मिटरब्याजीले लिएको जग्गा पीडितलाई फिर्ता


२०८० श्रावण ३० मंगलबार ११:०४ बजे

चितवन । चितवनमा दर्ता भएका अनुचित लेदनदेन (मिटरब्याज) का निवेदनमध्ये एक पीडितले दुई कट्ठा जग्गा फिर्ता पाएका छन् । रत्ननगर नगरपालिका–१० का उमेश केसीले जग्गा फिर्ता पाएका हुन् ।

पीडित केसीले जग्गा फिर्ता पाऊँ भनी दिएको निवेदनउपर छलफल हुँदा जग्गा फिर्ता गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्वा सुनिल लम्सालले जानकारी दिए । रत्ननगर नगरपालिका– ९ का शिवप्रसाद बरालले केसीको जग्गा फिर्ता गरेका हुन् । अनुचित लेनदेनका कारण आफूले जग्गा दिनु परेको र सो जग्गा फिर्ता गरी पाऊँ भनी परेको उजुरीमा छलफलका क्रममा दुवै पक्षबीच सहमति भई जग्गा फिर्ता गरिएको उनले बताए । विसं २०६९ मा राजीनामा गरेको जग्गा फिर्ता गराइएको लम्सालले बताए ।

अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेको समयमा चितवनमा ६० उजुरी परेका थिए । ती उजुरीमध्ये ३२ पीडकले आफ्नो ब्यहोरा खुलाएर निवेदन समेत दिएको उनले जानकारी दिए । पीडितका तर्फबाट परेका उजुरीमध्ये अधिकांश जग्गाको कारोबारका रहेका नायव सुब्बा लम्सालले बताए । पीडितले दृष्टि बन्धक भनेर दिएको जग्गा पीडकले नामसारी गरेर लिएको भन्दै उजुरी परेको थियो । अधिकांशले जग्गा फिर्ता गरिपाऊँ भनी निवेदन दिएका छन् ।

नायब सुब्वा लम्सालका अनुसार परेका उजुरीमध्ये ५५ माथि छलफल गरिएको छ । ‘सात उजुरीमा सहमति जुटेको छ । अन्यबारे दोस्रो र तेस्रो चरणमा छलफल भइरहेको छ’, उनले भने । अन्य पाँच जनाको निवेदनका लागि दुवै पक्षलाई छलफलमा बोलाइएको छ । यसअघि गृह मन्त्रालयले २०७९ साउन २८ गतेदेखि भदौ ५ गतेसम्म मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरेको थियो । सो समयमा २५ जनाले उजुरी दर्ता गराएका थिए । हालसम्म एउटा निवेदनको छलफलबाट टुङ्गो लागेको छ । अन्य २४ उजुरीबारे आवश्यक कारबाही अघि बढाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७