर्वोच्चले आन्तरिम आदेश जारी गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।