रञ्जिताले बोलाएको बैठकमा रेशम पक्ष नजाने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको बैठकमा संरक्षक रेशम चौधरी पक्ष नजाने भएको छ । रञ्जिताले आज आइतबार र भोलि (सोमबार) का लागि केन्द्रीय समितिको बैठक बोलाएकी छन् ।
अध्यक्ष रञ्जिताले बोलाएको बैठकमा संरक्षक रेशम पक्षधर सहभागी नहुने उनी पक्षका एक नेताले जानकारी गराए । ‘हामी जाँदैनौं । अरु को–को बैठकमा जान्छन् । थाहा भएन’, रेशम पक्षका एक शीर्ष नेताले भने ।
बैठकमा छलफलका एजेण्डामा केन्द्रीय समिति सदस्यहरुको नाम निर्वाचन आयोगमा अद्यावधिक, विधान संशोधन, समसामयिक, विविध लगायत रहेको केन्द्रीय सदस्य दामोदर पण्डितले जानकारी गराए । बैठक दिउँसो १ बजे काठमाडौंमा बस्नेछ ।
रेशम पक्षले अध्यक्ष रञ्जितालाई पदमुक्त गरे पनि निर्वाचन आयोगले उनी नै कायम रहने निर्णय गरेको थियो । रेशम पक्षले रञ्जितालाई हटाएर लालबीर चौधरीलाई अध्यक्ष बनाएपछि दुई पक्षको विवाद चर्किएको थियो ।