जन्मथलो लेवाडेकाे विकासमा प्रधानमन्त्री प्रचण्डको चासो


२०८० असार १५ शुक्रबार ०३:०० बजे

कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो जन्मथलो कास्कीको अन्नपूर्ण गाउँपालिकाको लेवाडे पुगे । अन्तर प्रदेश मुख्यमन्त्री बैठक एवं राष्ट्रिय समन्वय परिषद्को बैठकका लागि आज बिहान मात्र पोखरा आइपुगेका उनी बैठक उद्घाटन सम्पन्न भए लगत्तै जन्म गाउँ पुगेका हुन् ।

दाहाल तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक जन्म गाउँमा पाइला टेकेका थिए । उनी सकभर पोखरा आउँदा जन्म गाउँ लेवाडे पुगेर दाजुभाइ तथा स्थानीयवासीसँग अन्तरक्रिया गर्न छुटाउनु हुँदैन । प्रधानमन्त्रीलाई आफ्नो गाउँमा पाएपछि लेवाडेवासी उत्साहित थिए । प्रधानमन्त्री दाहालले लेवाडेलगायत आसपासका क्षेत्रको विकासका बारेमा चासो राखेका थिए ।

स्थानीय जनप्रतिनिधि तथा गाउँलेसँग उनले आफूले प्रारम्भिक शिक्षा लिएको महेन्द्र आधारभूत विद्यालयलगायत गाउँको विकासमा बारेमा चासो दिएको अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष पिताम्बर भण्डारीले बताए । उनका अनुसार प्रधानमन्त्रीलाई आफ्नो गाउँमा पाउँदा स्थानीयवासी समेत उत्साहित थिए । वडाध्यक्ष भण्डारीका अनुसार प्रधानमन्त्रीले गाउँको शिक्षा, स्वास्थ्य, बाटोघाटो तथा विकासका बारेमा कुराकानी गरेका थिए ।

अध्यक्ष भण्डारीले भने, ‘प्रधानमन्त्रीलाई पाउँदा हामी अत्यन्त खुशी भयौँ । उहाँले पनि मसिनो गरी यहाँको विकासका बारेमा चासो दिनुभयो । हामीले यहाँको अवस्थाका बारेमा उहाँलाई जानकारी गरायौँ । केही योजनामा सहयोग गर्न आग्रह गर्दा उहाँले आफ्नोतर्फबाट सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।’

स्थानीय जनतासँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले गाउँको अवस्था, खेतीबाली, मौसमलगायतका विषयमा जिज्ञासा राखेका थिए । वडाध्यक्ष भण्डारीले प्रधानमन्त्रीसँग विशेष गरी अन्नपूर्ण गाउँपालिकाको नागडाँडाबाट पामे हुँदै पोखरा जोड्ने सडक स्तरोन्नतिका लागि माग गरेको बताए ।

वडाध्यक्ष भण्डारीले कास्कीको विकासमा प्रधानमन्त्रीले गरेको योगदानको प्रशांसा गर्दै आगामी दिनमा समेत यस क्षेत्रको विकासलाई प्राथमिकता दिन आग्रह गरेका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले अन्नपूर्ण–२ का साथै हेम्जाका स्थानीय समेतसँग अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा प्रधानमन्त्रीले स्थानीय अवस्था र जनताका अनुभूतिबारे विशेष चासो राखेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७