विद्युत प्राधिकरणको गत आवको सञ्चित नाफा ३६ अर्ब ६७ करोड
काठमाडौँ । उज्यालो नेपालको परिचय बनाएको नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ३८औं वार्षिकोत्सव मनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आथित्यतामा प्राधिकरणले आफ्नो वार्षिकोत्सव मनाएको हो ।
राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको प्राधिकरणले मधेस प्रदेशमा शतप्रतिशत विद्युतीकरण गरेको छ । यस्तै, बागमती प्रदेशमा ९९ दशमलव २१, गण्डकी प्रदेशमा ९९ दशमलव शून्य दुई प्रतिशत बराबर विद्युतीकरण गरेको छ । यस्तै, कोशी प्रदेशमा ९५, लुम्बिनीमा ९८, कर्णालीमा ६८ र सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत घरधुरीमा केन्द्रीय प्रसारण प्रणालीमार्फत बिजुली पुर्याएको छ ।
कूल सात सय ५३ स्थानीय तहमध्ये पाँच सय पाँच स्थानीय तहमा पूर्ण बिजुली पुर्याएको प्राधिकरणले दुई सय २७ स्थानीय तहका अधिकांश स्थानमा र बाँकी रहेका २१ स्थानमा साना तथा लघु जलविद्युत् आयोजनाबाट बिजुली उपलब्ध गराइएको छ । आगामी दुई वर्षमा बिजुली उपलब्ध गराउने लक्ष्य राखिएको छ । प्राधिकरणले ५६ लाख ५८ हजार घरधुरीमा आफँ बिजुली पुर्याएको छ । प्रतिव्यक्ति विद्युत् खपत तीन सय ८० बराबर पुगेको छ । ग्रामीण क्षेत्रमा विद्युतीकरणको अन्तिम मार्च गरिरहेको प्राधिकरणले कोही नेपाली पनि अँध्यारोमा बस्नु नपरोस् भन्ने सङ्कल्प लिएको छ ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार, प्राधिकरण र निजी क्षेत्र तथा विकास साझेदार निकायसँग समन्वय गरी आवश्यक वित्तीय श्रोत व्यवस्थापन गर्दै जलाशयुक्त आयोजना निर्माण गर्ने प्रमुख प्राथमिकताका साथ सरकार लागिपरेको बताए ।
यस्तै, चार सय केभी क्षमताका प्रसारण लाइनसमेत निर्माण गरी आन्तरिक मागको सम्बोधन गर्दै बढी भएको बिजुली भारत लगायतका देशमा निकासीका लागि सरकार प्रयासरत रहेको उनको भनाइ छ । राष्ट्रिय ग्रिडको पहुँच पुग्ने गरी सबै नागरिकको घरधुरीमा नियमित र भरपर्दो रुपमा विद्युत् आपूर्ति गर्न, आधुनिक प्रविधिको प्रयोग गरी प्रसारण तथा वितरण प्रणालीको विस्तारका लागि आवश्यक नीति, कार्यक्रमका साथ मन्त्रालय अगाडि बढिरहेको मन्त्री बस्नेतको भनाइ छ । मुलुकलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउँदै नेपाली नागरिकलाई गुणस्तरीय, भरपर्दो रुपमा विद्युत् सेवा प्रदान गर्न, ऊर्जाको माध्यमबाट जनताको सामाजिक तथा आर्थिक रुपान्तरण गर्न सरकारले सार्थक प्रयास गरिरहेको बताए ।
हाल न्यूनतम २० युनिटसम्म बिजुली उपभोग गर्ने झण्डै २२ लाख ग्राहकले निःशुल्क रुपमा प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७२/७३ मा कूल २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट रहेकामा आव २०७९/८० मा १३ दशमलव ४६ प्रतिशत कायम गर्न सफल भएको छ ।
आर्थिक बर्ष २०७२/७३ मा रु ३४ अर्ब ६१ करोड सञ्चित घाटा रहेको प्राधिकरणले आव २०७३/७४ मा रु एक अर्ब ५० करोड, आव २०७४/७५ मा रु तीन अर्ब ४३ करोड नाफा कमाएको थियो । यस्तै, आव २०७५/७६ मा रु नौ अर्ब ८१ करोड, आव २०७६/७७ मा रु ११ अर्ब ७५ करोड, आव २०७७/७८ मा भने घटेर रु छ अर्ब १० करोड मात्रै नाफा कमाउन सफल भएको थियो ।
यस्तै, आव २०७८/७९ मा रु १३ अर्ब ३७ करोड नाफा गरेको प्राधिकरणले आव २०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार रु १२ अर्ब ३३ करोड बराबर रहेको छ । प्राधिकरणको सञ्चित नाफा रु ३६ अर्ब ६७ करोड बराबर पुगेको छ । सार्वजनिक संस्थानहरुमध्ये धेरै नाफा कमाउने थोरै संस्थाहरुमध्ये प्राधिकरण अब्बल देखिएको छ । पछिल्ला दुई वर्षमा प्राधिकरणले वितरण तथा प्रसारण प्रणालीका लागि मात्रै रु ४८ अर्ब बराबरको लगानी आन्तरिक स्रोतबाट गरेको छ । प्राधिकरणको प्रणालीमा कूल जडित क्षमता दुई हजार आठ सय २२ मेगावाट बराबर पुगेको छ । प्राधिकरणले कूल आठ हजार ५२ मेगावाट बराबरको विद्युत् खरिद बिक्री सम्झौता गरेको छ ।
प्राधिकरणले जवा तिला, भारभूङ, वेगनास रुपा पम्प स्टोरेज र माथिल्लो मुस्ताङ जलाशययुक्त जलविद्युत् आयोजनाको अध्ययन जारी छ । आव २०७९/८० मा ६६ केभी तथा सोभन्दा माथिका प्रसारण लाइन चार सय १३ सर्किट किलोमिटर थप भएको छ । कूल सञ्चालन रहेको ६६ केभी र सोभन्दा माथिका प्रसारण लाइनको लम्बाइ पाँच हजार सात सय ४२ सर्किट किलोमिटर बराबर पुगेको छ । यस्तै, तीन हजार एक सय ७५ सर्किट किमी प्रसारण लाइन र १० हजार दुई सय ९० एमभिए क्षमताको ग्रिड सबस्टेसन निर्माणाधीन छन् ।
नेपालीको घरदैलोमा नियमित र भरपर्दो विद्युत् सेवा पुर्याउन वितरण प्रणाली विस्तारको कार्य उच्च प्राथमिकताका साथ अगाडि बढाइएको छ । वितरण प्रणालीको स्तरोन्नति एवं सहरको सुन्दरता अभिवृद्धि हुनेगरी काठमाडौँ उपत्यकालगायत पोखरा र भरतपुरमा वितरण प्रणालीलाई भूमिगत गर्ने काम जारी छ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, सञ्चालक समितिका सदस्य, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्की लगायतको सहभागिता थियो ।