डा. केसीले आजबाट गेटा मेडिकल कलेजमा अनसन सुरु गर्दै

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसी अनसनका लागि धनगढीस्थित गेटा मेडिकल कलेज पुगेका छन् । अनावश्यक रुपमा नेपालमा रहेका निजी मेडिकल कलेजहरूमा एमबीबीएस र बीडीएसमा सिट संख्या बढाइएको भन्दै केसी पुनः अनसन बस्न लागेका हुन् ।
गत साउन २९ गते बसेको चिकित्सा शिक्षा आयोगको २१ औं पूर्ण बैठकले नेपालमा ९ वटा निजी मेडिकल कलेजहरूको सिट संख्या बढाउने निर्णय गरेको थियो । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको अध्यक्षमा बसेको आयोगको २१ औं बैठकले एमबीबीएसको अधिकतम १०० बाट बढाएर १३० सिट र बीडीएसको अधिकतम ५० बाट बढाएर ६० पुर्याउने निर्णय गरेको थियो ।
सोही निर्णयको विरोधमा प्राडा केसीले पुनः अनसन सुरू गर्न लागेका हुन् । डा. केसीले आयोगको उक्त निर्णयले गुणस्तरमा असर गर्ने भन्दै यसअघि नै निर्णय फिर्ता गर्न आग्रह गरेका थिए । तर उनको आग्रहका विषयमा सरकारले कुनै काम अगाडि नबढाएपछि पुनः अनसन सुरू गर्न लागेको गेटा मेडिकल कलेज पुगेका उनका सहयोगी डा. अमृत जैशीले जानकारी दिए ।
डा. जैशीली भने, ‘आज १२ बजेपछि पत्रकार सम्मेलन गरेर सम्भवत १ बजेबाट सरले अनसन सुरू गर्नु हुन्छ होला ।’ हाडजोर्नी विशेषज्ञ समेत रहेका प्राडा केसीको २३ औं अनसन हो । केही समयअघि दुर्घटनामा परेर अस्वस्थ प्राडा केसी एक हप्ता भन्दा बढी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराएर केही दिन अघि मात्रै डिस्चार्ज भएका हुन् ।