‘मतपत्र चपाउन नसकिने’ भनेर निर्वाचन आयोगले ओलीको भाषा बोल्यो : वर्षमान पुन


०६:१३ बजे

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अभिव्यक्तिप्रति सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आपत्ति जनाएका छन् ।

१३३ औं श्रमिक दिवसको अवसरमा आइतबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाएका हुन् । प्रमुख निर्वाचन आयुक्तको मतपत्र बलियो कागजमा छापेकाले चपाउन, च्यात्न सकिँदैन भन्ने अभिव्यक्ति र ओलीको पनि सोही अभिव्यक्ति कसरी मिल्यो भन्ने प्रश्न गरेका छन् । कुनै नेता विशेष र पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न नमिल्ने उनको भनाइ छ ।

‘लोकतन्त्रमा निर्वाचन आयोग जति निष्पक्ष, व्यावसायिक, दक्ष हुन्छ, त्यति नै लोकतन्त्र सुदृढ हुन्छ । हिजो उहाँले (प्रमुख निर्वाचन आयुक्त) भन्नुभयो, असाध्यै दुःखका साथ मैले भन्नुपर्छ, हामीले मतपत्र बलियो कागज राखेका छौं अब चपाउन, च्यात्न सकिँदैन भन्नुभयो । त्यही कुरो केपी ओलीजीले बोलिराख्नु भएको छ । केपी ओलीजीको बोली र निर्वाचन आयोगका प्रमुखको बोली कसरी मिल्यो ? यसमा हाम्रो आपत्ति छ,’ नेता पुनले भने, ‘निर्वाचन आयोगप्रति हाम्रो विश्वास छ, तर यस्ता बोलीहरूप्रति हाम्रो आपत्ति छ ।’

कुनै नेता विशेष, कुनै पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न नमिल्ने उनको भनाइ छ । हरेक व्यक्ति संविधान र कानुनभित्र रहेको उनले बताए । निर्वाचन आयोग रेफ्रिको भूमिकामा रहेकाले आफ्नो मर्यादामा बसेर निष्पक्ष ढंगले आमजनताले देख्ने, मतदाताले देख्नेगरी रेफ्रीको भूमिकामा बसिदिन आग्रहसमेत गरे । ‘रेफ्री जति प्रोफेसनल हुन्छ, त्यो खेल त्यति नै फेयर हुन्छ,’ उनले भने ।

नेता पुनले देशका विभिन्न ठाउँमा भएका निर्वाचन कार्यालयहरूले निष्पक्ष भूमिका खेल्न नसकेको पनि दाबी गरे । उनले संविधान र लोकतन्त्रको रक्षाको निम्ति वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै वर्तमान उपलब्धिको रक्षापछि गठबन्धनका दलहरू आपसमा प्रतिस्पर्धा गर्ने बताए ।

उनले एमाले अध्यक्ष ओली वामपन्थी नभएको आरोप समेत लगाए । उनले माओवादी केन्द्रको प्रहार ओली प्रवृत्तिमाथि भएको भन्दै एमाले भित्रका क्रान्तिकारी, प्रगतिशील र देशभक्तमाथि नभएको बताए । भविष्यमा प्रगतिशील र वामपन्थी शक्तिहरूको वैचारिक रूपमा ध्रुवीकरण हुने पनि उनले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७