त्रास मच्चाइरहेको चितुवा नियन्त्रणका लागि तीन ठाउँमा खोर


२०७९ असार ४ शनिबार ००:४३ बजे

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा चितुवाको त्रास बढेपछि नियन्त्रणका लागि तीन ठाउँमा पासो थापिएको छ । डिभिजन वन कार्यालय तनहुँले बन्दीपुर गाउँपालिका-१ का तीन ठाउँमा चितुवा नियन्त्रणका लागि खोर राखेको हो ।

बन्दीपुर-१ का प्युघर, बाघदले र छापमा बाख्रासहितको खोर राखिएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । बन्दीपुर-१ र ४ मा चार दिनको अवधिमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

चितुवाको आतङ्क बढेपछि डिभिजन वन कार्यालयसँगको सहकार्यमा खोर राखिए पनि चितुवा नियन्त्रणमा आउन नसकेको श्रेष्ठले बताए । ‘चितुवाको आतङ्कले यस क्षेत्रका सर्वसाधारण त्रसित छन्’, उनले भने । विगत केही वर्षदेखि तनहुँमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो अवस्थामा छ । विशेष गरी जिल्लामा चितुवाको आक्रमणबाट मानिसको ज्यान जाने गरेको हो । बर्सेनि चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते हुने क्रम रोकिएको छैन ।

गत मङ्गलबार चितुवाको आक्रमणबाट मृत्यु भएका बन्दीपुर-१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको परिवारलाई डिभिजन वन कार्यालय र बन्दीपुर गाउँपालिकाले रु ५०-५० हजार हस्तान्तरण गरेको छ । डिभिजन वन कार्यालयबाट थप रु नौ लाख ५० हजार राहत प्रदान गरिने जनाइएको छ ।

यसैबीच गाउँपालिकाले चितुवाको आक्रमणबाट घाइते दुई जनालाई उपचार खर्च सहयोग गरेको छ । गत शनिबार राति र आइतबार बिहान चितुवाको आक्रमणबाट घाइते दुई जनालाई गाउँपालिकाले उपचार खर्च सहयोग गरेको हो । बन्दीपुर-४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर-१ बाघदलेका ३५ वर्षीया भीमलाल गरञ्जालाई जनही रु १० हजारका दरले उपचार खर्च सहयोग गरिएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

बन्दीपुरका अध्यक्ष सुरेन्द्र थापाले चितुवाको आक्रमणबाट बच्न सतर्कता अपनाउन आग्रह गरे । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन र एक्लै नहिँड्न आग्रह गरे । ‘चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्ज्यालो बनाऔँ, झाडी सफा गरौँ, एक्लै नहिँडौं’, उनले भने, ‘बच्चा तथा वृद्धहरूको विशेष ख्याल र रेखदेख गरौं ।’

पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । मृग, वनकुखुरालगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको वनको भनाइ छ । ‘मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्नेतर्फ सबै लाग्नुपर्छ’, उनले भने ।
जङ्गल फडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव तथा वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ । वनजङ्गलमा पाइने जीवजन्तु मानिसले शिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ ।

चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको शिकार मानिस हुन थालेको अध्ययनबाट देखिएको छ । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।

चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका-३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु-४ जोखानेका चार वर्षीया रञ्जिता लम्साल, मंसिर १५ गते भानु-२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, विसं २०७६ जेठ २४ गते भानु-२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु-१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ र भानु-२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो ।

त्यस्तै विसं २०७६ पुस १४ गते शुक्लागण्डकी नगरपालिका-३ रातमाटाका २२ महिनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका-१ रानागाउँका आठ वर्षीय पुजन सिञ्जाली, माघ १३ गते बन्दीपुर-४ लोहीपाखाका १० वर्षीय इशक सुनार, विसं २०७७ साउन २२ गते शुक्लागण्डकी-२ का डेढ वर्षीय नारायण रानाको चितुवाको आक्रमण मृत्यु भएको थियो । रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७