काठमाडौं, ३० चैत : नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ लागू गरेको छ ।
बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम धितोपत्र व्यवसायमा संलग्न सवैलाई जिम्मेवार बनाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीलाई निरुत्साहित तथा नियन्त्रण गर्ने निर्देशिका लागू गरेको हो । बोर्डले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४ पारित गरी आगामी वैशाख १ गतेदेखि लागू गर्ने भएको हो । निर्देशिकाले नियमन निकायलाई थप जिम्मेवार र अधिकार प्रदान गरेको बोर्डले जनाएको छ ।
वेनामी वा काल्पनिक खाता खोलिएको वा कारोबार भएको रहेछ भने त्यस्तो खाता वा कारोबार तत्काल बन्द गरी आवश्यक छानबिन गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ । सूचक संस्थाले ग्राहकको सही रूपमा पहिचान तथा सोको सम्पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात, तथ्यांक वा जानकारीका आधारमा गर्नुपर्ने र सो गर्नका लागि आवश्यक मनासिव उपायहरू अपनाउनु पर्नेछ । ग्राहकको पहिचानका सम्बन्धमा पेश गरिएका विवरण तथा कागजात रुजु गर्ने जिम्मेवारीसहित कुनै कर्मचारीलाई तोकी त्यस्ता विवरण तथा कागजातहरूको आधिकारिकता निजबाट रुजु गराई राख्नुपर्ने बोर्डले जनाएको छ ।
निर्देशिकाअनुसार ग्राहकको पहिचान तथा जाँच गर्दा जोखिममा आधारित भएर गर्नुपर्नेछ । एक दिनमा पटक–पटक वा एकै पल्ट १० लाख रूपैयाँभन्दा बढीको कारोबारको जानकारी वित्तीय जानकारी इकाईमा दिने तथा शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन वित्तीय जानकारी इकाईमा अनिवार्य दिनुपर्ने व्यवस्थासमेत निर्देशिकामा रहेको छ ।
सूचक संस्थाले ग्राहकसँग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा बृहत् ग्राहक पहिचानसम्बन्धी उपयुक्त उपायहरू अपनाउनु पर्नेलगायत व्यवस्था निर्देशिकामा छन् ।
निर्देशिकामा संस्थाले कारोबार र व्यवसाय सञ्चालन गर्दा कानुनको पालना र उच्च नैतिक मापदण्डहरूको पालना र अनुसरण गर्नुपर्ने व्यवस्था छ । सूचक संस्थाले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापसम्बन्धी प्रचलित कानुनको कार्यान्वयन र त्यससम्बन्धी कसुरको अनुसन्धान तथा तहकिकातमा कानुन कार्यान्वयन गर्ने निकायलाई आवश्यक सहयोग गर्नुपर्ने उल्लेख छ ।
सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापविरुद्धका काम कारवाहीलाई प्रभावकारी रूपले कार्यान्वयन गर्न प्रत्येक सूचक संस्थाले आफ्नो आन्तरिक नीति, आन्तरिक नियन्त्रण प्रणाली तथा कर्मचारीको लागि तालिमको व्यवस्था गर्नुपर्नेछ । सूचक संस्थाले जोखिमको आधारमा आफूसँग कारोबार गरिरहेका तथा गर्ने ग्राहकको पहिचानसम्बन्धी सूचना तथा विवरण राख्ने व्यवस्था लागू गर्नुपर्ने तथा सूचक संस्थाले आफ्नो व्यवसायको सिलसिलामा बेनामी वा काल्पनिक नाममा कुनै पनि खाता खोल्न वा कारोबार गर्न, गराउन नहुने निर्देशिकामा उल्लेख छ ।