नेपालमा पनि सूर्य ग्रहण शुरु, कहाँ–कहाँबाट देखिन्छ ?


२०७९ कार्तिक ८ मंगलबार १७:२२ बजे

काठमाडौं । नेपालमा सूर्य ग्रहण शुरु भएको छ । मंगलबार साँझ ४ः ४७ बजेदेखि ग्रहण शुरु भएको हो । सूर्य ग्रहण आइसल्याण्डबाट त्यहाँको स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेर २० मिनेटमा शुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपाली समयअनुसार काठमाडौंमा ४ बजेर ५४ मिनेटमा, पोखरामा ४ बजेर ५१ मिनेटमा, झापाको भद्रपुरमा ४ बजेर ५८ मिनेटमा, जनकपुरमा ४ बजेर ५६ मिनेटमा र कञ्चनपुरको महेन्द्रनगरमा ४ बजेर ४७ मिनेटमा ग्रहण देखिने छ ।

वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रालय विकास समितिले दिएको जानकारी अनुसार काठमाडौंबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिने छ ।

नेपालको सबै भागबाट केही क्षणका लागि सूर्यास्तको समयमा पश्चिम–दक्षिण पश्चिम भागमा अवलोकन गर्न सकिनेछ । नेपालबाट सूर्यास्तको समयमा सूर्य क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाइ कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न सकिदैंन र सूर्य सूर्यास्ततिर अग्रसर हुन जान्छ ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ । सूर्य ग्रहण केवल चन्द्रमाको ’न्यून मून’ फेजमा मात्र लाग्न सम्भव हुन्छ। खण्डग्रास, खग्रास तथा वलयाकार सूर्य ग्रहण विभिन्न खगोलीय अवस्थामा निर्भर गर्दछ ।

सामान्यतया व्याख्या गर्दा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेमा अर्थात् चन्द्रमाको छायाँ पृथ्वीमा पर्न गएमा छायाँ परेको स्थानमा सूर्य ग्रहण लाग्न जान्छ । सूर्य ग्रहण खग्रास, खण्डग्रास वा बलयाकारको हुन सक्दछ । पृथ्वीको एक स्थानमा खग्रास सूर्य ग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्ष पछिमात्र लाग्दछ ।

चन्द्रमाको त्रिज्या पृथ्वीभन्दा धेरै सानो भएकाले चन्द्र र सूर्य गोलाहरूमा बाहिर स्पर्शरेखाद्वारा निर्मित शंकु छायाँ (कोन सेडो) भित्र पृथ्वी पूर्ण रूपले नपर्ने हुँदा पृथ्वीको केही निश्चित भागबाट मात्र सूर्यग्रहण अवलोकन गर्न सकिन्छ ।

चन्द्रमाले सूर्यबाट आएको सम्पूर्ण प्रकाशलाई छेक्नाले पृथ्वीमा सघन छायाँ पर्न गई पृथ्वीको उक्त भागमा अवस्थित व्यक्तिहरूले खग्रास सूर्यग्रहण अवलोकन गर्न सक्दछ । चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्ने स्थानमा अवस्थित व्यक्तिहरूले केवल खण्डग्रास सूर्यग्रहण मात्र अवलोकन गर्ने अवसर प्राप्त गर्दछन् ।

सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नु हुँदैन । यसो गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ । एक्स रे, प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नु हुँदैन । हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चश्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ। साधारण चश्माबाट यसको अवलोकन गर्नु हुँदैन ।

सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावमा सम्बन्धमा हालसम्म कुनै पनि वैज्ञानिक आधारहरू प्राप्त हुन सकेका छैनन् । यूरोपका विभिन्न भागहरू, उत्तरपूर्वी अफ्रिका तथा पश्चिम, मध्य र दक्षिण एसियाबाट देख्न सकिने छ । रुसको साइवेरिया मैदानबाट उच्चतम् सूर्य ग्रहणको मध्य देख्न सकिन्छ ।

के गर्नु हुन्छ, के हुँदैन ?

शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ : ५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ। ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ। अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्नुहुन्छ।

ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्। ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। ग्रहणका बेला गर्नुहुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ।

अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो। सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ। यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४ः ५२ बजेदेखि भोजन गर्नु हुँदैन।

ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ। घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ। ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ।

ग्रहण ‘स्वाती नक्षत्र र तुला राशिलाई अति कष्ट’
आजको ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ।

समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गम्मा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फलअनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ। यसैगरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल रहेको छ ।

कुम्भ राशिकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ। दिउँसो ४ : ५२ बजेदेखि ग्रहणले स्पर्श गर्नेछ। ग्रहणकै अवस्थामा बेलुकी ५ः२४ बजे सूर्यास्त हुनेछ। नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ। बेलुकी करिब पौने ७ बजेसम्म ग्रहण रहने जनाइएको छ। यही महिनाको २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ। कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ। औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७